Thursday, February 27, 2025
घरसमाचारमर्मतपछि चीनबाट जहाज आउन ढिलाइबारे निगमले बनायो छानबिन समिति 

मर्मतपछि चीनबाट जहाज आउन ढिलाइबारे निगमले बनायो छानबिन समिति 

१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने चारमध्ये चीनमा नियमित मर्मत सम्भार (सी–चेक) पछि पनि काठमाडौं आइपुग्न ढिलाइ भइरहेको जहाजबारे छानबिन समिति गठन गरेको छ ।

राष्ट्रिय ध्वजावाहकले १ सय ५७ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको न्यारो बडी जहाज सी–चेक सकेर १७ फागुनमा काठमाडौं आउने जनाएको छ ।

दर्ता नम्बर ‘९एन–एकेडब्लू’ जहाज अघिल्लै साता काठमाडौं आउनुपर्ने तालिका थियो । यो जहाज चीनको सेङयाङमा सी–चेक गर्न लगिएको थियो । निगमको जहाज चाइना साउदर्न एयरलाइन्समा मर्मत गरिएको हो ।

मर्मतको काम पूरा भएपछि नियम अनुसार गर्नुपर्ने भन्सार पास प्रक्रियामा समस्या आई उडान अनुमति पुनः आवश्यक परेपछि उक्त जहाज १७ फागुनमा मात्र काठमाडौं आइपुग्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार एकेडब्लू जहाजको सी–चेक ढिलाइ तथा अन्य कारण सम्बन्धमा अध्ययनगरी यथार्थ विवरण केलाइ कहीँ कसैको कमीकमजोरी पाइए कर्मचारी, मर्मत सम्भार कम्पनी (एमआरओ) र एजेन्ट समेतलाई कानुनी प्रक्रिया अनुसार कारबाहीको सिफारिस सहित पेसलाई कानुनी प्रक्रिया अनुसार कारबाही सिफारिस सहित पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

त्यसैगरी निगमको अर्को न्यारो बडी जहाज ‘९एन–एकेएक्स’ को ‘नोज ल्यान्डिङ गियर’ मर्मतका लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी भारत नयाँदिल्लीस्थित एयर इन्डिया सर्भिसेस लिमिटेड पठाउने तयारी भइरहेको उनले बताए ।

यसका लागि काठमाडौं–दिल्ली ‘फेरी फ्लाइट’ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने बित्तिकै मर्मतका लागि दिल्ली जाने र १७ फागुनदेखि नै नियमित उडानमा रहने निगमको भनाइ छ ।

त्यसैगरी निगमसँग रहेको २ सय ७४ सिट क्षमताका दुई थान वाइड बडी जहाजमध्ये दर्ता नम्बर ‘९एन–एएलवाई’ लाई आवश्यक पार्टपुर्जा आज बिहीबार बेलायतबाट आइसकेको र मर्मतपछि काठमाडौं–दिल्ली उडान गर्ने निगमले जनाएको छ ।

निगमका अनुसार आन्तरिक उडानमा प्रयोग हुने १९ सिट क्षमताको दर्ता नम्बर ‘९एन–एबीयू’ ट्विनअटरमा आवश्यक इन्जिन जडानपछि २० फागुनबाट नियमित उडान गर्ने छ ।

त्यस्तै दर्ता नम्बर ‘९एन–एबीटी’ को अर्को ट्विनअटरको पनि इन्जिन जडान सकेर नियमित उडान सञ्चालन गर्ने योजना निगमले बनाएको छ ।

यात्रु सुविधा ध्यानमा राखेर निगमका आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवा मार्फत गन्तव्य पुर्‍याउने काम भइरहेको र टिकट उपलब्ध नहुन्जेल होटलमा बस्ने व्यवस्था मिलाइएको निगमको भनाइ छ ।

प्राविधिक समस्याका कारण सिर्जना भएको कठिन परिस्थितिमा यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -