२०८२ कार्तिक ३० गते, आईतवार ००:१४

गौरीशंकरको शक्तिमा फर्कियो एमाले

१९ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकरमा नेकपा एमाले फेरि शक्तिमा फर्किएको छ । पालिका उपाध्यक्ष पदमा भएको उपनिर्वाचन जितेर एमाले ०७४ कै अवस्थामा फर्किएको हो ।

२०७४ सालको स्थानीय चुनावमा एमालेले गौरीशंकर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा एमाले उम्मेदवारले जितेका थिए । तर २०७९ को चुनावमा पहिलोबाट तेस्रो शक्तिमा झर्‍यो, एमाले । एमालेले जितेको जम्मा एउटा वडा छ, ५ नम्बर ।

०७८ मा पार्टी विभाजन भएको, एमालेविरुद्ध गठबन्धन रहेको र आन्तरिक एकता समेत नरहेका बेला एमाले उम्मेदवारहरु नराम्रोसँग पराजित भएका थिए । एमाले हराउन नेपाली कांग्रेस, माओवादी केन्द्र सहित तत्कालीन सत्तारुढ एकताबद्ध बनेका थिए ।

नतिजा पनि गठबन्धनकै पक्षमा गएको थियो । पालिका अध्यक्षमा माओवादीका विश्वास कार्कीले जितेका थिए भने उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङले जितेका थिए ।

तर यो उपनिर्वाचनमा दलहरुले कसैसँग गठबन्धन गरेनन् । एकल प्रतिस्पर्धा हुँदा एमालेकी उमा लुंगेली मगर शेर्पा उापाध्यक्षमा निर्वाचित भइन् ।

२८०५ मत ल्याएर निर्वाचित भएकी मगर शेर्पाले माओवादीकी निम लेकी शेर्पालाई हराइन् । पराजित शेर्पाले २६०० मत पाइन् ।

एमालेबाट निर्वाचित लुङ्ली मगरको पार्टी राजनीतिमा संलग्नताको इतिहास भने लामो छैन । २०७४ पछि एमालेको सदस्यता लिएको उनले अनलाइखबरलाई जानकारी गराइन् । उमाले कांग्रेस समर्थित पतिलाई पनि एमालेमै प्रवेश गराएकी थिइन् । नवनिर्वाचित लुंगेली मगरका पति निर्माण व्यवसायी हुन् ।

पति फुरलाक्पा शेर्पा एमालेमा प्रवेश गरेपछि उपनिर्वाचनमा उनले टिकट पाउने थप आधार बनेको स्थानीय नेताहरु बताउँछन् । शेर्पाको छोरोल्पा निर्माण कम्पनी छ । खेल क्षेत्र, लायन्स क्लब सदस्य रहेकी लुंगेली मगरले सिद्धार्थ हिमालय युवा क्लबमा आवद्ध रहेर सामाजिक कार्यहरु गर्दै आएकी छन् ।

यहाँ पालिका उपाध्यक्षको निर्वाचन भएपनि केन्द्रीय नेताहरुको प्रतिष्ठा जोडिएको थियो । एमालेका केन्द्रीय तहका यसै पालिकाका तीन नेता छन् । पूर्वमन्त्री पार्वत गुरुङ, श्याम बस्नेत, सरस्वती बस्नेतको पालिका गौरीशंकर हो । माओवादी केन्द्रका केन्द्रीय नेताहरू गंगा कार्की, विशाल खड्का, देवी खड्का, बलराम थापाको गृहपालिका पनि गौरीशंकर हो ।

‘आधार क्षेत्र त राजनीतिमा कसैको हुँदैन । तथापि गौरीशंकरमा एमालेको संगठन आफैमा बलियो हो,’ एमाले नेता बस्नेत भन्छन्,‘अपेक्षाकृत मत अझै आउन सकेन ।’ केन्द्रीय नेताहरुको पालिका भएकाले आफ्नो उम्मेदवारको प्रचार प्रसारमा एमाले र माओवादी केन्द्र दुबै तर्फका नेताहरु लागे । बस्नेतका अनुसार अन्य दलको तुलनामा एमालेका केन्द्रीय नेताहरुको खटाइ कम थियो ।

अघिल्लो चुनावमा कांग्रेससँगको गठबन्धनमा माओवादीले अध्यक्ष सहित पाँच वटा वडा जितेको थियो । यसपटक तीन ठूला दल एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरेका थिए । एक्लाएक्लै चुनाव प्रतिस्पर्धा गरेको भनिएपनि कांग्रेस र एमालेको भित्रि साँठगाँठ भएको माओवादी केन्द्रका नेता विशाल खड्का आरोप लगाउँछन् ।

‘कांग्रेसले जित्न नसक्ने बुझेर एमालेलाई जिताउन भित्रभित्रै कुरा मिलाइएको रहेछ,’ खड्का भन्छन् । एमाले नेता बस्नेत भने माओवादीले उठाएको विषय तथ्यहीन भएको बताउँछन् । एमालेभित्रको असन्तुष्टिले आफ्नो उम्मेदवारको अपेक्षा अनुसारको मत नआएको बस्नेत बताउँछन् । उपाध्यक्षमा निर्वाचित लुंगेली मगरले माओवादीले विकास निर्माण कार्य यो अवधिमा नगरेकै कारणले मतदाताले आफूलाई विश्वास गरेर मत दिएको बताउँछिन् ।

माओवादीका जनप्रतिनिधि बढी भएको स्थानमा एमालेबाट पदाधिकारी पद उपाध्यक्षमा लुंगेली मगर पुगेकी छन् । माओवादीको प्रमुख एवं वडाध्यक्ष संख्या बढी भएकै कारणले उपाध्यक्षलाई चुनौती नहुने एमाले नेता बस्नेत बताउँछन् । ‘उपाध्यक्षले गर्ने कामहरु कानुनले तोकेको छ । कानुनमा रहेर काम गर्दा अरुको बहुमत छ भनेर आत्तिनुपर्ने अवस्था हुँदैन,’ बस्नेत भन्छन् ।

निर्वाचित लुंगेली मगर अधिकांश समय काठमाडौंमा रहने र जिल्ला कम जाने गरेको विपक्षी माओवादीको आरोप छ । व्यवसायले गर्दा काठमाडौं बस्नु परेको उपाध्यक्ष मगरले सुनाइन् ।

‘व्यवसायको हिसाबले काठमाडौंमा बसेको हो । गाउँमा बसेको भनेर हुने भए माओवादीको उम्मेदवारलाई जनताले किन भोट दिएनन् त?’ उपाध्यक्ष मगर भन्छिन्, ‘विजयी भएपछि यही बसेर काम गर्ने हो ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM