वीरगंज । वीरगंजको मुख्य बजार क्षेत्रमा जथाभाबी ढंगले चलिरहेका टाँगाले ट्राफिक व्यवस्थापनमा थप चुनौती खेपिरहेको अवस्थामा उत्पन्न समस्या समाधानको लागि आजबाट विशेष अभियान शुरु गरिएको छ ।
टाँगाका कारण सडकमा सवारी दुर्घटनामा पर्ने समस्या मात्र होइन, घोडाको मलमूत्रका कारण नगर क्षेत्रमा दुर्गन्धसमेत फैलिएपछि त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले वीरगन्ज महानगरपालिकाको कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरीचौकी इनर्वा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा टाँगालाई व्यवस्थित गर्ने उद्देश्यले टाँगा व्यवसायी सहितको भेला आज सम्पन्न भएको छ ।
भेलामा १ सय ५० बढी टाँगा व्यवसायीहरूको सहभागिता रहेको थियो । भेलाले आजैबाट टाँगालाई मितेरी पुल देखि रजत जयन्ती चौक, बाइपास रोड हुँदै नयाँ बसपार्क जाने बाटो उपलब्ध गराउने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले बताउनुभयो ।
त्यसैगरी भेलाले वीरगन्जलाई स्वच्छ बनाउन टाँगाको घोडाले बाटोमा गर्ने दिशा पिसाब टाँगा चालकले व्यवस्थापन गर्ने, बाटोमा घोडा को मलमूत्र फालेको देखिएमा वीरगन्ज महानगरपालिकाले नियमअनुसार कारबाही गर्ने सहमति भएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले हाल टाँगा वीरगंजको मुख्य सडकमा चल्दा अत्यधिक सवारी चाप हुने स्थानहरूमा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको बताउँदै घण्टाघर र अन्य चोकमा टाँगाले समस्या पुर्याएको जानकारी दिनुभयो ।
वीरगंजको मुख्य सडकमा टाँगाका कारण सवारी व्यवस्थापनको समस्या थपिँदै गएको छ । सीमा क्षेत्रमा टाँगाको माग बढी भएकाले रक्सौलको रेल्वे ढालाचोकसम्म टाँगाको सञ्चालन सामान्य चलन बनेको छ । भारतीय टाँगाहरू पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन्, जसले थप जटिलता पैदा गरेको छ ।
वीरगंज आसपासमा करिब २ सय भन्दा बढी टाँगा सञ्चालनमा छन् ।