२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा यो साता त्यति धेरै रन बनेको खेलहरू हामीले देखिरहेका थिएनौं । विशेषगरी पिचले बलरहरूलाई दिएको साथ अनि ब्याटरहरूको संघर्षले गर्दा छक्का हान्दा र रन बन्दा हुनेजत्तिको उत्साह विकटबाट छाउन सकेन ।
तर साताको अन्त्यमा आइपुग्दा महत्वपूर्ण दुई खेलहरू अनि शनिबारको दर्शकमाझ देखिएका पावर हिटिङले यस शनिबारलाई साँच्चिकै सुपर स्याटरडे बनाइदियो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डु र चितवनले आ-आफ्ना खेलहरू जित्दा ब्याटरहरूबाट पावर हिटिङको नमुना पनि देख्न पाइएको थियो ।
विहानको खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई हराउँदा दिउँसो चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सलाई हरायो । खेलको नतिजा त एकतर्फ छँदै नै छ त्यसमाथि आज विहानदेखि बेलुकासम्मै देखिएको जोडदार शटहरूले बललाई बाउन्ड्रीबाहिर पुर्याउँदा दर्शकको उत्साहलाई पनि अन्तरिक्षसम्मको उडान भराएको थियो ।
पहिलो खेलमा पोखराका बाँयाहाते ओपनिङ ब्याटरद्वय दिनेश खरेल र रेमोन रेइफरले चौका र छक्काको वर्षात् गराएका थिए भने पोखराले दिएको लक्ष्य पछ्याउने क्रममा काठमाण्डुका तीन विदेशी खेलाडीहरूले निडर शटहरू खेलेका थिए ।
अघिल्ला खेलमा चल्न नसकेका स्टेफेन इस्किनाजी र माइकल लेभिटले आक्रामक सुरूवात दिलाउँदा जेरजर्ड एरासमसले आक्रामक फिनिस गरेका थिए ।
दोस्रो खेलमा भने थप रोमाञ्चकता र थप उत्साह थियो । पहिलो इनिङमा चितवनका कप्तान कुशल मल्लले ७ छक्का प्रहार गरेका थिए भने उनलाई रवि बोपाराले साथ दिएका थिए । यी दुईकै ब्याटिङमा चितवनले राम्रो योगफल बनाएको थियो ।
जवाफमा दोस्रो इनिङमा जनकपुरका जिमी नीशमले पनि शानदार ब्याटिङ गरे । निरन्तर विकेट गुमाएपछि दबाबमा आएको जनकपुरका लागि उनले सुरूवातदेखि नै चार्ज लिएर आक्रमक ब्याटिङ सुरू गरेका थिए । उनले एनपीएलकै सबैभन्दा छिटो अर्धशतक समेत बनाए ।
यसरी शनिबार त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा काठमाण्डुका विदेशी खेलाडी अन्ततः चले भने दोस्रो खेलमा चितवनका र जनकपुरका खेलाडीहरूबाट पावर हिटिङ देख्न पाइएको थियो ।
बागमतीका दुई टिमको जितले दुई टोली बाहिरिए
शनिबारको खेलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई टोली काठमाण्डु गुर्खाज र चितवन राइनोजले जित निकाले । यो नतिजाले विराटनगर किंग्स र पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना सकिएको छ ।
पहिलो खेलमा काठमाण्डुले पोखरामाथि सहज जित हात पार्यो । पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डुले झण्डै ६ ओभरअगावै पूरा गर्यो । काठमाण्डुको जितमा विदेशी खेलाडी स्टेफेन इस्किनाजी र माइकल लेभिट चम्किए । उनीहरूले विस्फोटक सुरूवात दिलाए । इस्किनाजीले अर्धशतक नै बनाउँदै काठमाण्डुको जित्नैपर्ने खेलमा स्टेप अप गर्दै खेल जिताए।
त्यसअघि पोखराका ओपनर दिनेश खरेलले राशिद खानको एकै ओभरमा चार चौकासहित कुल ६ चौका र १ छक्कासहित विस्फोटक सुरूवात दिलाएपनि अन्य खेलाडीले मिडल अर्डरमा प्रदर्शन गर्न सकेनन् । अघिल्लो खेलका नायक रेमोन रेइफरले १ चौका र ३ छक्कासहित ४१ रन बनाउँदै फिनिस गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा १८० रन बनाएको थियो । ५५ रनमा ३ विकेट गुमेपछि क्रिजमा रहेका कप्तान कुशल मल्लले बोपारासँग मिलेर शतकीय साझेदारी गरे । यसक्रममा कुशलले ७२ रन बनाए भने बोपाराले ४४ रन बनाए ।
कुशलले लेगसाइडमा आफ्नो पावर हिटिङ देखाइरहेका थिए भने बोपाराले उनलाई साथ दिइरहेका थिए । कुशल मल्लले अरनिको यादवलाई एकै ओभरमा ३ छक्कासहित कुल ७ छक्का प्रहार गरेका थिए । बोपाराले ५ चौका र १ छक्का प्रहार गरे ।
दोस्रो इनिङमा राम्रो सुरूवात पाउन नसकेको जनकपुरले कप्तान अनिललाई ८ रनमा गुमाएको थियो । लाहिरु मिलान्था १ रनमा तथा हर्श थाकर ६ रनमा आउट भएपछि दबाबमा आएको जनकपुरका लागि शुभ कंसाकारले केहीबेर इनिङ सम्हाल्ने प्रयास गर्दागर्दै आउट भए ।
त्यसपछि आएका जिमी नीशमले सुरूवातदेखि नै अट्याक सुरू गरेका थिए । उनले बासिल हामिदलाई एकै ओभरमा २४ रन प्रहार गर्दा कुल ५ चौका र ६ छक्का प्रहार गर्दै २४ बलमा ६५ रनमा आउट भए । यद्यपी यस खेलमा टिमलाई जित दिलाउन नसकेपनि उनी प्लेअफअगाडि फर्ममा देखिएका छन् ।
यसरी त्रिवि क्रिकेट मैदानमा आज भने अरू दिनजस्तो बलर हावी देखिएनन् । आजको दुवै खेलमा ब्याटरहरूले बाउन्ड्री प्रहार गर्ने सिलसिला चलिरहँदा दर्शकमाझ पनि उत्साह बढिरहेको थियो । शनिबारको दिन भएकाले विहानदेखि दर्शकहरू आउने क्रम जारी थियो ।
दिउँसोसम्म भरिएको दर्शकदीर्घामा दर्शकहरू मैदानमा खेलाडीको प्रदर्शनबाट उत्साहित भइरहेका थिए भने बेलाबेला बज्ने गितहरूमा पनि रमाइरहेका थिए । यसरी आज पनि त्रिवि क्रिकेट मैदानमा शनिबारको खेल सुपर शनिबारजस्तै सुपर भयो ।
कुशलको कप्तानी पारी
चितवनका कप्तान कुशल मल्लले आज चितवनको जितमा खेलेको पारी पनि निकै तारिफयोग्य छ । टिमका लागि उनले मिडल ओभरमा उनले खेल चलाएका थिए । उनको आजको पारीलाई आज कप्तानी पारी नै मान्नुपर्छ ।
चितवन ४६-२ को अवस्थामा हुँदा क्रिजमा आएका उनले ५५-३ को स्कोर हुँदा पार्टनर सन्तोष कार्कीलाई गुमाएका थिए । त्यसपछि आएका रवि बोपारासँग मिलेर उनले शतकीय साझेदारी गरे । कुशलले ३ चौका र ७ छक्कासहित ४१ बलमा ७२ रन बनाए । उनकै इनिङले चितवनले ठुलो स्कोर बनाएको थियो र त्यसलाई डिफेन्ड गर्दै खेल पनि जित्यो ।
खेलपछि पत्रकारहरूसँग बोल्दै उनले १८० रनको स्कोर भएपछि राम्रो बलिङ युनिटले त्यसलाई डिफेन्ड गर्न सकिने कुरामा ढुक्क रहेको बताएका थिए ।
जनकपुरलाई ब्याटिङमा चिन्ता ?
जनकपुरले सुरूवाती तीन खेल खेल्दा टप अर्डरले निकै शानदार प्रदर्शन गरेका थिए । विशेषगरी दुई खेलाडी लाहिरु मिलान्था र हर्श थाकरले शानदार ब्याटिङ गरेका थिए । तर त्यसपछिका खेलमा भने टप अर्डर धर्मराएको देखिएको छ ।
लगातार चार खेल जित्दै अपराजित रहेको अवस्थामा जनकपुर सुदूरपश्चिमसँग ५१ रनमा अलआउट भएको थियो । त्यसपछि काठमाण्डुसँगको खेलमा जित निकाले पनि टप अर्डरबाट प्रदर्शन भएको थिएन । १०२ रनको लक्ष्य पछ्याउँदा ४४ रनमा ४ विकेट गएपछि जिमी नीशमले ३ छक्का प्रहार गरेर खेलको मोमेन्टम तानेका थिए जसलाई थाकरले फिनिसिङ दिए ।
जनकपुर प्लेअफमा जाँदै गर्दा आफ्नो सबैभन्दा बलियो पक्षले नै धोका दिन सक्छ । त्यसकारण गलत शटहरू खेलेर विकेट फालिरहेका टप अर्डरले सम्हालिएर ब्याटिङ गर्नुपर्ने हुन्छ ।
जनकपुरले हारेको खेलमा कप्तान अनिलको भनाई पनि त्यही थियो । स्लो विकेटभन्दा पनि गलत शटहरूले गर्दा धेरै विकेट गएको उनको भनाइ थियो । प्रशिक्षक पुबुदु दासानायकेले पनि केही कुराहरूमा प्लानिङअनुसार काम हुन नसकेको बताएका थिए ।