१५ फागुन, काभ्रेपलाञ्चोक । हराएको ५ महिनापछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ की निशा लामाको कंकाल भेटिएको छ ।
गत १५ असोज औषधी किन्न पाँचखालको तामाघाट जान्छु भनेर निशा घरबाट हिँडेकी थिइन् । त्यसयता उनको अत्तोपत्तो थिएन ।
तर, बुधबार (१४ फागुनमा) दिउँसो पाँचखाल नगरपालिका– ३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा निशाको कंकाल फेला पर्यो ।
जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले कंकालसँगै ब्याग र चप्पल भेटिएको र ब्यागमा निशा लामाको नाममा काटिएको लेडिज टेलरको बिल फेला परेको जानकारी दिइन् ।
सोही आधारमा मृतकको सनाखत गरिएको एसपी खड्काले बताइन् । निशाका पति राइफल लामाले पनि कंकाल आफ्नी श्रीमतिको भएको सनाखत गरेका छन् ।
कंकालको पहिचान भएलगत्तै प्रहरीले प्रविधिको सहायताले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेको छ ।
रन्जितकारविरुद्ध निशाका पति राइफल लामाले जाहेरी समेत दर्ता गराइसकेका छन् । उनले जाहेरीमा सुनिल रञ्जितकारले निशालाई बनेपामा भेटी ललाईफकाई झुक्याएर काफ्लेडिहीको जंगलमा लगेको उल्लेख गरेका छन् ।
क्रूरतापूर्वक हत्या, जंगलमै शव लुकाएर फरार
प्रहरीका अनुसार सुनिल रञ्जितकारले बयानको क्रममा हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार ढुंगाले निशाको टाउकोमा पटक–पटक प्रहार गरी क्रूरतापूर्वक हत्या गरेका थिए ।
हत्यापछि मृतकको शव जंगलमै लुकाएर उनी फरार भएका थिए ।
रञ्जितकारले जबर्जस्ती करणीको अभियोगमा फसाइदिन्छु भन्दै निशाले धम्की दिएपछि आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउकोमा र संवेदनशील अंगमा क्रूरता पूर्वक प्रहार गरेर हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।
प्रहरीले बिहीबार रञ्जितकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।