जनकपुरधाम, फागुन १५ गते । गत ४ पुसमा धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि बोरामा एउटा शव भेटियो ।
दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । खोलेर हेर्दा गलिसकेको अवस्थामा पुरुषको शव थियो । तर पहिचान खुल्न सकेन ।
प्रहरीले विज्ञ प्राविधिक सहायता लिएर पुरुषको स्केच तयार पार्यो र सार्वजनिक गर्यो । ६६ दिनपछि एक महिला स्केचअनुसारको पुरुष आफ्नो श्रीमान् हुन सक्ने भन्दै प्रहरीको सम्पर्कमा आइन् ।
वैदेशिक रोजगारीका लागि कतारमा रहेका श्रीमान् लामो समयदेखि उनको सम्पर्क हुन सकेको थिएन । उनीबाट विवरण लिएपछि प्रहरीले अनुसन्धान अगाडि बढायो । त्यसपछि खुल्यो, त्यो शव धनुषाको कमला नगरपालिका– ६ का ३३ वर्षीय शहिद अन्सारीको थियो, जो ती महिलाकै पति थिए ।
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार अनुसार अनुसन्धानको क्रममा शवको पहिचान मात्र होइन, हत्यामा संलग्नहरूको पनि पहिचान खुल्यो ।
घटना थियो, विवाहेत्तर प्रेमको डरलाग्दो अन्त्यको ।
हत्या हुनुभन्दा अघिसम्म युवक वैदेशिक रोजगारीका लागि कतारमा थिए । योजना बनेपछि कतारबाट बोलाएरै हत्या गरेको अनुसन्धानमा पाइएको प्रहरी बताउँछ ।
एसपी तिवारी भन्छन्– ‘हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ ।
घरमा श्रीमती हुँदा हुँदै अर्कैकी श्रीमतीसँग प्रेममा रहेका शहिदले ती महिलालाई कतारबाट पैसा पनि पठाइदिने गरेका थिए ।
शहिद अन्सारीलाई मिथिला बिहारी नगरपालिका– ६ का राजकिशोर यादव र उनकी श्रीमती अनिताकुमारी यादवले मिलेर हत्या गरेको पाइएको एसपी तिवारीले बताए ।
कतारमा कार्यरत शहिद दुई वर्षदेखि अनितासँग प्रेम सम्बन्धमा थिए । शहिद आफैं पनि विवाहित थिए । उनले अजिमा खातुजसँग विवाह गरेका थिए ।
यता, अनिताका श्रीमान राजकिशोर पनि वैदेशिक रोजगारीको लागि साउदी अरबमा थिए । त्यसैले शहिद र अनिताबीच बेफिक्री कुराकानी चलिरहन्थ्यो । नियमित फोन गर्ने मात्र नभई शहिदले अनितालाई पैसा पनि पठाउने गरेका थिए ।
प्रहरीका अनुसार गत मंसिरमा अनिताले अजिमा खातुन (शहिदकी श्रीमती) गम्भीर विरामी रहेको भन्दै नक्कली रिपोर्ट पठाएर शहिदलाई बोलाइन् । २६ मंसिरमा आकस्मिक छुट्टी लिएर शहिद कतारबाट हिँडे ।
प्रहरी अनुसन्धान भन्छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे पछि सबैभन्दा पहिले उनले अनितालाई नै सम्पर्क गरे । त्यसपछि काठमाडौंबाट बीपी राजमार्ग भएर अनिताको घर अर्थात मिथिला बिहारी नगरपालिकाको तारापट्टी सिरसियातर्फ लागे ।’
अनिता हत्याको जघन्य योजना बनाएर बसेकी थिइन् । त्यसैले उनले आफ्ना श्रीमान् राजकिशोरलाई १५ मंसिरमै साउदी अरबबाट घर बोलाएकी थिइन् । यो कुराको कुनै संकेत नपाएका शहिद २६ मंसिरको राति ८ः२३ बजे अनिताको घर पुगे ।
शहिदको हत्या योजना बनेपछि अनिताकुमारीले साउदी अरबमा कार्यरत आफ्ना श्रीमान राजकिशोर यादवलाई नेपाल बोलाएकी थिइन् । घटनापछि राजकिशोर साउदी फर्किसकेका छन् ।
अनुसन्धानबाट खुलेको तथ्य सुनाउँदै एसपी तिवारी भन्छन्, ‘…घरमा अनिता र उनका श्रीमान् शहिदलाई नै कुरेर बसेका थिए । उनी पुगेलगत्तै पूर्वयोजनाअनुसार दुवैले आफू सुत्ने कोठामा बन्धक बनाएर राखे । रातभर राखेपछि २७ मंसिरको बिहान ११ बजे बञ्चरोले प्रहार गरेर हत्या गरे ।’
हत्यापछि बोरामा हाले र कसैले थाहा नपाउने गरी मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फाले । घटनालगत्तै राजकिशोर पुनः साउदी उडे ।
जब शव सडेर दुर्गन्ध आउन थाल्यो, स्थानीयले प्रहरीलाई खबर गरे, र बोराभित्र गलेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।
शवको पहिचान नखुलेपछि प्रहरीले स्केच बनाएर सार्वजनिक गरेको थियो । एकैपटक १० फागुनमा शहिदकी श्रीमती अजिमाले स्केच हेरेर श्रीमानको पहिचान गरेकी थिइन् ।
अनुसन्धानको क्रममा यो तथ्य खुलेपछि प्रहरीले अनितालाई नियन्त्रणमा लिएको छ । उनलाई कर्तव्यज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको एसपी तिवारीले जानकारी दिए ।