१५ मंसिर, रुकुम पूर्व । हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि भोलि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सबै तयारी पूरा भएको छ ।
यस पालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र छन् । जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरी ११ हजार एक सय ८० जना मतदाता छन् ।
निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार यी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर शान्तिपूर्ण निष्पक्ष र व्यवस्थित मतदान सुनिश्चिका लागि सबै व्यवस्था पूरा गरिएको छ ।
निर्वाचनमा कुनै बाधा नपुगोस् भनेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय प्रशासनका सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, र गर्भवती महिलाहरूका लागि प्राथमिकता प्रदान गर्न विशेष व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
उपनिर्वाचनमा २ नम्बर वडामा जगत घर्ती निर्विरोध निर्वाचित घोषणा भएको छन् भने उपाध्यक्षका लागि दलहरूबीच प्रतिस्पर्धा छ ।
गत भदौ २८ गते बागलुङको भङखानीमा भएको सवारी दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रा बुढाको निधन भएको थियो । सोही रिक्त पदपूर्तीका लागि आयोगले यहाँ उपनिर्वाचन गर्न लागेको हो ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।