Saturday, December 7, 2024
घरसमाचारपासपोर्ट प्रणाली बन्द हुँदा प्रवासमा सकस

पासपोर्ट प्रणाली बन्द हुँदा प्रवासमा सकस

१४ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका साउदी अरेबिया रहेका भविन रानामगर पासपोर्ट नवीकरणका लागि गत बिहीबार रियादस्थित नेपाली दूतावास पुगेर फर्किए । ‘लाइभ इनरोल्मेन्ट’ (बायोमेट्रिक दिएर फोटो खिचाउने काम)का लागि ‘अपोइनमेन्ट डेट’ दिन गएका उनी विद्युतीय राहदानी प्रणाली नचलेपछि समस्यामा परे ।

एक दिनसम्म सिस्टम चल्ने आशामा रियादमै बसे पनि दूतावासले अनिश्चितकालसम्म सिस्टम नचल्ने जनाउ दिएपछि उनी गत शुक्रबार रियादबाट त्यतिकै कार्यस्थल फर्किए ।

विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगहरूमा पासपोर्ट नवीकरणका लागि गएर फर्किने नेपाली उनी एक्लो हैनन्, गत बिहीबार त धेरै नेपालीहरू दूतावास पुगेर पनि बायोमेट्रिक नदिई र फोटो नखिचाई फर्किएका थिए ।

गत बुधबारदेखि पासपोर्टको प्रणाली विदेशस्थित नेपाली नियोगहरूमा बन्द छ । प्रणाली नै बन्द भएपछि कयौं आप्रवासी नेपालीले पासपोर्टका लागि नयाँ फारम भर्न पाएका छैनन् ।

अहिले पनि दूतावासहरू त्यहाँ कार्यरत कर्मचारीहरूलाई प्रणाली कहिलेदेखि चल्छ भन्दै फोन सम्पर्क गर्ने नेपालीको संख्या ठूलो छ । दूतावासहरूमा बुझ्न खोज्दा फोन नउठेको भन्दै सामाजिक सञ्जालमा दूतावास र सरकारको आलोचना गर्नेहरू प्रशस्तै छन् ।

मलेसियास्थित नेपाली दूतावासले शुक्रबार गरेको फेसबुक लाइभमा पनि यसबारे चासो र चिन्ता राख्नेहरू धेरै देखिए । फेसबुक लाइभमा जवाफ दिन जोडिएका दूतावासका कर्मचारीले राहदानी विभागले प्रणालीमा आएको समस्या समाधान छिट्टै हुने बताएकाले लामो समय सेवा बन्द नहुने बताए । तर, उनले पासपोर्टको सेवा पुनः सुरु हुन कति समय लाग्छ भन्ने स्पष्ट बताउन सकेनन् ।

जापानको टोक्योस्थित दूतावासका एक अधिकारीका अनुसार अहिले धेरै विद्यार्थी र श्रमिक भिसा रहेकाहरू पासपोर्टको प्रणालीको समस्याबारे फोन र इमेलबाट जानकारी मागिरहेका छन् । तर, उनीहरूलाई राहदानी विभाग र दूतावासको सूचना हेर्न भनिएको उनले बताए । ‘धेरै जनाले समस्यामा पर्ने भयौं भन्दै फोन गरिरहनुभएको छ, उता राहदानी विभागले प्रणालीको समस्या समाधान गर्न ढिलाइ गर्दा यता हामीले गाली खाइरहेका छौं,’ उनले भने,‘कतिपय नेपालीहरू साँच्चिकै मर्कामा नै पर्न थाल्नु भएको छ ।’

नेपालीहरूका समस्याबारे जानकार भएपनि राहदानी विभाग हतारमा नियोगहरूमा प्रणाली खोल्ने पक्षमा छैन । किनकी गत हप्ता साइबर आक्रमणकारीले जापानको टोक्यो, साउदी अरेबियाको रियाद, जर्मनीको बर्लिन र यूकेको लन्डनस्थित नेपाली दूतावासमा प्रयोगमा रहेको पासपोर्ट प्रणालीमा हमला गरेका थिए । रियादस्थित दूतावासको प्रणालीमा भएको ‘मालवेयर’ आक्रमणमा त केही डेटा समेत उनीहरूले प्राप्त गरेको र सावजनिक गर्ने चेतावनी दिएको विभाग स्रोतको दाबी छ ।

त्यसैले पनि विभागले विदेशस्थित नियोगकै प्रणालीहरू बढी जोखिममा रहेको निष्कर्ष निकालेर पूरा समस्या हल नभएसम्म विदेशमा सेवा थाल्न चाहेको छैन । यसका लागि करिब २ हप्ता नै लाग्ने देखिएको छ ।

यसरी २ हप्तासम्म प्रणाली अवरुद्ध हुने अवस्था बन्दा समेत रहादानी विभागले प्राविधिक समस्या हल गर्न पर्याप्त प्रयास भने गरेको छैन । यसका कारण श्रम, वैदेशिक अध्ययनसहित व्यापार र विभिन्न प्रयोजनमा विदेश पुगेका नेपालीहरू बढी समस्यामा छन् ।

साउदीमै कार्यरत रहेका सुरेश थापा पनि एक हप्तादेखि फारम भर्न खोजिरहेका छन् । तर, कुनै पनि दूतावासले अपोइनमेन्ट बुक बन्द गरेकाले उनी तनाबमा छन् । समयमै पासपोर्ट नवीकरण गर्न नदिए भविष्यमा कुनै कारणले ढिलाइ भए समस्या पर्ने उनको भनाइ छ ।

कुवेतमा कार्यरत कान्छा सारुले त १४ नोभेम्बरमा नेपाली दूतावास पुगेर पासपोर्ट नवीकरणक लागि इन्रोलमेन्ट गरेका थिए । आगामी ११ डिसेम्बर भिसाको म्याद सकिने भएकाले उनी त्यतिबेलासम्म पासापोर्ट छपाइ नभएर नआउने हो कि भन्न चिन्तामा छन् । त्यसो भएमा भिसा क्यान्सिल गर्नुपर्ने भएकाले उनी दूतावासको फेसबुक पेजका पोस्टमा आफ्नो समस्या राख्दैछन् ।

कुवेत कैरवानमा रोजगारी गरिरहेका निस्बुल हकले नेपाल फर्किन कम्पाीबाट छुट्टी लिएर हवाई टिकट काटिसकेका छन् । तर, नवीकरणका लागि दिएको पासापोर्ट दूतावास आइपुगेको छैन । यही बेला प्रणलाी अवरुद्ध भएको सुनेपछि उनी समयमै पासपोर्ट नआए समस्या पर्ने हो कि भन्ने तनावमा छन् ।

कुवेतका राम लिम्बुले १० नोभेम्बरमा दूतावास पुगेर पासपोर्ट नवीकरण गर्न दिएका थिए । १९ डिसेम्बरमा भिसाको म्याद सकिंदै गर्दा प्रणाली बन्द भएको खबरपछि उनले सामाजिक सञ्जालमै चिन्ता व्यक्त गरेका छन् ।

यी केही उदाहरण मात्रै हुन्, अहिले विभिन्न देशमा रहेर पासपोर्ट नवीकरण गर्नुपर्ने अवस्थाका कयौं नेपालीहरू बिलखबन्दमा छन् । विदेशस्थित दूतावासले प्रणाली नै बन्द भएपछि सूचना प्रकाशित गरेर पासपोर्ट सेवा बन्द गरेका छन् ।

कतिपय दूतावासहरूले विभिन्न शहरमा आयोजना गरेका घुम्ती शिविरहरू पनि रद्द भएका छन् । यसले गर्दा पासपोर्ट नवीकरण गर्नुपर्ने दबाबमा रहेकाहरू ठूलो समस्या छन् ।

नागरिकको भिसा र यात्रा तथा बसाइ अनुमतिजस्तो सम्वेदनशीलहरूसँग जोडिएको सेवा विगत एक सातादेखि विदेशस्थित नेपाली नियोगहरूमा बुधबारयता ठप्प छ । मंगलबारदेखि काठमाडौंको रहादानी विभागमा इनरोलमेन्टको लागि फारम भर्न सकिने व्यवस्था गरिएपनि दूतावासहरूमा अहिलेसम्म प्रणाली नै चलाउन रोकिएको छ । यसले गर्दा दूतावास र महावाणिज्य दूतावासले पासपोर्ट सम्बद्ध सेवा दिन सकेका छैनन् ।

यसका कारण सयममै पासपोर्ट नवीकरण गर्न नपाउँदा कतिपय नेपालीहरूलाई समयममै भिसा आवेदनको प्रक्रिया अघि बढाउन नपाइने चिन्ता छ भने कतिपय नेपाल फर्किनुअघि गर्नुपर्ने कागजी प्रक्रियाहरू अपुरो हुने डर छ ।

तर, राहदानी विभागले अझै पनि कहिलेसम्म विदेशस्थित नियोगबाट पासपोर्टको रोकिएको सेवा दिन थाल्ने हो भन्नेबारे केही बताएको छैन । पटक–पटक सूचना जारी गरेर विभागले क्रमैसँग जिल्लास्थित प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूबाट सेवा थाल्ने बताइरहेको छ ।

विभागका महानिर्देशक तीर्थराज अर्याल विभागले गरिरहेको प्रयासबारे दैनिक सूचना नै निकालेर जानकारी दिने गरिएको बताउँछन् । ‘पासपोर्ट देश र जनताका लागि महत्वपूर्ण र सम्वेदनशील भएकाले यसलाई सबैले आफ्नो विषय मान्नुपर्छ,’ उनले भने,‘हामी समस्या समाधानमा प्रतिवद्ध भएरै काम गरिररहेका छौं ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -