१२ मंसिर, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–७, रमनटारकी ७१ वर्षीया मनमाया तामाङ २० वर्षदेखि श्रीमान् पर्खिबसेकी छन् ।
७ चैत २०६१ मा घर नजिकैबाट हराएका मनमायाका ६० वर्षीय श्रीमान् कृष्ण तामाङको अझै अत्तोपत्तो छैन । श्रीमान् घर फर्किने मनमायाको आशा भने जीवितै छ । ‘सरकार मेरो लोग्नेको लाश देखाइदेउ की सास पठाइदेउ,’ मनमाया भन्छिन्, ‘मैले मेरो लोग्ने कहाँ छ भनिदेऊ भनेकै २० वर्ष भइसक्यो । कोही केही बोल्दैनन् ।’
कृष्ण तामाङ धादिङ गजुरीबाट ५० को दशकको अन्तिमतिर मकवानपुरको रमनटारमा बसाइँ सरेर आएका थिए । त्यहाँ वन फाँडेर टहरा बनाए । उनले ज्यालादारी र झारफुक गरेर परिवार पाल्दै आएका थिए ।
देशमा गृहयुद्ध चलिरहेको एकदिन गाउँ डुल्न निस्किएका कृष्ण घर फर्किएनन् ।
५ मंसिर २०६३ मा शान्ति सम्झौता पश्चात बिराम लियो । तर कृष्ण घर फर्किएनन् । गाउँकै कबुलियती वन छेउको सडकबाट कृष्णलाई सेनाको गाडीमा हालेर लगेको त्यहाँ काम गर्ने सडक विभागका कर्मचारीले आफूलाई भनेको मनमाया सम्झन्छिन् ।
‘म श्रीमान् खोज्दै सुनाचुरी ब्यारेकसम्म पुगें, ब्यारेकका सेनाले फोटो मागे’ उनी भन्छिन्, ‘मसँग उहाँको एउटै तस्वीर थियो, जुन सेनालाई दिएँ तर, सेनाले न श्रीमान् फिर्ता गर्यो, न उनको तस्वीर ।’
अब मनमायासँग कृष्णको चिनोको रूपमा नागरिकतामा टाँसिएको एकथना श्यामश्वेत तस्वीर मात्रै बाँकी छ, त्यसको पनि समयले रङ खोसिसकेको छ ।
पानी चुहिने छाप्रोमा तीन नाबालकसहति पाँच बालबच्चा छोडेर मनमाया श्रीमानलाई खोज्न चितवनदेखि हेटौंडा पटक-पटक धाइरहिन् । श्रीमानको फोटो बोकेर कहिले मनहरीदेखि सुनाचुरी (चितवन र मकवानपुरको सीमा क्षेत्र) र कहिले धादिङ गजुरीको सेनाको ब्यारेकसम्म पैदल हिंडेरै पुगिन् । तर, कृष्णको अत्तोपत्तो कसैले बताएनन् ।
श्रीमान् खोज्दै हिंडेको ८ महिनापछि छिमेकीले कृष्ण चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको बताए । मनमाया कसरा पनि पुगिन् । ‘कसरामा गएर सोध्दा श्रीमानको कसैसँग गाउँघर तिर रिसिबी थियो, कसैसँग दुश्मनी थियो ? भनेर सोध्नुभयो । मैले कसैसँग पनि दुश्मनी गर्ने, झगडा गर्ने मान्छे होइन भनें’ मनमाया भक्कानिंदै भन्छिन् ।
मनमायाका अनुसार कृष्ण राजनीतिमा लागेका पनि थिएनन् । कसैसँग दुश्मनी पनि थिएन । तर खै कसको आँखामा परे थाहा छैन । ‘कांग्रेसको समर्थक थिए तर नेता होइनन्’ मनमाया भन्छिन्, ‘सोझा थिए, जाँडरक्सी, जुवातास खेलेको पनि थाहा छैन मलाई ।’
तर गजुरीबाट बसाइँ सरेर आएपछि घर बनाउने क्रममा कृष्णले कुम्भीको एउटा रुख काटेको विषयलाई लिएर वनपालेसँग विवाद भने भएको थियो । त्यतिबेला कृष्णले रिसको झोंकमा ‘साल ढालेको होइन, कुम्भी ढाल्दा पनि कति कराएको ?’ भनेको मनमाया सम्झन्छिन् ।
त्यतिबेला वनपालेहरूले ‘एकदिन कसैले थाहा नपाउने ठाउँमा पुर्याइदिन्छु’ भनेर धम्क्याएको मनमायालाई अझै याद छ । तर, श्रीमान् बेपत्ता भएको पाँच महिनापछि वनपालेलाई सोध्दा उनीहरूले ‘थाहा नपाएको तर, सेनाले लगेको हुनसक्ने’ बताएका थिए ।
कसराको चिट्ठी चार महिनासम्म गुपचुप
खोजी गर्ने क्रममा कृष्ण हराएको १० महिनापछि उनी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगिन् । त्यतिबेला प्रमुख जिल्ला अधिकारीले चार महिना अगाडि नै चितवन राष्ट्रिय निकुञ्जको कसराबाट उनको नामको चिट्ठी आएको र त्यो तत्कालीन गाविस कार्यालयमा पठाइदिएको मनमायालाई सुनाएका थिए ।
मनमाया चिट्ठी खोज्दै गाविस फर्किइन् । कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मोक्तानको तत्कालीन भार्ता गाविसस्थित घरमा चिट्ठी बुझिन् ।
उनका अनुसार त्यो चिठीमा कसरा ब्यारेकका सेनाले कृष्णलाई नियन्त्रणमा लिएको र गैंडा मारेको आरोपमा १० वर्ष जेल र एक लाख जरिवाना गरिएको व्यहोरा उल्लेख थियो ।
‘चार महिना चिठ्ठी त्यतिकै राखिएको रहेछ । मैले टंक बाबुलाई चिठ्ठी आएको कुरा मलाई किन नभनेको भन्दा आफूलाई याद नै नभएको भन्नुभयो,’ मनमायाले त्यो क्षण सम्झिइन् ।
त्यसपछि टंककै सल्लाहमा मनमायाले हेटौंडास्थित पुनरावेदन अदालत (हालको उच्च अदालत पाटन हेटौंडा इजलास) मा निवेदन दिइन् । पुनरावेदनले १० दिनपछि निवेदन खारेज गरिदिएसँगै उनी निरास भएर घर फकिएकी थिइन् ।
कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष मोक्तानले कृष्णलाई चितवनस्थित कसरामा नेपाली सेनाले लगेर राखेको घटना साँचो भएको बताए । ‘त्यतिबेला कृष्ण तामाङलाई कसरामा राखेको कुरा साँचो हो । उहाँमाथि गैंडा मारेको आरोप लगाइएको थियो,’ उनले भने ।
कृष्णको करिब ४–५ वर्षपछि कसरास्थित सेनाको बन्दीगृहमै बिरामी भएर मृत्यु भएको खबर प्राप्त भएको मोक्तान बताउँछन् । ‘जेलभित्रै बिरामी भएर मृत्यु भएको भन्ने खबर आएको थियो । पुरानो घटना हो, सबै कुरा याद छैन,’ मोक्तान भन्छन् ।
मृत्यु भए पनि कानुनी प्रक्रियासमेत पूरा नगरी परिवारलाई थाहा नदिनु शंकास्पद भएको मोक्तान बताउँछन् । सशस्त्र द्वन्द्वका बेला अहिले जस्तो बोल्न, सोधीखोजी गर्नसमेत डरमर्दो हुने भएकाले कृष्ण तामाङ बेपत्ता घटना रहस्यमय बनेको मोक्तानले बताए ।
छोराछोरीले होटलमा काम गर्दै घर चलाए
श्रीमान् बेपत्ता भएपछि पाँच सन्तानको पालनपोषणको जिम्मेवारी मनमायाकै काँधमा आयो । घर खर्च चलाउन धौधौ भएपछि महिनौं दिनसम्म नुनपानी खाएर जीवन चलाएको बताउने मनमायाले जेठी र माइली छोरी एवं जेठा छोरा राजुलाई पोखराको होटलमा काम गर्न पठाइन् ।
मनमायाका अनुसार उनीहरू पोखरा जाँदा ८ देखि १२ वर्षका थिए । ‘होटलमा भाडा माझ्ने र सफाइको काम गरेर उनीहरूले १० वर्षसम्म घर चलाए,’ मनमाया भन्छिन्, ‘कान्छा–कान्छीलाई उनीहरूले नै पढाए ।’
१० वर्षपछि राजु रमनटार नै फर्किएर निर्माण मजदुरको काम गरेर घर चलाए । अहिले उनी दुबईमा निर्माण क्षेत्रमै ‘मिस्त्री’को काम गरिरहेका छन् ।
श्रीमान बेपत्ता भएको पिरसँगै अहिले मनमाया छोरालाई विदेश पठाउँदा लागेको डेढ लाख ऋणको अतिरिक्त ऋणको बोझ बोकिरहेकी छन् । ‘ऋण छ, अभाव छ, त्योभन्दा पनि ठूलो कुरा बेपत्ता श्रीमानको अवस्था थाहा पाउन पाए प्राण राम्ररी जान्थ्यो कि’ उनी सोध्छिन्, ‘युद्ध सकियो, शान्ति सम्झौता भएर लोकतन्त्र आयो, तर मैले आफ्नो बेपत्ता श्रीमानको अत्तोपत्तो कसलाई सोध्ने होला ?’