Saturday, December 7, 2024
घरसमाचारअध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको विवरण १० दिन भित्र पठाउन त्रिविको निर्देशन

अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको विवरण १० दिन भित्र पठाउन त्रिविको निर्देशन

१३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको विवरण १० दिनभित्र उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।

रेक्टर कार्यालय अन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिन भित्र विवरण पठाउन निर्देशन दिएको हो ।

‘अध्ययन बिदामा गएका शिक्षकको विवरण मागेका छौं । १० दिनभित्र विवरण नपठाए सम्बन्धित निकायका प्रमुख जिम्मेवार हुन्छन्,’ समन्वय महाशाखा प्रमुख दीपक तिवारीले अनलाइनखबरसँग भने ।

बिहीबार त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको उनले जानकारी गराए ।

महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ । ‘विवरण आएपछि सबै सार्वजनिक गर्छौं । गरिब देशको कर खाएर बस्न मिल्दैन । कसैलाई पनि छुट दिँदैनौं । त्रिविबाट खाएको रकम उठाउँछौँ,’ रेक्टर खड्क केसीले भने ।

२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् ।  पछिल्लो १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने तथ्यांक त्रिविसँग छैन ।

१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ । त्रिविका ५४ जना शिक्षक सम्पर्कमा छैनन् । ५४ शिक्षकबाट मात्रै पनि ८ करोड बढी फिर्ता गर्नुपर्ने देखिन्छ । विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ३० मा शिक्षक तथा कर्मचारीलाई बढीमा ५ वर्षसम्म अध्ययन बिदा दिन सकिने, ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्ता फिर्ता गर्नुपर्ने हुन्छ । थप १२ प्रतिशत ब्याज समेत तिर्नुपर्ने हुन्छ । तर धेरैजसो शिक्षक अध्ययन बिदामा बसेर उतै बस्ने गरेको पाइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -