बाँके । २० करोडभन्दा बढीको सडक बत्तीको महसुल नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरणले बाँके जिल्लाको आठओटा स्थानीय तहलाई तोकिएको मितिमा रकम भुक्तानी गर्न परिपत्र गरेको छ ।
मिटर बक्स जडान नगरी सडक बत्ती प्रयोग गरी महसुल नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरणले तोकिएको मितिमा विद्युत् महसुल भुक्तान गर्न जिल्लाका आठओटै स्थानीय तहहरूलाई परिपत्र गरेको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा नेपालगन्जका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।
मिटर जडान नगरेरै सडक बत्ती प्रयोग गरेको पाइएकोले ती स्थानहरुमा तत्काल मिटर जडान गर्न स्थानीय तहहरूलाई परिपत्र गरिएको लामिछानेले बताउनुभयो ।
बाँकेका स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २० करोड २३ लाख ४० हजार ९ सय ८५ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्रमुख लामिछानेले बताउनु भयो ।
बाँकेमा सडक बत्ती प्रयोग गरे बापत नेपालगन्ज उपमहानगरपालिकाले १९ करोड ९१ लाख ३८ हजार ८ सय ४६ रुपैयाँ,कोहलपुर नगरपालिकाले ५ लाख ९८ हजार ६ सय ४४ रुपैयाँ, राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७ सय ७ रुपैयाँ, बैजनाथ गाउँपालिकाले ६३ हजार ७० रुपैयाँ, नरैनापुर गाउँपालिकाले एक लाख २३ हजार ७ सय ५० रुपैयाँ, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३ सय ६९ रुपैयाँ, खजुरा गाउँपालिकाले ५ हजार ७ सय ७९ रुपैयाँ र डुडुवा गाउँपालिकाले एक करोड ९४ लाख ५८ हजार २० रुपैयाँ तिर्नुपर्ने बक्यौता रकम रहेको प्रमुख लामिछानेले बताउनुभयो ।
लामो समय देखि प्राधिकरणले परिपत्र गरेपनि हालसम्म उक्त बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशन अनुसार भदौबाट लाइन काट्ने तयारी गरेको वितरण केन्द्र नेपालगन्जले जनाएको छ । प्राधिकरणले गत असार १६ मा एक सूचना जारी गरी ४५ दिनभित्र प्राधिकरणमा किस्ताबन्दीको आवेदन दिन सूचना गरेको थियो तर हालसम्म कुनै पनि स्थानीय तहले किस्ताबन्दीको आवेदन दिएका छैनन् ।
विद्युत् प्राधिकरणले बाँकेका आठवटै स्थानीय तहलाई ४५ दिनभित्र सडक बत्ती बापतको विद्युत् महसुल बुझाउन आग्रह गर्दै त्यसो नगरिए विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । आवेदन नदिएकाहरूको लाइन भदौ देखि काट्ने वितरण केन्द्र नेपालगन्जले जनाएको छ । असारसम्मको तथ्याङ्क अनुसार देशभरको स्थानीय तहको बक्यौता रकम ६ अर्ब ८० करोडको हाराहारीमा पुग्ने प्राधिकरणले जनाएको छ ।