१६ मंसिर, काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।