काठमाण्डौ, ११ भदौ ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको १ वर्षे इन्टर्नशीप पूरा गरी मेडिकल काउन्सिलको दर्तामा समावेश हुने योग्यता पुगेका स्वास्थ्यकर्मीहरूले आफूहरूलाई कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा परिचालन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
ईन्टर्नशीप सम्पन्न गरी मेडिकल काउसन्सलको मापदण्ड अनुसार योग्यता पुगेर कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रही स्वास्थ्य सेवा प्रदान गर्न तयार चिकित्सक, दन्तचिकित्सक तथा फर्मासिस्टहरूका प्रतिनिधिले एक विज्ञप्ती जारी गर्दै सरकारसँग त्यस्तो माग गरेका हुन् ।
वैश्विक महामारी कोरोनाको प्रभावका कारण चिकित्सकहरूको अभावका कारण सर्वसाधारण नागरिकहरूले समयमै स्वास्थ्य उपचार नपाएर गम्भीर अवपस्थामा पुगिरहेको, मृत्युवरण समेत गर्नु परेका घटनाहरू सार्वजनिक भएपछि ती स्वास्थ्यकर्मीहरूले आफूहरुलाई कोरोना विरुद्धको लडाईमा परिचालन गर्न अनुरोध गरेका हुन् ।
सो विज्ञप्तीमा भनिएको छ, “वैश्विक महामारीले प्रभावित नेपालमा चिकित्सकहरूको जनशक्ति अभावका कारण नेपाल सरकारले तोकेको सबै मापदण्ड पूरा गरी मेडिकल, डेन्टल, फार्मेसी तथा लैब र मेडिकलसँग सम्बन्धित अन्य कोर्ष पास गरी विश्व स्वास्थ्य संगठनले तोके बमोजिमका १ वर्षको इन्टर्नशीप पूरा गरी र कतिपयले मेडिकल काउन्सिलको दर्तामा समावेश हुने योग्यता पूरा गरीसकेका तथा विभिन्न संकायमा विशेषज्ञता हासिल गरी बन्दा बन्दीका कारण या अन्य कारणले दर्ता गर्न बाँकी सबै चिकित्सक तथा फर्मासिष्ट (MBBD,MS,MD,BMD, & MDS)हरू नेपाली जनताका सेवामा समर्पित भई आफ्नो शिक्षा तथा श्रमको सदुपयोग गर्न तयार रहेको कुरा जानकारी गराउँदै नेपाल सरकार तथा सम्बन्धित सबै निकायलाई कोरोना विरुद्धको लडाईमा हामीलाई परिचालन गरी राष्ट्रलाई आपतकालीन स्थितिबाट बचाउन बिनम्रता पूर्वक आग्रह गर्दछौं, साथै हामीलाई पेशागत धर्म निर्वाहबाट कुनै पनि बहानामा बञ्चित गराउनु राष्ट्रहितमा नहुने यथार्थ मनन गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न योग्यता पुगेका सबै चिकित्सक तथा फर्मासिस्टहरूलाई लाइसेन्स प्रदान गरी सेवा गर्ने अवसर प्रदान गरी कोरोना विरुद्धको लडाईमा हामीलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिन आग्रह गर्दछौं ।”
विज्ञप्तिमा अगाडी भनिएको छ, “राष्ट्र सेवामा समर्पित आफ्नो श्रम र शिक्षाले जनताको सेवा गर्न तम्तयार डाक्टरको अभावले उपचारमा समस्या भोगिरहेका जनता तथा यस महामारीले सिर्जित बन्दाबन्दीका कारण दर्ता गर्न बाँकी भएकैले आफ्नो सेवा दिनबाट वञ्चित गराइएको डाक्टरहरूलाई परिचालन नगर्दा भोली कोरोनाले उग्र रुप लिन सक्ने सम्भावनालाई मध्यनजर राख्दै यस्तो स्थितिमा हामीजस्ता स्वास्थ्यकर्मीहरूको जनशक्ति परिचालन गरी स्थितिको समाधान गर्न पनि अनुरोध गर्दछौं ।”
विज्ञप्तीमा उल्लेख छ, “हामी हाम्रो राष्ट्रप्रतिको कर्तव्य पालनमा सरकारले अविलम्ब प्रभावकारी निर्णयद्वारा कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा रही अहोरात्र नि:स्वार्थ भावनाले हामी राष्ट्र सेवामा समर्पित रहने प्रतिवद्धता जाहेर गर्दछौं ।”
ईन्टर्नशीप सम्पन्न गरी मेडिकल काउसन्सलको मापदण्ड अनुसार योग्यता पुगेर कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रही स्वास्थ्य सेवा प्रदान गर्न तयार चिकित्सक, दन्तचिकित्सक तथा फर्मासिस्टहरू ।