काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले सात किलोग्राम ५०० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रहरी नायव निरीक्षक (सई) विचित्र थापामगरको नेतृत्वको टोलीले सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा लागूऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र मुम्बई ठेगाना भएकी ४५ वर्षीय गुलनाज बैग रहेकी छन् । व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले थाइ एयर एशियाको विमानमार्फत भैरहवा आएकी बैगलाई अध्यागमनको चेकजाँच सकेर बाहिर निस्किँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ उनले सुटकेशभित्र खाने मस्यौरा जस्तै बनाएर प्लाष्टिकले बाहिरबाट प्याक गरि उक्त गाँजा राखेर ल्याएको प्रहरीले बताएको छ । प्रक्राउ परेकी बैगलाई बरामद भएको गाँजासहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।