Saturday, December 7, 2024
घरसमाचारजाडोमा ओठ किन फुट्छ, कसरी बच्ने ?

जाडोमा ओठ किन फुट्छ, कसरी बच्ने ?

जाडो मौसममा छाला सुक्खा हुन थाल्छ, त्यसैले छालालाई मोस्चराइज नगरेमा फुट्न थाल्छ । यस्तै समस्या हाम्रो ओठको छालामा पनि हुन्छ । चिसो मौसममा ओठ फुट्नु सामान्य कुरा हो, जसकारण धेरैलाई समस्या हुने गर्छ ।

यो समस्याबाट बच्न विभिन्न उपाय अपनाउँदा पनि धेरै पटक ओठ फुट्ने समस्या कायमै रहन्छ । कतिपयको त ओठ फुटेर घाउ हुने, रगत आउने, खाना खानै समस्या समेत हुने गर्छ ।

जाडोमा किन फुट्छ ओठ ?

जाडोमा हामी कम पानी पिउने गर्छौं । शरीरमा पानीको कमीले ओठ सुक्खा हुन्छ र सजिलै फुट्छ । जाडो मौसममा हावा सुक्खा हुने भएकाले शरीरले हावाबाट पाउने मोइस्चराइजर पाउँदैन । जसकारण ओठ बढी फुट्ने गर्छ ।

जाडोमा धेरै समय घाम तापेर बस्दा पनि ओठलाई सुक्खा गराउन सक्छ, किनभने सूर्यको किरणले ओठको नमी हटाउँछ र ओठ फुट्छ । जाडोमा ओठ सुक्खा हुँदा हामी बारम्बार छोइरहन्छौं वा चाट्छौं, जसकारण ओठ बढी सुक्खा हुन थाल्छ र फुट्छ ।  ओठमा जलन हुने टाँसिने वा कस्मेटिक उत्पादनको प्रयोग गरेमा पनि ओठ फुट्न सक्छ ।

ओठ फुटेमा के गर्ने ?  

ओठलाई नरम बनाउन पेट्रोलियम जेली प्रयोग गर्ने । यसको प्रयोगले ओठको नमी कायम रहन्छ र ओठ फुट्दैन ।

ओठलाई शरीरका अन्य अंगलाई जस्तै घामबाट बचाउनुपर्छ । त्यसैले एसपीएफ भएको लिप बाम प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले पराबैजनी किरणहरूबाट हुने क्षतिबाट पनि सुरक्षा प्रदान गर्छ ।

ओठ फुटेको ठाउँको छाला कोट्याउनु हुँदैन् । ओठ फुटेमा ओठमा छालाहरू सुक्खा भएर देखिने गर्छन् । ओठमा जमेका मृत छाला औंला वा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन, यसो गर्नाले घाउ हुनसक्छ ।

ओठ फुट्ने समस्याबाट बच्ने उपाय

शरीरका साथै छालालाई हाइड्रेटेड राख्न महत्त्वपूर्ण छ । छाला हाइड्रेसनका लागि मोइस्चराइज गर्ने, पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनु जरुरी छ । बारम्बार ओठ छुनु हुँदैन । फोहोर हातले ओठमा संक्रमण हुन सक्छ । साथै, ओठ थप सुक्खा हुनसक्छ ।

ओठमा सुक्खापन आउनासाथ धेरैले ओठमा जिब्रो घुमाउने गर्छन् । तर यस्तो गर्नु हुँदैन, किनकि यसो गर्नाले ओठ अझ बढी सुक्खा हुन्छ ।

जाडोमा चिसो हावा, घामको किरण र अन्य धेरै कारणले ओठ धेरै प्रभावित हुन्छ । त्यसैले बाहिर निस्कनुअघि ओठमा लिप बाम वा कुनै मोइस्चराइजर लगाउनुपर्छ । बाहिर चिसोमा निस्कनुअघि ओठलाई छोप्न मास्क लगाउने गर्नुपर्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -