काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै जनतालाई देखाइएको सपना अब पूरा गर्ने चरणमा प्रवेश भएको बताएका छन् । नीति तथा कार्यक्रमार्फत प्रवेश गरेको सपनालाई बोक्ने बजेट अब सरकारले ल्याउनुपर्ने बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत भएको दिन जेठ ७ पछि आफुले पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको बताउदै उनले भने ,‘सपना देख्नु राम्रो कुरा हो। आजकाल रेलको सपना देख्न थालेका छौं। नीति तथा कार्यक्रममा ल्यायौं। अब बजेटमा बोक्नुपर्छ।’, प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले भने, ‘पानी जहाजको सपना देख्न थालेका छौं। हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु।’
विपक्षी दलका सांसदले सरकारले सपनामात्र देखाएको आरोप लगाएपछि नेम्वाङले सपना देख्नु गलत नभएको बताए । उनले सरकारले देखाएका सपना ५ वर्षभित्रमा पूरा हुने दावी समेत गरे । नेम्वाङले भने-‘एकजना मित्रले वीरगन्जबाट काठमाडौं रेल चढेर आएको सपना देख्नुभएछ, पनि उहाँका कुराबाट उत्प्रेरित भएँ । जेठ ७ पश्चात म पनि काठमाडौंदेखि लुम्बिनी, काठमाडौंदेखि पोखरा मात्र होइन, अब ५ वर्षभित्रमा काठमाडौंदेखि दिल्ली पुग्ने, दिल्लीबाट युरोप पुग्ने । काठमाडौंदेखि बेइजिङ पुग्ने सपना देख्न थालेको छु ।’