Friday, November 29, 2024
घरसमाचारअर्बको यात्रामा नेपाली फिल्म : दिगोपनको प्रश्न यथावत्

अर्बको यात्रामा नेपाली फिल्म : दिगोपनको प्रश्न यथावत्

८ मंसिर, काठमाडौं । १५ कात्तिक बिहान अभिनेता विजय बरालले श्रीमती प्रमिलासहित आइप्लेक्स मलमा ‘पूर्णबहादुरको सारंगी’ हेरे । सिंगो हलमा उनको दम्पती सहित ४ जना मात्रै दर्शक थिए ।

यो देखेर भावुक पनि भए । निस्कने बेला श्रीमतीलाई आश्वस्त तुल्याउँदै उनले भने– फिल्म उत्कृष्ट बनेको छ । दर्शकको मनमा बस्यो भने वर्ड अफ माउथमा चल्छ ।’ सोही दिन बेलुका पनि उनले न्यून दर्शकीय अकुपेन्सीमा फिल्म हेरे ।

लक्ष्मीपूजाको दिन थियो । सिंगो देश घरमा लक्ष्मी भित्र्याउने तयारीमा व्यस्त । देशभर ५६ शो सहित रिलिज भएको फिल्मको ओपनिङ अकुपेन्सी कमजोर थियो ।

दोस्रो दिन शुक्रबार पनि अकुपेन्सी न्यून रह्यो । आँधी आउनुअघिको शून्यता जस्तो । इतिहास कतिबेला र कसरी लेखिन्छ थाहा हुँदैन । जब शनिबार टिकटकमा फिल्म हेरेर दर्शक रोएका दृश्य आँधी जस्तै भाइरल भए केही घण्टामै यिनले टाइमलाइन कब्जा मात्रै गरेनन्, दर्शकीय मनोविज्ञान सोहोरे । प्रधानमन्त्रीले समेत फेसबुकबाट बधाई दिए ।

आइतबार भाइटीकाको अपराह्नपछि धनकी देवी लक्ष्मीले आशीर्वाद दिएको हुनुपर्छ । एकाएक अकुपेन्सी र शो संख्या उकालो लाग्न थाल्यो । क्रमशः २००, ३००, ४०० हुँदै ५०० को संख्यामा शोहरू विस्तार भए । सखारै ४:४५ बजेदेखि मध्यरातसम्मका शो सबै राताम्मे ।

त्यसपछिका दिनमा लगातार दैनिक २ करोडभन्दा धेरै कमाइ गर्‍यो यो चलचित्रले । २४ कात्तिक, शनिबार ३ करोड ८९ लाख ग्रस कमाउँदै एकैदिनमा सर्वाधिक कमाउने घरेलु फिल्मको रूपमा कीर्तिमान रच्यो ।

अनि धेरै कमाउने, धेरै शो संख्या र एकैदिनमा धेरै टिकट बिक्री गर्ने सूचकमा ‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्म बनेका सबै मानक भत्कायो । कीर्तिमानको पटकथा घरमा मात्रै होइन, डायस्पोरामा पनि लेखिने क्रम जारी छ ।

प्रदर्शनको २१ दिनसम्मको हिसाब ४० करोड रुपैयाँ नाघेको छ । विदेशी बक्स अफिसमा २० करोड मूल्य बराबरको टिकट बिक्रीको हिसाब छ । विश्वव्यापी कलेक्सन ५६ करोड नेरु हुन आउँछ । अमेरिकामा एकैदिन २२६ शोको रेकर्ड मात्रै राखेन, १० दिनसम्म ५ लाख डलर (६ करोड ७५ लाख नेरु) कमायो । अष्ट्रेलिया बक्स अफिसमा ८ लाख २१ हजार एयुडी (७ करोड २२ लाख), न्युजिल्याण्डमा ४० हजार अष्ट्रेलियन डलर कमाएको छ ।

‘अभूतपूर्व कमाइ देखेर खुसीले आत्तिएको छु । भोलि के हुन्छ थाहा छैन । भूतो न भविष्य टाइपको भयो । बयान गर्ने शब्द छैनन्’ बराल भन्छन्, ‘मेरो जीवनमा यो जादू जस्तै हो ।’ १३ वर्षे फिल्मी करिअरमा विजय सधैं सहायक भूमिकामा खुम्चिए । पहिलो लिड रोलकै ‘सर्वकालीन ब्लकबस्टर’ बनेपछि यसले घरेलु फिल्मको सामाजिक र आर्थिक आयाममा ‘डिस्कोर्स’ सिर्जना गरिदिएको छ, जसको गुञ्जन धेरै लामो समयसम्म गुञ्जिरहनेछ ।

