ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटारमा हवाई उडान पुनः सुरु भएको छ । करिब ५ वर्षपछि आज दिउँसो रुम्जाटार विमानस्थलमा उडान भएको हो ।
विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ ।
काठमाडौँबाट चालक दलका चार जना र ओखलढुङ्गाका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित १८ यात्रु लिएर आएको समिट एयरले रुम्जाटारमा सफल अवतरण गरेको हो ।
काठमाडौँबाट ओखलढुङ्गा आएका १८ यात्रु मध्ये ८ जना अस्पतालले भर्खर डिस्चार्ज गरेका बिरामी थिए ।
रुम्जाटारबाट पनि १८ जना यात्रुसहित विमान फर्किएको छ । विगतमा यात्रु अभावले नियमित हुन नसकेको भनिएको उडानमा आज विमानको क्षमता अनुसार यात्रु चढेका छन् ।
वर्षात्का कारण आएको बाढीले विपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।
विपी राजमार्ग बन्द हुँदा ओखलढुङ्गाका यात्रुहरू पनि सिन्धुलीबाट हेटौँडा घुमेर महँगो भाडा तिरेर काठमाडौँ आवतजावत गरिरहेका छन् । दशैं मनाउन गाउँ फर्किएकाहरू पनि ४ हजार ५ सय सम्म भाडा तिरेर सोही सडक मार्गबाट यात्रा गरिरहेका छन् ।
अझ तत्काल उपचारका लागि अस्पताल जानुपर्ने बिरामीहरू १ लाख ५० हजार देखि २ लाख सम्म तिरेर हेलिकोप्टर रिजर्भ गरेर काठमाडौँ जान बाध्य छन् ।
सिधा सवारी सञ्चालन नहुँदा विशेषगरी बिरामीलाई उपचारका लागि अस्पताल लैजान र अन्य यात्रुलाई आवत जावत गर्न पनि असहज भएकाले रुम्जाटारमा नियमित उडानको पहल गरिएको सांसद खतिवडाको भनाई छ । आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पटकपटक ताकेता गरेपछि बन्द रहेको रुम्जाटार विमानस्थलमा फेरि उडान सुरु भएको दाबी गर्दै खतिवडाले आगामी दिनमा यसको निरन्तरताका लागि पहल गर्ने बताउनुभयो । ‘रुम्जाटारमा नियमित विमान उडाउने हाम्रो योजना त थियो नै झन सिधा सवारी बन्द भएपछि ओखलढुङ्गावासीका लागि अत्यावश्यक नै भयो र जबरजस्त अनुरोध गरेर पुनः उडान सुरु गर्न सफल भइयो ।’ खतिवडाले भन्नुभयो, ‘यो विपत्का बेलामा यत्तिको सेवा पाउनु मेरो र समग्र जिल्लावासीका लागि खुसीको विषय हो । नियमित उडानका लागि पहल भइरहेको छ । सम्भवतः सातामा २ दिन उडान हुन्छ भन्ने मलाई जानकारी आएको छ ।’ काठमाडौँ–रुम्जाटार उडान आइतबार र बुधबार हुने खतिवडाले बताउनुभयो । उहाँका अनुसार आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन् । काठमाडौँ–रुम्जाटार भाडा ४ हजार ५ सय तोकिएको छ ।
५ वर्षपछि आएका विमानमा पहिलो दिन बिरामीले सेवा उपभोग गरेका छन् । दुवै तर्फका यात्रुहरू विमान ल्याएको जसलिन गएका केही राजनीतिक दलका नेता बाहेक बिरामी र अत्यावश्यक कामका लागि यात्रा गर्नेहरू थिए ।
जिल्लामा सडक सञ्जाल नपुग्दैदेखि सुरु भएको रुम्जाटार विमानस्थल कालोपत्रे भएपछि अझ नियमित उडान हुने स्थानीयको अपेक्षा थियो । तर विमानस्थलको स्तरोन्नति पछि नियमित उडान हुन नसक्दा सेवाबाट वञ्चित भएका यात्रुलाई भरपर्दो सेवा दिनेगरी नियमित उडान गर्न जिल्लावासीले माग गरेका छन् ।
बाढीपहिरोले सडक अवरुद्ध भएको र दशैंमा यात्रुको चाप हुने समयमा पुनः सुरु भएको रुम्जाटार– काठमाडौँको उडानलाई नियमित र निरन्तर बनाउनुपर्ने सिद्धिचरण नगरपालिकाका निवर्तमान उपप्रमुख इच्छाकुमारी गुरुङले बताउनुभयो । ५ वर्षअघि पनि केही दिन उडान गरेर फेरि अनिश्चित भएको स्मरण गर्दै गुरुङले आगामी दिनमा हवाई उडानले निरन्तरता पाए जिल्लाका बिरामीहरूले हेलिकोप्टर चार्टर गरेर अस्पताल जान र सडक मार्गबाट सवारीमा जोखिम मोलेर यात्रा नगरी हवाई सेवा उपभोग गर्न पाउने बताउनुभयो ।
रुम्जाटारमा विमान आउने केही दिन अघिदेखि नै सूचना जारी गरिएको भएपनि धेरैले पत्याएका थिएनन् । अब पनि नियमित उडान हुनेमा धेरैको शङ्का छ ।
विमान हेर्न रुम्जाटार पुगेका स्थानीय र सरोकारवालाले विगत जस्तो उडान अनिश्चित नबनाउन आग्रह गरेका छन् ।
ओखलढुङ्गामा रुम्जाटार र खिजी चण्डेश्वरी गरी २ विमानस्थल छन् ।
पर्यटनसँग जोडेर ओखलढुङ्गा घुम्ने र सोलुखुम्बु जाने पर्यटकलाई समेत लक्षित गरेर नियमित उडान भर्न सकिने सम्भावना भएका जिल्लाका दुवै विमानस्थलमा नियमित उडान हुनसकेको छैन । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईसहित पुगेर परीक्षण उडान गरो खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडानपछि कुनै उडान र स्तरोन्नतिको काम भएको छैन । रुम्जाटार विमानस्थल सुविधा सम्पन्न र कालोपत्रेसहितको रनवे (मैदान) भएपनि उडान छैन ।