काठमाडौँ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले विपद् उत्थान पूर्वाधार निर्माण गरेर विपद्बाट हुनसक्ने जोखिम एवं क्षति न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।
जापानिज युनिभर्सिटी एलुम्नाई एसोसिएसन नेपाल (जुआन)द्वारा आज काठमाडौँमा आयोजित ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सम्बोधन : जापान र नेपाल भोगाइ’ विषयक गोष्ठीमा उहाँले विपद्बाट हुनसक्ने जोखिम एवं क्षति कम गर्नका लागि जनचेतना अभिवृद्धि, पूर्व तयारी, विपद् उत्थान पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
गत मनसुनमा काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न ठाउँमा बाढी र पहिराले धेरै सडक अवरुद्ध हुँदा निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग आकस्मिक रुटका रुपमा प्रयोग गरिएको स्मरण गर्दै राजदूत युताकाले विपद् उत्थान पूर्वाधार निर्माणबाट प्राकृतिक प्रकोपको समयमा राहत र उद्धारमा समेत सहयोग पुग्ने बताउनुभयो ।