अब ‘अल्गोरिदम’ फिल्म प्रवर्द्धनको सशक्त माध्यम बन्न सक्छ भन्ने उदाहरण यसपटक स्थापित भयो । बलियो ‘माउथ पब्लिसिटी’ र सोसल मिडियाको लगातार ट्रेन्डिङले दर्शकलाई घरेलु फिल्मसँग साक्षात्कार गराउन सक्यो ।

किनभने ५९ वर्ष लामो इतिहास बोकेको घरेलु फिल्ममा २०८१ सालको दशैं–तिहार अहिलेसम्मकै ब्लकबस्टर सावित भइसकेको छ । कुरा, ‘पूर्णबहादुरको सारंगी’को मात्र होइन, २४ असोजमा रिलिज भएका ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पनि उछाल कमाइ गरे ।

‘१२ गाउँ’ले २१ देखि २२ करोड नेरु र ‘छक्कापञ्जा ५’ले २० करोड, ‘बेहुली फ्रम मेघौली’ले ४ करोड र ‘ज्वाइँ साब’ले २ करोड हाराहारीमा कमाइ गरेको बताइन्छ । सर्वाधिक कमाउने एक्सन जनरा फिल्मको रूपमा विराज भट्ट निर्देशित ‘१२ गाउँ’ले कीर्तिमान रच्यो । ‘छक्कापञ्जा ५’ ले २० करोड कमाउँदा निर्माता कम्पनी आमा सरस्वती मूभिज देशको पहिलो एक अर्ब कमाउने फिल्म ब्यानर बन्यो ।

दशैं तिहारमा सामाजिक कथा, कमेडी र एक्सन कथा चले । दशैं तिहार जस्ता पर्वमा दर्शकले पारिवारिक र कमेडी फिल्म रुचाउँछन् भन्ने भाष्य यसपटक विखण्डित भएको छ । यसपटक बक्स अफिसमा जुन आँधी देखियो, यसले वितरक र प्रदर्शकले घरेलु फिल्मलाई हेर्ने दृष्टिकोण पनि धेरथोर बदलिएको अनुमान छ । यस वर्ष ‘पूर्णबहादुरको सारंगी’, ‘छक्कापञ्जा ५’ जस्ता लगातार ब्लकबस्टर फिल्म दिएको ब्यांकटेस इन्टरटेनमेन्टले अबदेखि नेपाली फिल्म वितरणलाई प्राथमिकता दिने जनाएको छ ।

हेर्नुहोस् दशैं–तिहारका फिल्मको कमाइ ग्रसमा

नोट: रियल टाइम डेटा र सबै हल प्रणालीमा जडान नहुँदा यो हिसाबले यकिन कमाइको प्रतिनिधित्व भने गर्दैन ।

१ अर्ब माथि कमाइ, २१ लाखले हेरे फिल्म

यो समाचार लेख्दासम्म ९ लाख दर्शकले ‘पूर्णबहादुरको सारंगी’ हेरेका छन् । यो संख्या नेपालको जनसंख्याको ३ प्रतिशत मात्रै हो । विजय बराल स्टारर फिल्मको कमाइ र दर्शक संख्या यो सप्ताहान्तमा अझै बढ्ने निश्चित छ । चौथो सप्ताहान्तमा घरेलु बक्स अफिसमा ४० करोड ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ ।

दशैं–तिहारमा रिलिज भएका पाँच नेपाली फिल्मको कुल कमाइ ८३ करोड हाराहारीमा हुन आउँछ । यो भनेको झण्डै २१ लाख दर्शक संख्या हो । यो संख्या मुलुकको कुल जनसंख्याको ७.११ प्रतिशत हो ।

चाडपर्वमा रिलिज भएका पाँच फिल्मले देशभित्र पौने एक अर्बको व्यापार गरे । सोही अवधिमा डायस्पोरामा प्रदर्शनमा आएका फिल्मको कमाइ जोड्दा सवा अर्ब हाराहारीमा देखिन्छ । ‘पूर्णबहादुरको सारंगी’ले मात्र अहिलेसम्म २० करोडको कमाइ डायस्पोरा बजारमा गर्‍यो । ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पनि विदेशमा उत्कृष्ट कमाइ गरे । देश भित्र र बाहिर गरेर दशैं–तिहारमा मात्रै नेपाली फिल्मको कमाइ १ अर्बभन्दा धेरै छ ।

यो बहसमा नेपाली फिल्म बजारको अर्थतन्त्रलाई बिर्सनुहुँदैन । सोही अवधिमा केही विदेशी फिल्मले राम्र्रै कमाइ गर्दै पैसा बाहिर लगे । दशैंमा लागेको टम हार्डी स्टारर सुपरहिरो फिल्म ‘भेनम ३’ ले नेपाली बक्स अफिसमा २ करोड कमाएको छ । तिहारमा आएको ‘भुलभुलैया ३’ले साढे ५ करोड र ‘सिंघम अगेन’ले ५ करोड कमाएको छ ।

सोही अवधिमा ‘जिग्रा’ र ‘कालिंगा’ले न्यून व्यापार गरे । विदेशी फिल्मको कमाइ समेत जोड्दा नेपाली फिल्म बजारको परिधि र आयतन अझै विस्तार भएको देखिन्छ । २ प्रतिशतले मात्रै चलचित्र हेर्दा पनि निर्माता सुरक्षित हुने अवस्था देखिन्छ ।

एउटा फिल्म चल्दा कम्तीमा यसले घरभित्रै लगभग ५० करोडको व्यापार गर्ने ‘पूर्णबहादुरको सारंगी’को कमाइबाट स्पष्ट हुन्छ । डायस्पोराको कमाइ जोड्दा यो संख्या अझ उच्च हुन्छ । यसका लागि जनसंख्याको अनुपात अनुसार पायक पर्ने स्थानमा हलको विस्तार, कन्टेन्टको गुणस्तर र बजारीकरणको आधुनिक शैलीलाई आत्मसात् गर्नुपर्ने देखिन्छ ।

‘पूर्णबहादुरको सारंगी’का निर्माताले जसरी टिकटक र रिल्सको ‘अल्गोरिदम’लाई बजारीकरणको अस्त्र बनाए, यसले फिल्मको पहुँचमा नआएका दर्शकलाई पनि हलसम्म तान्न सक्यो । सोसल मिडियामा झुम्मिने दर्शक हुन् या २०–२५ वर्षसम्म हलमा पाइला नटेकेका दर्शकलाई समेत यसले अपिल गर्‍यो ।

अब ‘अल्गोरिदम’ फिल्म प्रवर्द्धनको सशक्त माध्यम बन्न सक्छ भन्ने उदाहरण यसपटक स्थापित भयो । बलियो ‘माउथ पब्लिसिटी’ र सोसल मिडियाको लगातार ट्रेन्डिङले दर्शकलाई घरेलु फिल्मसँग साक्षात्कार गराउन सक्यो ।

धन्यवाद, निर्माता निश्चल बस्नेतलाई जसले हल मात्र कमाइ गर्ने स्रोत होइन भन्ने उदाहरण यसबीच पेश गरे । चल्दाचल्दैको फिल्म ‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतारेर बस्नेतले एमएसएम भिडियो नामक ओटीटीमा फिल्मलाई रिलिज गरे ।

२० कात्तिकमा फेसबुक मार्फत बस्नेतले यो फिल्मलाई १० दिनमै १९ हजारभन्दा धेरै दर्शकले हेरेको जनाए । एउटा सब्सक्रिप्सनलाई ४०० रुपैयाँ मान्दा यो फिल्मले सोही अवधिमा ७६ लाख रुपैयाँभन्दा धेरै कमाइ गरेको बुझिन्छ । त्यसयता पनि फिल्मले ओटीटी प्लाटफर्ममा राम्र्रै कमाइ गरिरहेको छ ।

बस्नेतको शैली पछ्याउँदै ‘अगस्त्य’ र ‘फर्की फर्की’ले पनि ओटीटी प्लाटफर्ममा रिलिज घोषणा गरेका छन् । हलमा जान सहज नमान्ने, विशेषगरी विदेशमा बसेका ‘नेटिजन’ दर्शकमाझ ओटीटी सहज हुने गरेको छ । हलबाट फिल्म उतार्दै गर्दा– बस्नेतले प्रदर्शकलाई लक्षित गर्दै हलको विकल्प खोज्ने चेतावनी दिएका थिए ।

उनको यो संकेत ओटीटी प्लाटफर्मतिरै थियो । यो डिजिटल प्लाटफर्मले नयाँ दर्शकीय वर्ग खोज्ने मात्र गरेको छैन, परम्परागत ‘थिएट्रिकल विन्डो’को विकल्पमा बहस थालेको छ । यसको सुरुवात पनि यो दशैं–तिहारले सुरु गरिसक्यो ।

नयाँ बजारको खोजी, भत्किए पुराना गढ

पछिल्लो चाडपर्वले घरेलु फिल्मको वितरण र प्रदर्शन प्रणालीमा केही नयाँ ट्रेन्ड देखाएको छ । हिन्दी फिल्मको वर्चस्व हुने मधेश र तराईदेखि पश्चिम र सुदूरपश्चिममा यस पटक नेपाली फिल्म आक्रामक ढंगले चलेका छन् । ‘पूर्णबहादुरको सारंगी’, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ पूर्वदेखि पश्चिमसम्मै हाउसफुल रहे ।

सम्भवतः पहिलो पटक नेपाली फिल्म घरभित्रै चलेको यो अभूतपूर्व क्षण हो । ‘२५ वर्षको मेरो वितरण करिअरमा यस्तो दृश्य पहिला कहिल्यै देखेको थिइनँ’ वितरक मनोज राठी भन्छन्, ‘यसरी डोमेस्टिक फिल्म चल्दिए भने त विदेशी फिल्म किन चाहियो र ?’

यसपटक नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, वीरगञ्ज, राजविराज र लहान जस्ता नयाँ बजार नेपाली फिल्मले पायो । हिन्दी र भोजपुरी फिल्मको परम्परागत वर्चस्व देखिएका यी थलोमा यसपटक नेपालीले राम्रै पैसा छापे । ‘विराटनगर र नेपालगञ्जमा पहिला हिन्दी फिल्म मात्रै चल्थ्यो’ राठी भन्छन्, ‘अहिले नेपाली फिल्म भयानक चल्न थाल्यो । त्यहाँ अब हिन्दी फिल्म नभए पनि भैसक्यो ।’

वीरगञ्ज, जनकपुर, महेन्द्रनगर, राजविराज, लहान जस्ता थलोमा अब क्रमशः नेपाली फिल्म चलाउँदै दर्शकलाई बानी पार्नुपर्ने उनको मत छ । ‘विस्तारै हामीले यी ठाउँमा पनि बानी लगाउँदै जानुपर्छ । अन्त हाउसफुल भयो, जनकपुरमा चलेन भन्न चाहिं हुँदैन’ उनी भन्छन्, ‘विराटनगरमा मैले चलाउँदा ८, १० हजार मात्र सेयर आउँथ्यो ।’

पछिल्लो बक्स अफिस तथ्यांक अनुसार नेपालगञ्ज मोफसलको सबैभन्दा ठूलो बजार देखिएको छ । नारायणगढ, पोखरा, इटहरी, बुटवल मात्र होइन मध्यपहाडका तनहुँ, बागलुङ लगायत हल पनि यसपटक गुल्जार बने ।

विशेषगरी, ‘पूर्णबहादुरको सारंगी’को कमाइले यसपटक घरेलु फिल्मको कमाइमा ठूलै ‘पाराडाइम सिफ्ट’ देखिएको छ । यसपटक कमाइमा मोफसलले काठमाडौं उपत्यकालाई उछिनेको छ । यसअघि काठमाडौं उपत्यकालाई फिल्मको ६० देखि ७५ प्रतिशत बजार मानिन्थ्यो । यसपटक त्यो बजार उल्टिएको छ ।

दशैं–तिहारमा मोफसलको कमाइ ५५ प्रतिशत हुँदा काठमाडौं उपत्यकाको ४५ प्रतिशतको स्थितिमा छ । पछिल्लो समय लगातार मोफसलका ठूला मात्र होइन मध्यमस्तरका शहरमा समेत आधुनिक र सुविधासम्पन्न मल्टिप्लेक्स स्थापना भइरहेका छन् । ठूला मल्टिप्लेक्स चेन र व्यावसायिक कम्पनीले मोफसलमा अत्याधुनिक हल खोल्न होड गरिरहेका छन् ।

चितवनको म्यांगोज्योति हलले एकाबिहानै ४:४५ मा ‘पूर्णबहादुरको सारंगी’ देखाइरह्यो र प्रत्येक शो शतप्रतिशत अकुपेन्सी सहित प्रदर्शन भए । पोखरा पनि मध्यरातसम्मै गुल्जार बन्यो । ‘दर्शक जुन गतिमा आउनुभयो, यसले मोफसलमा अब फिल्मको बजार विस्तार भयो भन्ने देखाउँछ’ पोखरा मिडटाउन मल्टिप्लेक्सका संचालक निकेशले अनलाइनखबरसँग भने, ‘अब मेकरले सोही अनुसारका कन्टेन्टमा ध्यान दिनुपर्छ । राम्रा फिल्म बने दर्शक छन् र बजार छ ।’ चलचित्र संघका अनुसार मुलुकभर अहिले १५० हाराहारीमा हल सञ्चालनमा छन् ।

दिगोपनमा संशय

उछाल कमाइपछि कतिपय चलचित्रकर्मीले यसलाई सामाजिक सञ्जालमा ‘स्वर्णयुग फर्किएको’ भनेर पनि लेखे । दशकौंदेखि व्यापारको खडेरी भोगिरहेको घरेलु फिल्मका लागि यो एक किमिसले ‘स्वर्ण युग’ हो पनि । अझ कतिपय फिल्मकर्मीले यसलाई ‘न भूतो न भविष्यति’को रूपमा समेत व्याख्या गरे ।

पछिल्लो समय फिल्म स्टार होइन, कन्टेन्टको दममा चल्न थालेका छन् । कथा राम्रा भएका जुनसुकै फिल्मलाई दर्शकले माया गर्न थालेका छन् ।

तर, यही दशैं–तिहारमै रिलिज भएका अन्य तीन फिल्मले खराब व्यापार गरे । फेस्टिभलको साथ पाउँदा पनि ‘ज्वाइँ साब’, ‘सानो संसार’ सहित केही फिल्मले व्यापार गर्न सकेनन् । ‘स्वर्णयुग फर्किएको’ भनिहाल्न हतार हुनेछ किनभने यसको दिगोपनमा प्रश्न अझै बाँकी छन् ।

चलचित्र संघका प्रवक्ता सुरेन्द्र थापा नेपाली फिल्ममा ‘स्वर्णयुग’ आउन महिनामा रिलिज हुने चार फिल्ममध्ये कम्तीमा दुई फिल्म सुपरहिट हुनुपर्ने बताउँछन् । ‘दशैं–तिहारको व्यापारलाई हेरेर मात्र अघिपछि के हुन्छ ठ्याक्कै भनिहाल्ने परिस्थिति छैन । धेरै वर्षपछि मात्र यस्तो भएको हो’ उनी भन्छन्, ‘गोल्डेन इरा आउन फिल्म कन्टेन्टकै बलमा चल्नुपर्छ, फेस्टिभलका भरमा होइन । त्यो पनि महिनामा दुई फिल्म सुपरहिट हुनैपर्छ ।’

चाडबाडका फिल्म झुक्किएर चलेका हुन् कि दिगोपन हो भन्ने बुझ्न अझै समय लाग्ने उनको मत छ । ‘हामी अझै डरमा छौं । नेपाली फिल्ममा मात्र निर्भर हुनुपर्ने परिस्थिति बनिसकेको छैन । हामी ढुक्क हुन सकिरहेका छैनौं’ थापा भन्छन्, ‘यतिबेलाको महत्वपूर्ण प्रश्न दिगोपन हो । अहिले भनिएका कुरा हतारिएर भनिएका हुन् ।’

उनी दक्षिण भारतमा जस्तो फिल्म संस्कृति नेपालमा आए मात्र घरेलु फिल्मको विकास हुने तर्क राख्छन् । ‘साउथको मान्छेले साउथकै फिल्म हेर्छ । बलिउडको सलमान खानसँग मतलब हुँदैन’ थापा भन्छन्, ‘यहाँ साउथ संस्कृतिको विकास म जरूरी देख्छु ।’

