भक्तपुर । जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीच संवाद विषयक दुई दिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आजबाट यहाँ सुरु भएको छ ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वतसभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शास्वत संस्था पश्चिम बङ्गाल भारतको आयोजना र अक्षरा स्कुलको सह आयोजना सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई हाम्रो अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने हुने विश्वास व्यक्त गर्नुभयो ।
जीवनको उत्पत्ति र क्रमिक विकासलाई बुझ्न नसक्दा मानव अध्यात्मबाट विमुख हुँदै गइरहेको चर्चा गर्नुहुँदै उहाँले पछिल्लो समय नयाँ पुस्तामा भौतिकवादी सोच हाबी हुँदा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण अपूर्ण रहेको धारणा राख्नुभयो । “वेदान्त दर्शनले जीवनलाई एक दिव्य र आध्यात्मिक अभिव्यक्ति मान्दै यसको शाश्वत दृष्टिकोण एकअर्काका पूरक एवं यिनको बीचको समन्वयले जीवनको गहिरो रहस्यलाई उजागर गर्छ । यस सम्मेलनले यस कार्यमा थप मद्दत पुर्याउने विश्वास छ”, नगरप्रमुख कार्कीले भन्नुभयो ।
अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर चिन्तन र मनन गर्ने प्रमुख उद्देश्यका साथ सम्मेलन सुरु भएको बताउनुभयो । उहाँले नयाँ पुस्तामा सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नहुँदा हाम्रो पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएको जिकिर गर्नुभयो । नयाँ पुस्तामा मूर्तिको पूजा गरेर मात्रै हुँदैन, आफूभित्रको ब्रम्हको पहिचान गरेर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको भट्टराईको भनाइ थियो ।
“संस्कारयुक्त शिक्षाको दर्शनलाई सिकाइसँग जोडेर लैजान आवश्यक छ । यसका लागि हामीले विगत १५ वर्षदेखि प्रयास गरिरहेका छौँ । हाम्रो देश नेपाल देवभूमि, तपोभूमि र ज्ञान भूमिमा अध्यात्म र विज्ञानलाई जोडेर लैजान सम्मेलनले ऊर्जा थपेको छ”, उहाँले भन्नुभयो ।
सम्मेलनमा डा भक्ति निष्काम सन्त महाराजले जैविक र रासायनिक प्रक्रियाको आधारमा जीवनको उत्पत्ति र विकास भएको सन्दर्भ उल्लेख गर्नुहुँदै प्राकृतिक चयन र अनुकूलन, डार्बिनको विकासवादी सिद्धान्त, उत्परिवर्तनको सिद्धान्तलगायत विभिन्न सिद्धान्तले यसको पुष्टी गरेको बताउनुभयो । उहाँले वेदान्तबाटै विज्ञान अगाडि बढेको, मनको शान्ति, जीवनअघि र पछिको अवस्थाबारे रहस्य खोतल्न वेदान्तमै पुग्नुपर्ने धारणा राख्नुभयो ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, श्रीलङ्कालगायत विभिन्न राष्ट्रका ३० जनाभन्दा बढी प्रतिष्ठित वैज्ञानिक र आध्यात्मिक चिन्तक एवं विज्ञ प्राध्यापकले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीबीच आवश्यक छलफल गरी निष्कर्ष निकाल्ने कार्यतालिका छ ।