बझाङ । बझाङको सुर्मा गाउँपालिका-४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत उहाँको भनाइ छ ।
सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो । वडाअध्यक्षको पदका लागि नेपाली काङ्ग्रेसबाट धिरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रबाट पुष्कर बोहरा गरि ३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनमा दुई वटै मतदान केन्द्रमा गरि दुई जना मतदान अधिकृत, दुईजना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी गरि जम्मा १० जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । सुर्मा – ४ मा कुल १ हजार ५ सय ५४ जना मतदाता रहेका छन् ।