Tuesday, January 14, 2025
घरसमाचारमुग्लिन–पोखरा पश्चिम खण्ड : टिठलाग्दो काम, उराठलाग्दो यात्रा (तस्वीरहरू)

मुग्लिन–पोखरा पश्चिम खण्ड : टिठलाग्दो काम, उराठलाग्दो यात्रा (तस्वीरहरू)

२२ मंसिर, पोखरा । पानी पर्नु त टाढाको कुरा पानी पर्ने संकेतसम्म छैन । पृथ्वीचोकको चाइनिज पुल कट्नासाथ देखिन्छन्, शिरदेखि पाउसम्म छोपिने गरी प्लास्टिक ओढेर बाइक, स्कुटरमा हुँकिनेहरू । खाल्डाखुल्डी र सांघुरो सडकमा गाडीको लस्कर । धुलाम्मे सडकमा कष्टकर यात्रा ।

पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने जो कोहीको नियति यही हो । यहाँका नागरिकले ०७८ सालदेखि नै यही अवस्थाको सामना गर्दै आइरहेका छन्

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकको पश्चिमी खण्डमा विशेषगरी कास्कीका सडकको अवस्थ खराब छ । यहाँका नागरिकले पनि उस्तै सास्ती खेपिरहेका छन् ।

पश्चिमी खण्डको तनहुँ जिल्लाभित्र सबैजसो एकातर्फी र केही एकतर्फी सडक सकिइसकेको भएपनि कास्की जिल्लाभित्र भने अहिले काम त भइरहेको छ तर, अस्तव्यस्त ।

पृथ्वीचोक, विजयपुर र कोत्रेमा पुल निर्माण भइरहेको छ । कास्कीमा कतै हिलाम्मे त कतै धुलाम्मे छन् भने कतिपय ठाउँमा सडकमै ठूला ठूला खाल्डासमेत छन् । जसका कारण यात्रुको ज्यानसमेत जोखिममा छ ।

बिजुलीका तालहरू लत्र्याङलुत्रुङ छन् । नेपाल विद्युत् प्राधिकरणले समयमै अझै बिजुलीका पोल सारिदिएको छैन । विद्युत्देखि विभिन्न इन्टरनेट प्रादायक कम्पनीहरुका ताल ठाउँ ठाउँमा लत्रिएर कुरुप देखिएका छन् ।

खानेपानीको पाइपसमेत बेलैमा व्यवस्थित नगरिँदा कामसमेत अवरोध भएको छ र ठेकेदार चिनियाँ कम्पनीकै बदनाम भइरहेको छ ।

चिनियाँ ठेकेदार कम्पनी सिसिएमसीले मुग्लिन–पोखरा सडकको पश्चिमी खण्डको ठेक्का पाएको हो । सम्झौताअनुसार अहिलेसम्म यो सडकको निर्माण सकिइसक्नुपर्ने थियो । तर, जामुने–पोखरा (पश्चिम खण्ड)मा ३३ प्रतिशतमात्र काम भएको छ ।

निर्माण कार्य पनि व्यवस्थित नबन्द यात्रुले अझै कति सास्ती खेप्नुपर्ने हो भन्ने त्रासदीपूर्ण यात्रा गरिरहेको लेखनाथका सुदीप ढुंगाना बताउँछन् । ‘बाटो निर्माण टिठलाग्दो छ भने कष्ठपूर्ण यात्राको वीरह अर्कोतिर छ,’ उनले भने, ‘यही गतिले कास्कीमा २/४ वर्ष सुख पाउने देखिँदैन ।’

आयोजनाको पश्चिम खण्ड प्रमुख राजेश पौडेलले तनहुँतर्फ धेरै काम सकिइसकेको र कास्कीमा काम भइरहेको भए पनि बिजुलीको पोल, तारहरू, खानेपानीका पाइपको व्यवस्थापनमा ढिलाइ र घरैसमेत जानअवस्थामा समन्वय ढिला हुँदा काम पनि ढिला भएको बताउँछन् । ‘अहिलेसम्म ३३ प्रतिशत काम भएको छ,’ पौडेलले भने, ‘हामीले ३ सय ९० दिन म्याद थप्न प्रस्ताव गरेर पठाएका छौं ।’ अझै ७ सय ९० वटा बिजुलीका पोल सार्नुपर्ने अवस्था छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते ७ अर्ब ४० करोड ४६ लाखमा सम्झौता गरेर २०८१ साल भदौसम्म काम सक्ने सम्झौतामा थियो । तर, सम्झौता अवधि सकिइसक्दा पनि निर्माणले गति लिएको छैन । चिनियाँ कम्पनीले भने नेपाल सरकारकै समन्वयको अभावले समस्या भएको बताएको छ ।

नेपाल सरकारको तर्फबाट बेलैमा समन्वय नहुँदा निर्माण ढिलाइ भएको र ठेकेदार कम्पनीसमेत बदनाम भएको गुनासो उनीहरूको छ । कोरोना काललाई देखाएर १ सय १ दिन म्याद थपिए पनि अझै कति थपिने हो भन्ने ठेकेदार अन्योल छन् ।

निर्माण कम्पनीले अहिले पनि मापदण्ड कार्यान्वयन, स्थानीय तहले उठाउने निकासी करका कारण समयमै काम सक्न नसकिएको दुखेको गरेको छ । नेपाल सरकारले समन्वय गरिदिने हो भने अबको १५ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।

सडक निर्माण निकै सुस्त भएको चौतर्फी गुनासोपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक आयोजना, निर्माण ठेक्का पाएको कम्पनी, निर्माण क्षेत्रका स्थानीय तहलाई डाकेर बैठक राखेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि सेती नदीपुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक तत्काल निर्माण गर्ने सहमति भएको थियो । उसले १५ महिनाभित्र निर्माण सक्ने प्रतिबद्धासहित काम गरिरहेको भए पनि समन्वयका कारण ढिलाइ हुनसक्ने आशंका पनि धेरैको छ ।

थप तस्वीरहरू :

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -