१५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सत्तारुढ दुई दलबीचको सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग तिव्रता आउने बताएका छन् ।
‘अनुदान वित्तपोषण (ग्रान्ट फाइनानिसङ)का आधारमा बीआरआई अघि बढाउने’ उल्लेख गर्दै कांग्रेस–एमालेले सहमतिको मस्यौदा तयार पारेका छन् ।
उक्त सहमतिलाई शनिबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बसेर अन्तिम रुप दिइएको छ ।
यसबारे प्रतिक्रिया सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतीले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तिव्रता आउनेछ ।’
उनले दुई दलबीच साझा धारणा बनाउने काम भएको उल्लेख गर्दै अब बीआरआई अन्तर्गतका चिनियाँ सहयोग परिचालनमा सहजता हुने बताएका छन् ।
‘विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि सो अन्तर्गतका परियोजनाहरू अघि बढ्न सकेको थिएनन् । अब बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ,’ महासचिव पोखरेलले भनेका छन् ।
साथै, उनले बीआरआईका सन्दर्भमा प्रमुख दलहरूबीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलाका साझा राष्ट्रिय दृष्टिकोण तयार गर्न सुखद प्रक्रिया आरम्भ भएको रुपमा लिन सकिने पनि बताएका छन् ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनको भ्रमणको विषयमा बीआरआईबारे छलफल हुने बताइएको छ ।
बीआरआईसम्बन्धी एमओयूमा भएका विषयवस्तुमध्ये आर्थिक विषयसँग सम्बन्धित विषयवस्तुहरुलाई नेपालको प्रस्तावमा प्राथमिकता दिइएको छ ।
चीनले आफ्नो विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शक सिद्धान्तका रूपमा बीआरआईलाई अघि बढाइरहेको छ । नेपालले सन् २०१४ मा यो परियोजनामा सैद्धान्तिक सहमति जनाएको थियो ।
२०१७ मे १२ मा बीआरआईसम्बन्धी समझदारी पत्र (एमओयू)मा परियोजनामा नेपालले हस्ताक्षर गरेको थियो ।