१४ मंसिर, काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशन अनुसार व्यवसायी र पेशाकर्मीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति बैंकिङ कसुरका आरोपी रहेको खुलेको छ ।
भारतको आसामबाट पक्राउ परेका प्रसाईंका सहयोगी झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँलविरुद्ध सुनसरीमा बैंकिङ कसुरको आरोपमा मुद्दा चलेका भेटिएको हो । उनी १ लाख ४० हजार रुपैयाँ धरौटी बुझाएर १३ असार २०८१ मा छुटेका थिए । तर, मुद्दा अझै विचाराधीन छ ।
क्राइम रेकर्ड सिस्टम (सीआरएस) डेटाबेसबाट प्रहरीले निकालेको विवरणअनुसार, उनी झापाको इलाका प्रहरी कार्यालय, धुलाबारीले चलाएको एउटा मुद्दामा अझै फरार सूचीमा छन् । धुलाबारी प्रहरीले उनीविरुद्ध ठगी आरोपमा मुद्दा चलाएको थियो ।
फुयाँलविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट शुक्रबार ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ । फुयाँलको प्रारम्भिक बयानपछि प्रहरीले दुर्गा प्रसाईंविरुद्ध पनि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान थालेको छ ।
फुयाँलले भारतमा दुई वटा सीम कार्डमार्फत ११३ पटक नेपालमा फोन गरेर व्यवसायी, राष्ट्र बैंकका उच्च अधिकारी लगायतलाई धम्की दिएको भेटिएको छ ।
उनले आफूलाई भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भएको बताउँदै प्रसाईंको अभियानलाई चन्दा सहयोग गर्न भन्ने गरेका थिए । पक्राउ परेका फुयाँलको भारतमा आधार कार्ड समेत रहेको फेला पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईं ४ मंसिरदेखि प्रहरी नियन्त्रणमा छन् । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।
शुक्रबारदेखि उनीविरुद्ध आपराधिक लाभ लिएको कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रमुख एआईजी दिपक थापाले बताए ।