वीरगंज/हेल्मेटभित्र लुकाएर ल्याएको खैरो हिरोइनसहित दुई जना वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ का भिमबहादुर वाइवा र मिलन तामाङ रहेका छन्।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र २–०३–००८ प १४३४ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा स्कुटी चालक वाइवाले लगाएको हेल्मेटभित्रबाट लागुऔषध खैरो हिरोइन १२ ग्राम २४० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको बताए।
यस्तै, वीरगञ्ज–१६ बाटै लागुऔषधसहित मकवानपुरको हेटौँडा–४ बस्ने गणेश घिमिरे र बकैया गाउँपालिका–५ बस्ने विकास भोलनलाई प्रहरीले पक्राउ गरेको छ।
घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।