दिगोपनको प्रश्न उठिरहँदा, चैतसम्म केही प्रतीक्षित घरेलु फिल्मको लाइनअप तयार छ । बलिदान, लाज शरणम्, एक्टर, ऊनको स्वेटर, जेरी अन टप, होस्टेल रिटन्र्स, वसन्त र पीताम्बर लगायत । ब्यानर, स्टार र फिल्मको नाम सुन्दा फिल्म हिट हुनसक्ने दाबी सबै निर्माताको छ तर, यसका लागि धैर्य गर्नुपर्छ र नतिजा देखाउनैपर्छ ।

‘पूर्णबहादुरको सारंगी’को जुन विस्फोटक कमाइ भयो, यो हेर्दा ‘दिगोपन’को प्रश्न अझै सान्दर्भिक हुन आउँछ । किनभने पछिल्लो समय फिल्म स्टार होइन, कन्टेन्टको दममा चल्न थालेका छन् । कथा राम्रा भएका जुनसुकै फिल्मलाई दर्शकले माया गर्न थालेका छन् ।

शिल्प झनै कमजोर

फिल्मको भव्य व्यापारसामु हामीसँग मन कुँडाउने तथ्य छ । त्यो हो– जुन फिल्म सुपरहिट बने, यी फिल्मको कथ्यशिल्प कमजोर दृश्यभाषामा उभिएका थिए । संसारभर फिल्म चल्ने दुईवटा आधारभूत पक्ष छन्– एउटा कन्टेन्ट (विषयवस्तु) र अर्को हो– कन्टेक्स्ट (सन्दर्भ) । पछिल्लो समय नेपालमा ‘कन्टेन्ट’ले हैन, ‘कन्टेक्स्ट’ले फिल्म चलिरहेका छन् । यसको पछिल्लो उदाहरण हुन् दशैं–तिहारमा हिट भएका फिल्म ।

‘पूर्णबहादुरको सारंगी’सँग ‘फादरहुड इमेज’को यस्तो एउटा तत्व थियो जुन नेपाली समाजको पछिल्लो पुस्ताले बाँचिरहेको समयको बलियो यथार्थ हो । फिल्म निर्देशक मनोज पण्डितको शब्दमा, ३० र ४० को दशकमा धेरै नेपाली पिताले सन्तानको भविष्यको लागि संघर्ष र त्याग गरे । त्यो त्यागप्रति पछिल्लो पुस्ताले फिल्म मार्फत उनीहरूप्रति सम्मान व्यक्त गरेको हो । ४० करोडको अंक पछाडि ती सन्तानको पिताप्रतिको प्रेम र नोस्टाल्जिया मिसिएको छ ।

‘१२ गाउँ’मा घरेलु फिल्मले खोजिरहेको ‘हिरोइज्म’को अवधारणा थियो । ‘छक्कापञ्जा ५’ चलिरहेको कमेडी फिल्मको ब्राण्ड थियो । यी ‘कन्टेक्स्ट’ फिल्मको कमाइमा सहायक बने ।

प्रश्न उठ्छ– के नेपाली फिल्मले सीमिततालाई स्वीकार्न थालेको हो ? नेपाली फिल्म भएकै कारण कमजोर क्राफ्टलाई पनि सहानुभूति दिइनुपर्ने ? के दर्शकले कलाको उपभोग अघि राष्ट्रियतालाई प्राथमिकता दिन थालेका हुन् ? दशैं–तिहारपछि यी प्रश्न आउन थालेका छन् ।

‘कन्टेक्स्ट’ यति शक्तिशाली हुन थालेको छ कि कहिले गीतको नाममा, कहिलेकाहीं भूगोल र जातीयको नाममा, कहिले स्टारको अन्तिम र पहिलो फिल्मको नाममा सहानुभूति बटुल्न थालेको देखिन्छ । यसले कलाको पक्षमा विमर्श हुन छाडेको छ । दृश्यभाषामा कमजोर क्राफ्ट बक्स अफिसमा हिट हुँदा, कलात्मक आयाम ओझेलमा पर्न थालेको छ । यो मनोवैज्ञानिक सिफ्ट अहिले चुनौतीको रूपमा देखिन्छ ।

अहिले संघर्ष शिल्पको विकासलाई लिएर हुनुपर्ने थियो । तर, ‘यति भए चलिहाल्दो रहेछ त’ भन्ने अवधारणा मानक बन्ने हो कि भन्ने जोखिम देखिन्छ । यदि यसो हो भने, हामी नेपाली फिल्मको यो जोखिमपूर्ण न्यारेटिभमा छौं । दर्शक आफैं सक्रिय भएर यही सीमिततालाई स्वीकार्न थाले भने, यसले घरेलु फिल्मको कथावाचन परम्परामा चुनौती हुनेछ ।

केही समयदेखि तार्किकभन्दा संवेदनात्मक फिल्म आउँदैछन् । इमोसन भनेको मान्छेको अन्तर–वैयक्तिक शक्तिशाली तत्व हो । दर्शकले सदियौंदेखि राजनीति र समाजबाट भोगिरहेको अनिश्चित र असुरक्षित इमोसनको माध्यमबाट फिल्ममा हेर्न खोजिरहेको देखिन्छ ।

दुई दशकदेखिको यो ट्रेन्डलाई नियाल्दा नेपाली फिल्मको कलात्मक आयाम २५ वर्षअघिकै स्थितिमा छ । तार्किक र वैचारिक फिल्मभन्दा अहिलेको लक्ष्य इमोसनमा मात्र केन्द्रित देखिन्छ । ‘इमोसनल म्यानुपुलेसन’ अहिलेको चुनौती हो ।

चाडपर्वमा जुन फिल्म हिट भए, यी फिल्ममा न बलिया प्लट, न ‘थिम्याटिक रिजोलुसन’ थिए । दृश्यभाषाको आधारभूत मनोविज्ञान निर्माण गर्ने तत्वबाट यी फिल्म टाढा थिए । दर्शकले तर्कमा हैन, सन्दर्भमा आफूलाई महसुुस गरे । नेपाली राजनीतिमा पछिल्लो समय जुन पपुलिज्म (लोकरिझ्याइँ) हावी छ, फिल्ममा पनि पपुलर कथावस्तु चल्न थालेका छन् । आवेग, इमोसन र पपुलारिज्म चलेको छ । तर, विचार कमजोर हुँदै गइरहेको छ ।

यतिबेला नेपाली फिल्म कथाभन्दा नायक र नायिकाको खोजीमा छ । नेपाली फिल्मलाई पहिला कथाभन्दा नायक चाहिएको छ । यसबारे फिल्म निर्देशक मनोज पण्डितको तर्क छ, ‘नेपाली फिल्मको कमजोर कथाको संरचनालाई किन मासले स्वीकारेको छ ? समाजमा मानिस बलियो हुनुको मुख्य कारण उसँग कथा भन्ने सामथ्र्य छ । तर हाम्रो समाज र फिल्म कथा खोजिरहेको छैन ।’

दशैं–तिहारका तीन फिल्म चलेको प्रति पण्डितको विश्लेषण छ, ‘पूर्णबहादुरको सारंगीमा कथावाचन र निर्देशकको कुरा कहीं छैन । कमाइसामु निर्देशक हराएका छन् । ‘१२ गाउँ’ एक्टरले किक राम्रो हान्यो भनेर चलेको छ । कथा होइन व्यक्ति चलिरहेको छ । फाइट, पुरानो लिगेसी र एक्टिङको कारणले राम्रो छ भने दर्शकले स्वीकारेको स्थिति हो ।’

पण्डित ‘इमोसनल म्यानुपुलेसन’को कारण नयाँ हिरो र कलाकारलाई केन्द्रमा राखेर फिल्म बनाउने क्रम अझै बढ्ने विश्लेषण गर्छन् । ‘तर, दोहोरिने क्रम बढ्दा कुनै विन्दुमा यो अवश्य रोकिनेछ’ उनको मत छ, ‘हरेक १०–१५ वर्षमा काँधहरू चेन्ज हुन थालेका छन् । तर, काँधबाट मस्तिष्कमा फिल्म पुग्न सकेको छैन ।’ उनले भने जस्तै, समाजको संवेदनामा मात्र केन्द्रित भएर फिल्म बनाउँदा सिक्काको अर्को पाटोमा फिल्म निर्माताको मानवीय र सामाजिक दायित्वको प्रश्न पनि रहिरहनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -