काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दरा पहिलोपटक इलाममा गुञ्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा शुक्रबार त्यहाँको सूर्योदय गरपालिका-१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिन लागेको हो ।
सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजनामा कन्सर्ट हुन लागेको हो । संघका अध्यक्ष प्रज्वल प्रधानले स्थानीय पर्यटन प्रवर्द्धनको लागि कन्दराको ब्याण्डको कन्सर्ट आयोजना गरिएको बताए ।
उनले भने, ‘कन्दरा आफ्नो स्थापनाको ३२ वर्षे यात्राको सांगीतिक कार्यक्रम लिएर ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत विश्व भ्रमण गरिरहेको छ । यो ब्याण्डले हाम्रो नगरको प्रचारप्रसारमा सहयोग पुग्नेछ ।’
ब्याण्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठ पनि उत्साहित सुनिए । ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको उनले सुनाए ।
उनले भने, ‘यो ऐतिहासिक ठाउँमा यस्ता कन्सर्ट एकदमै कम हुने गरेका छन् । सम्भवतः हाम्रो दोस्रो ब्याण्ड हो । भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट पनि दर्शक आउन लाग्नुभएको छ । यसकारण पनि यो कन्सर्ट ऐतिहासिक हो जस्तो लाग्छ ।’
उनले करफोक कन्सर्ट हब बन्न सक्ने बताए । ‘कन्यामबाट नजिक पर्ने यो ठाउँ कन्सर्ट हब नै हुन्छ जस्तो मलाई लाग्छ । यसले हाम्रो आन्तरिक पर्यटन पनि हुन्छ जस्तो मलाई लाग्छ । फेरि एकपटक सबैजनाले कन्दरालाई आफ्नो मनमा आत्मसात गर्नुहुन्छ जस्तो लाग्छ ।’
पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ । पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ । चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुञ्जिने ब्याण्डको तयारी छ ।
मार्चदेखि अप्रिलसम्म अस्ट्रेलियाका ८ सहरमा ब्याण्डले प्रस्तुति दिनेछ । होबर्टमा मार्च ८, मेलबर्नमा मार्च १५, क्यानबेरामा मार्च २२, एडिलेडमा अप्रिल १२ मा कन्सर्ट तय छन् । सोही छेकोमा न्यूजिल्याण्डमा पनि ब्याण्डले प्रस्तुति दिनेछ ।
ब्याण्डको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।