दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल दाङ आउनु भएको छ । गृहजिल्ला दाङमा उहाँ दुई दिन बस्नु हुनेछ । जिल्लामा हुन लागि रहेका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि दाङ आउनु भएका पोख्रेलले यहाँका नेता, कार्यकर्ता, शुभेच्छुकहरू र विभिन्न ओहोदामा रहनु भएका व्यक्तिहरूलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
एमाले महासचिव पोख्रेल दाङ रहँदा मङ्गलवार बिहान प्रेस चौतारी दाङले आयोजना गर्न लागि रहेको पत्रकार सम्मेलनमा सहभागी हुनुहुनेछ । चौतारी दाङले बिहान नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाकक्षमा बिहान ८ बजे पार्टी महासचिव तथा पूर्व सञ्चारमन्त्री एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलको सहभागितामा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउन चौतारीले सबैमा अनुरोध गरेको छ । चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा र सचिव किरण गौतमले कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्नु भएको छ ।
यसैगरी महासचिव पोख्रेलले नेकपा एमाले दाङको बैठकलाई सम्बोधन गर्नु हुनेछ । नेकपा एमाले दाङको जिल्ला पार्टी कार्यालय भरतपुरमा दिउँसो साढे १२ बजे आयोजना गर्न लागिएको बैठकलाई पार्टी महासचिव पोख्रेलले निर्देशनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा सबै जिल्ला सदस्य एवं केन्द्र, प्रदेशका सदस्यहरूलाई सहभागिताका लागि एमाले दाङले अनुरोध गरेको छ । पार्टी अध्यक्ष शिवकुमार आचार्य र सचिव श्याम डाँगीले बैठकमा सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।