काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको हो ।
सो क्रममा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताउनुभयो ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका बताउनुभयो । राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको बताउनुहुँदै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, संवर्द्धन र विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका उल्लेख गर्नुभयो ।

सो क्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पाले स्वागत गर्नुभएको थियो भने खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ल्होसार सम्बन्धी गीत तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।
