काठमाडौं। स्थानीय तह निर्वाचनमा भाग लिने नलिने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आन्तरिक विवाद सतहमा आएको छ।
पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड स्थानीय निर्वाचनमा भाग लिने भन्दै बिहीबार दल दर्ताको प्रक्रिया र आगामी निर्वाचनमा सहभागिताको बिषयमा बुझ्न निर्वाचन आयोगमा पुगेपछि नेकपाको आन्तरिक विवाद सतहमा आएको हो। प्रकाण्डले आगामी निर्वाचनमा दल दर्ता गरि भाग लिने तयारी रहेको बताएका छन्।
चैत्र ४ गतेदेखि ११ दिनसम्मे कपिलबस्तुमा बसेकोे विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भाग लिने/नलिने बिषयमा विवाद हुँदा मध्यमार्गी अपनाउँदै निर्वाचनमा भाग नलिने तर जनपक्षीय उम्मेद्वारलाई सघाउने निर्णय गर्दै बैठक सकिएको थियो। तर बैठकको निर्णय हाल सम्म पनि सार्वजनिक गरिएको छैन।
उक्त बैठकमा पाँच सदस्यीय सचिवालय सदस्य मध्ये धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली निर्वाचनमा भाग नलिने पक्षमा रहेका थिए भने महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र सचिवालय सदस्य सन्तोस बुढा मगर निर्वाचनमा भाग लिनुपर्ने अडानमा थिए।
आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला केन्द्रीय कमिटीको बैठकमा सचिवालय सदस्य सुदर्शनलाई विप्लव–प्रकाण्ड पक्षधरहरुले आर्थिक अनियमितता गरेको आरोप समेत लगाएका थिए।
प्रकाण्डको निर्वाचन आयोगमा दल दर्ता गर्न समयावधि थप गर्न आग्रह गर्न गएसँगै आन्तरिक विवाद सतहमा आएको हो। अब नेकपा संस्थागत रुपमा निर्वाचनमा भाग लिने तयारीमा लागेको हो? वा पार्टी विभाजनको तहमा पुगेको हो ? भन्ने सन्दर्भमा नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शनले डिसी नेपाललाई पार्टीको आधिकारिक नीति बिरुद्ध जानेलाई कारबाही गरिने बताएका छन्।
उनले पार्टीको कपिलबस्तु बैठकले निर्वाचनमा जिल्ला सदस्य र सचिवले समेत निर्वाचनमा भाग नलिने गरि सहमति गरिएको बताए। उनले प्रकाण्डको निर्वाचन आयोगमा धाउनुलाई अराजकताको संज्ञा दिएका छन्।
नेता सुदर्शनले भने, ‘केन्द्रीय कमिटीको बैठकमा बिभिन्न मतहरु प्रकट भएपनि अन्तत निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको हो। अब उहाँले निर्वाचन आयोगमा पुगेर भाग लिन्छौं समयावधि थपिदिनुपर्यो भन्नु अराजकताको पराकाष्ठा हो।’
यस बिषयमा महासचिवको धारणा के छ भन्ने बिषयमा उनले आफ्नो अहिले सम्पर्क नभएको र पार्टी कामको सिलसिलामा रामेछापमा आएको बताए।
नेता सुदर्शनले पार्टीको गलत कदमको बिरुद्धमा जनतामाझ गएर भण्डाफोर गर्ने समेत चेतावनी दिए।
उनले अगाडि थपे, ‘उहाँहरुले बैठकको म्याण्डेट बिरुद्ध प्राप्त अख्तियारको दुरुपयोग गर्नु भएको छ। यस बिषयमा थप छलफल गरेर निर्णय लिन्छौँ।’ अब तपाईंहरुको पार्टीमा बिभाजनको संभावना बढेको हो? भन्ने प्रश्नमा वलीले भने, ‘वैज्ञानिक समाजवादको पक्षधरहरु भए भएर अगाडि बढ्छौं। यस बिषयमा पार्टीमा छलफल गरि उहाँहरुले निर्वाचनमा भाग लिने नै भए नयाँ ढंगले अगाडि बढ्छौं।’
तपाईंको बिषयमा आर्थिक अनियमितताको आरोप समेत लगाइएको छ नि ! भन्ने जिज्ञासामा वलीले भने, ‘मेरो बिषयमा केही अनियमितता भएको हो भने छानबिन गरी ल्याउनु पर्यो। होइन भने बिचारधारालाई निस्तेज पार्न ब्यक्तिगत आक्षेप लगाउनुको कुनै तुक छैन। अनियमितता भए प्रमाण पेश गर्न चुनौती दिन्छु।’
उनले पार्टीमा बैचारिक रुपले असहत भएर ब्यक्तिगत रुपमा आरोपित गर्ने प्रचलन बढेको भन्दै त्यसको पुष्टि गर्न चुनौती समेत दिएका छन्।