Thursday, February 27, 2025
घरसमाचारस्वास्थ्य मन्त्रालयलाई महिला र समावेशी सचिव बनाउने अवसर

स्वास्थ्य मन्त्रालयलाई महिला र समावेशी सचिव बनाउने अवसर

१४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि पहिलो नम्बरमा डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको छ ।

उच्च स्रोतका अनुसार मन्त्रालयले दोस्रो नम्बरमा विकास देवकोटा र तेस्रो नम्बरमा डा. टंक बराकोटीको नाम सिफारिस गरेको छ ।

१२ फागनुदेखि स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अनिवार्य अवकास भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त स्वास्थ्य सचिवको नाम सिफारिस भएको हो । सम्भवतः भोलि (बिहिबार) बस्ने मन्त्रीपरिषद् बैठकले तीनबाट एक जनालाई नियुक्ति गर्नेछ ।

स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगका सदस्य एक सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रूपमा पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव छन् ।

समितिले १२औं तहमा सबैभन्दा पहिले बढुवा भएकाले डा. संगीताको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । डा. विकास र टंक भने ११औं र १२औं तहमा सँगै बढुवा भएका हुन् ।

‘हामीले पहिलो ज्येष्ठताको आधार र अन्य कार्यसम्पादन मूल्यांकनको आधारमा नाम सिफारिस गरेका हौं,’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

हालको १२औं तहमा अर्थात् अतिरिक्त सचिवको बढुवाको हिसाबले हेर्दा डा. संगीता अगाडि देखिन्छन् । उनी २३ असार २०७९ मा १२औं तहमा बढुवा भएकी हुन् । डा. विकास र डा. टंक भने १३ चैतमा २०७९ मा १२औं तहमा बढुवा भएका थिए ।

डा. संगीताकै अग्रसरताले नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना भएको थियो ।

डा. संगीताले १० असोज २०७० मा खुल्ला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्दै पुनः स्वास्थ्य सेवामा काम सुरु गरेकी हुन् ।

उनले कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापन एकदमै चुस्त गरेकी थिइन् । सरकारले छोटो समयमै कोशी अस्पतालमा गरेको प्रशासनिक क्षमता अब्बल रहेको ठहर गर्दै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको जिम्मेवारी दिएको थियो ।

डा. संगीताकै अग्रसरताले नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना पनि भयो । त्यसपछि स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा र प्रवक्ताको जिम्मेवारी समेत सम्हालेकी डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।

२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

डा. टंकले २०५६ सालदेखि सेवा सुरु गरेका हुन् । उनले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।

स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि कानुनी र राजनीतिक दुवै पक्षले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

ज्येष्ठताको आधारमा पहिलो नम्बरमा रहनु, महिला र समावेशी हुनुले डा. मिश्रलाई सचिव बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरूको तर्क छ ।

यस्तै दोस्रो सेवा प्रवेशको आधारमा हेर्दा र मन्त्रालयका विभिन्न महाशाखाको लामो अनुभव लिइसकेका डा. देवकोटाले पनि सचिव बन्नका लागि पहल गरिहेका छन् ।

गृह जिल्ला झापाका डा. बाराकोटी पनि प्रतिस्पर्धामा छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -