सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ इटहर्वा बजारमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
इटहर्वा बजार व्यवस्थापन समिति सितापुर कलौनीको सहकार्यमा तिलगंगा कञ्चनरुप सर्जिकल रुपनगर सप्तरी तथा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँद्वारा आँखा शिविर आयोजना गरेको हो ।
शिविरमा ३ सय १५ जना आँखाका रोगीहरूले आँखा जाँच गराइ सेवा लिएका थिए । आँखा जाँच गराएकामध्ये ७१ जना मोतिया बिन्दुको बिरामी फेला परेको वरिष्ठ नेत्र सहायक चन्द्रकान्त चौधरीले बताउनुभयो ।
मोतिया विन्दुका बिरामीलाई तिलगंगा कञ्चनरुप सर्जिकल रुपनगर सप्तरीमा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको चिकित्सकहरूबाट निःशुल्क शल्यक्रिया गर्ने इटहर्वा बजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।
शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । वरिष्ठ नेत्र सहायक चौधरी नेतृत्वको टोलीमा नेत्र सहायक अर्जुन घले, दिपेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो ।