२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको अब लिग चरणका खेलहरू सकिने क्रममा छन् । अब तीन दिनमा पाँच खेल हुन बाँकी छ जसपछि प्लेअफ सुरू हुनेछन् ।
हालसम्म जनकपुर बोल्ट्सले प्लेअफ खेल्ने पक्का हुँदा लुम्बिनी लायन्स बाहिरिसकेको छ । अब प्लेअफमा छनोट हुन बाँकी ३ स्थानमा कुन-कुन टिम हुनेछन् भन्ने कौतुहलताको विषय एकतर्फ रहँदा टिमहरूको कमजोर पक्षहरू पनि विस्तारै देखिन थालेका छन् ।
सिङ्गल राउन्ड रोबिनमा खेलाइएको लिग छोटो समय मात्र भएको भएर ५-६ खेलकै प्रदर्शनले टिमको अवस्था र विभिन्न पक्षहरूका बारेमा टिप्पणी गर्नुपर्ने अवस्था छ । प्रतियोगिताको बिजनेश एण्ड अर्थात् अन्तिम समयतिर आइपुग्दा रोमाञ्चकता पनि थपिएको छ ।
एनपीएलमा शुक्रबारको दोस्रो खेल एकपक्षीय जस्तै देखियो । विराटनगर किंग्ससँग चितवन राइनोज ५१ रनको फराकिलो अन्तरले पराजित भयो । यस हारले चितवनको प्लेअफ सम्भावनामा धक्का पुगेको छ भने विराटनगरको प्लेअफमा पुग्ने झिनो आशा बाँकी नै छ ।
शुक्रबारको खेलमा चितवनका विदेशी खेलाडीहरूबाट अघिल्ला खेलमा जस्तो प्रदर्शन हुन सकेन । योसँगै तीन हार व्यहोरेको चितवनको विशेषगरी ब्याटिङमा विदेशी खेलाडीप्रतिको निर्भरता भएको कुरालाई ‘एक्सपोज’ भएको छ ।
सुरूवाती दुई खेलमा लगातार जित निकालेको चितवनले त्यसपछि एक खेल हार्दा एक खेल जित्दै फेरि लगातार दुई खेल हारेको छ । चितवनको तीनवटै जितमा विदेशी खेलाडीको ब्याटिङ प्रदर्शन उच्च देखिएको छ । नेपाली खेलाडी बलिङमा राम्रै देखिँदा ब्याटिङ भने फितलो नै देखिएको छ । अझ भनौं पछिल्लो ३ खेलमा विदेशीको ब्याटिङ नचल्दा नेपालीहरूले पनि स्टेप अप गर्न सकेका छैनन् ।
अघिल्ला खेलहरूमा घातक देखिएका पाकिस्तानी बाँयाहाते पेसर सोहेल तनविर चितवनले हारेका तीन खेलमा एक विकेट मात्र लिएका छन् । त्यस्तै इंग्ल्याण्डका रवि बोपाराले पनि पछिल्लो दुई खेलमा रन बनाउन सकेका छैनन् । अफगानिस्तानका हसन एइसाखिलले एक अर्धशतकबाहेक राम्रो सुरूवातलाई ठुलो स्कोरमा परिणत गर्न सकिरहेका छैनन् । लुकले मध्यम पारी खेल्दा लफ्टी इटनको ब्याट पनि चलेको छैन । यूएईका बासिल हामिदलाई भर्खर मात्र भित्राएको छ ।
चितवनका पछिल्ला तीन हारमा विदेशी खेलाडीको ब्याटिङ र बलिङ दुवै चलेको छैन । यस्तोमा नेपाली खेलाडीले स्टेप अप गरेर खेल्नुपर्ने हुन्छ । एनपीएलको आयोजना धेरैभन्दा धेरै नेपाली खेलाडीहरूले मौका पाऊन् र अनुभव बटुल्न सकून् भनेर गरिएको हो । खेलपछि चितवनका बाँया हाते पेसर रिजन ढकालले पनि यस्तै कुरा उल्लेख गरे ।
‘हामी सधैं विदेशी खेलाडीमा भर परेर हुँदैन, एनपीएलको आयोजना भएको खासमा नेपाली खेलाडीहरूका लागि हो, त्यसकारण नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गर्नु पर्छ’, रिजनको भनाई थियो ।
त्यसो त एनपीएलका सबै टिम विदेशी खेलाडीको निर्भरतमा देखिएका भने छैनन् । कतिपय टिमका विदेशी खेलाडी चलेकै छैनन् भने कति टिमका नेपाली र विदेशी दुवैबाट मध्यम प्रदर्शन भएको छ ।
यस्तोमा चितवनको भने आफ्ना तीनवटै जितमा विदेशी खेलाडीको धेरै योगदान देखिएको छ । पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई हराउँदा पाकिस्तानी बलर सोहेल तनविरले ५ विकेट लिएका थिए जो खेलको म्यान अफ दि म्याच पनि भएका थिए ।
त्यस्तै दोस्रो खेलमा पोखरालाई ७४ रनमा अलआउट गर्दा रवि बोपाराले ब्याटिङमा अर्धशतक बनाएका थिए भने बलिङमा तनविर र लुक बेनकेन्सटाइनले ३-३ विकेट लिए । बाँयाहाते पेसर रिजन ढकालले पनि ३ विकेट लिएका थिए ।
तेस्रो खेलमा भने कर्णालीसँग पराजित भएको थियो । उक्त खेलमा बोपाराले अर्धशतक बनाएपनि खेल कर्णालीले जितेको थियो । चौथो खेलमा चितवनले सुदूरपश्चिमलाई हराएको थियो जहाँ ब्याटिङमा हसन एइसाखिलको अर्धशतक र बोपाराको ३८ रन मद्दतले चितवनले राम्रो स्कोर खडा गरेको थियो । बलिङमा जान निकोल लफ्टी इटनले २ तथा तनविरले १ विकेट लिए । अन्य विकेट नेपाली बलरले लिएका थिए ।
पाँचौं खेलमा चितवन पराजित भयो । लुम्बिनीसँग १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १३४ रनमै रोकिएको थियो । उक्त खेलमा चितवनका लागि ब्याटिङमा लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन बनाएका थिए । अन्यबाट खासै योगदान भएन ।
छैटौं खेलमा शुक्रबार चितवनले फराकिलो अन्तरको हार व्यहोर्यो । १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पराजित भएको थियो । यस खेलमा चितवनको ब्याटिङ राम्रो हुन सकेन । विदेशी खेलाडी हसन, बोपारा र बासिलको ब्याटिङ चल्न नसक्दा कप्तान कुशल मल्लसहित अन्यको ब्याट पनि खासै चल्न सकेन ।
यो सबै खेलहरू खेल्दा के देखिएको छ भने विदेशी खेलाडीहरूले राम्रो खेलेका बेला चितवनले खेल जितेको छ तर विदेशी खेलाडी नचलेको बेला नेपाली खेलाडीहरूले म्याच विनिङ पारी खेल्न सकिरहेका छैनन् ।
सधैं विदेशी खेलाडीले खेल जिताउँछन् भन्ने हुँदैन । विदेशी खेलाडी चल्दा पाएको मोमेन्टमले केही साना पारीहरू खेलेको भएपनि शटहरू खेल्दा नेपालीहरूले आफ्नै दममा स्टेप अप गरेर ब्याटिङ प्रदर्शन गर्न सकेका छैनन् । त्यसकारण चितवनलाई प्रतियोगिताको महत्वपूर्ण समयमा आएर धक्का लागेको छ ।
अब चितवनले अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । उक्त खेलमा पराजित भएमा चितवनको प्लेअफ अन्य नतिजामा भर पर्छ । जनकपुरसँग चितवन पराजित हुँदा पोखरा र काठमाण्डुमध्ये कुनैपनि टिम ८ अंकमा पुगे चितवनको प्लेअफ सम्भावना सकिनेछ । त्यस्तै चितवनले जनकपुरलाई हराएमा चितवनसँगै ८ अंकमा पुग्ने अर्को एक टिम वा चितवन पराजित भएर अन्य टिम पनि ६ अंकमै रोकिएको अवस्थामा नेटरनरेटका आधारमा चितवन नै बलियो हुन सक्छ ।
खेलको समीकरणभन्दा पनि यहाँनेर चितवनको मात्र नभएर सबै टिम विदेशी खेलाडीहरूमा मात्र भर पर्नाले सधैं आवश्यक जित नआउन सक्छ । हुन पनि रिजनले शुक्रबारको खेलपछि भनेजस्तो हरेक खेलमा विदेशी नै चल्दिए हुन्थ्यो भन्ने मेन्टालिटी भएर हुँदैन ।
चितवनलाई झट्का, विराटनगरको झिनो आशा कायमै
शुक्रबारको खेलमा विराटनगरसँग पराजित भएसँगै चितवनलाई झट्का लागेको छ । विराटनगरले भने झिनो आशा कायमै राखेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अविजित अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन बनाउँदा मार्टिन गप्टिलले ४५ रन बनाए भने राजेश पुलामी मगरले अविजित ३३ रन बनाए ।
पहिलो १० ओभरमा ५२ रन मात्र जोडेको विराटनगरले त्यसपछि १२९ रन जोडेको थियो । बसिर र गप्टिलको क्याच छोड्नु चितवनलाई महंगो परेको थियो । त्यसैगरी चितवनले अतिरिक्त र मिसफिल्डमा पनि धेरै रन खर्चियो ।
जवाफमा १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन बनाए । यसैगरी ओपनर सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । बसिरले १ विकेट लिए । यस्तै क्रिस सोल र सुवास भण्डारीले पनि १-१ विकेट लिए ।