भद्रपुर, झापा । झापा ११ भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा ११ ले फाइनलमा स्थान पक्का गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अतिरिक्त ५ मिनटको समय सम्हालिन नसक्दा भुटान प्रतियोगिताबाट बाहिरियो । खेलमा झापा ११ का तर्फबाट एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगर भुटानका तर्फबाट सुरज रसाइलीले गोल गरे । खेलको प्लेयर अफ द म्याच विजयी टिमको जर्सी नं ४७ का खेलाडी एरोन थापा भए । उनले नगद २१ हजारसहित ट्रफी पाए ।
अब शुक्रबार आयोजकको टिम भद्रपुर ब्लेजर्स र झापा ११ का बीच १३ लाख नगद पुरस्कारको उपाधिका लागि प्रतिस्पर्धा हुने भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।