Thursday, November 14, 2024
घरसमाचाररगत पाइएन ? परशुरामलाई सम्झिनुस्

रगत पाइएन ? परशुरामलाई सम्झिनुस्

२८ कात्तिक, काठमाडौं । सोमबार दिँउसो १ बजे । प्रसूति गृहको ब्लड बैंक अगाडि एक युवक कोल्डचेन बक्स बोकेर उभिएका छन् । उनको अनुहारमा निराशा र चिन्ताको बादल मडारिएको छ । ‘मेरो मान्छे जीवन र मृत्युसँग जुधिरहेको छ । मिर्गौला डायलाइसिसका लागि रगत चाहिएको छ’ उनी निराश स्वरमा भन्छन्, ‘कतै पनि रगत पाइएन ।’

यस्तो विपद्को घडीमा आशाको किरण बन्छन्, प्रसुति गृह ब्लड बैंकका इन्चार्ज परशुराम दाहाल । उनी आफ्नो डायरी पल्टाउँछन्, केही फोन नम्बरहरूमा सम्पर्क गर्छन् । केही मिनेटमै रक्तदाता फेला पार्छन्, र एक घण्टाभित्र रगत उपलब्ध हुने आश्वासन दिन्छन् ।

२०६५ सालदेखि प्रसूती गृहको रक्तसञ्चार विभाग प्रमुखको जिम्मेवारीमा रहेका परशुरामको यो दैनिकी हो ।

दिनरात उनको फोनको घण्टी बजिरहन्छ । कहिले हेलिकप्टरबाट आपतकालीन बिरामी आउँछन्, कहिले अन्य अस्पतालबाट रेफर भएका । तर परशुराम कहिल्यै थाक्दैनन् । उनको डायरीमा करिब ४०० नियमित रक्तदाताको नाम छ । सबैसँग व्यक्तिगत चिनजान गर्नुका साथै विश्वास जितेका उनले आग्रह गर्दा जुनसुकै बेला रगत दिन तयार हुन्छन् ।

उनको चुस्त व्यवस्थापनका कारण प्रसूति अस्पतालमा आएका बिरामीका आफन्तलाई रगत खोज्नुपर्ने बाध्यता छैन । उनको कार्यकालमा अस्पतालभित्र रगत नपाएर कसैले पनि ज्यान गुमाउनु परेको छैन, जुन परशुरामको जीवनको सबैभन्दा ठूलो उपलब्धी हो ।

‘बाबु, तिमी रगत दिन्छौ ? तिमीले दिएको रगतले कसैको ज्यान बच्छ’ विंस २०४४ सालमा काठमाडौंमा भएको एउटा साधारण रक्तदान कार्यक्रममा कसैको यो वचनले परशुरामको जीवनमा नयाँ मोड ल्याएको थियो । त्यो बेला १८ वर्षको उमेरमा उनले पहिलो पटक रगतदान गरे । मनमनै संकल्प लिए– म पनि यहि पेशामा लाग्छु ।

युवा उमेरमा प्रहरी र होटल व्यवसायतर्फ अवसरहरू थिए, तर उनको मन अस्पताल सेवातर्फ नै तानियो । ‘त्यतिबेला आफ्नो मान्छेले नदिएसम्म रगत पाउन नसकिने अवस्था थियो,’ उनले पुराना दिन सम्झिए, ‘बिरामीको सेवा गरौं भन्ने भावना जागेर यसतर्फ लागेँ ।’

२०४५ सालमा नेपाल रेडक्रस सोसाइटीबाट एक वर्षे ब्लड बैंकसम्बन्धी तालिम लिए । अर्को वर्ष २०४६ सालमा प्रसूती अस्पतालमा अस्थायी सेवामा प्रवेश गरे । चार वर्षपछि स्थायी भएका उनी २०६५ सालदेखि प्रसूति गृहको ब्लड बैंक इन्चार्ज छन् ।

उनको टिममा नौ जना सहकर्मी छन् । उनीहरू मिलेर रगत संकलनको अभियान चलाउँछन् । परशुराम र उनका टिमले हरेक वडाबाट रक्तदाताहरू जुटाउने प्रयास गर्दै आएका छन् । केही संस्थाहरूले सहयोग पनि गर्छ । यस प्रयासबाट प्रसुती अस्पताललाई चाहिने ५० प्रतिशत रगत उपलब्ध हुन्छ । अरु चाहिएको बेला रत्तदाता खोज्ने गरिएको छ ।

रगतको खोजीमा आइपुग्ने अरुलाई पनि सहयोग गर्छन् । त्यसैले प्रसुति गृहमा मात्र होइन, रक्तसञ्चार क्षेत्रकै एक विश्वसनीय नाम बनेका छन् । मध्यरातमा समेत आइपर्ने आकस्मिक अवस्थामा सहयोग गर्न तयार रहन्छन् । एक महिना अगाडी मध्यरातमा प्रसूति अस्पतालको रक्तसञ्चार विभागमा एउटा फोन आउँछ, ‘तत्काल रगत चाहियो ।’

काठमाडौंको एक निजी अस्पतालबाट रेफर भएर आएकी महिलाको अत्याधिक रक्तस्रावका कारण लागि मध्यरातमै रगत जुटाउनु पर्ने थियो । उनी तुरुन्तै सक्रिय भए एकपछि अर्को फोन नम्बरहरू डायल गर्दै गए । केही क्षणमै ७ जना रक्तदाता अस्पताल पुगे ।

रगत संकलन भएसँगै महिलाको उपचार सुरु भयो । ‘जति हामीले बिरामीमैत्री भएर काम गछौं, उहाँहरूले हामीप्रति राम्रो व्यवहार देखाउनुहुन्छ,’ उनी मुस्कानका साथ भन्छन्, ‘सरकारी अस्पतालमा पनि यस्तो सेवा पाइन्छ भनेर भनिरहँदा गर्व महसुस हुन्छ ।’

कोरोना महामारीको समयमा पनि उनको टिमले रगत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्यो । चाडपर्वका बेला र जाडो महिनामा पनि विरामीलाई चाहिने रगत जुटाउन सहज छैन । तर परशुराम दिन रात, चाडपर्व केही नभनेर सेवामा जुट्ने गरेका छन् ।

उनको अस्पतालमा दैनिक कार्य समय ६ घण्टा मात्र हो । तर उनी २४ घण्टा नै सेवामा होमिरहन्छन् । केही महिना अगाडीको घटना सम्झिँदै उनले भने, ‘घरमा सबै सदस्य बिरामी हुनुहुन्थ्यो, तर घरमा कोही आफन्त राखेर भएपनि अस्पतालबाट सेवा दिएँ ।’

१२/१३ असोजमा भारी वर्षासँगै काठमाडौं उपत्यका डुबानमा परेको थियो । तर बिरामीको रगत जाहो गर्न उनको टिम टिकाथली पुग्यो । दिउँसोसम्म ५२ पोका रगत जम्मा भयो ।

‘झरीको दिन कोही हिंड्न चाहँदैन, तर हामीले ज्यानको जोखिम मोलेर रगत संकलन गर्‍यौं,’ दाहाल भन्छन्, ‘काम गर्नुपर्छ भनेर भावना जगाउनुपर्छ, जसरी पनि सफल भइन्छ ।’

दाहालको सरकारी सेवा अवधि चार वर्ष बाँकी छ । अवकास पाउनु अगाडि ‘एन्टिबडी स्क्रीनिङ’ मेसिन स्थापना गर्ने चाहना छ । अहिले क्रसम्याच मिल्दा रगत दिने गरिएको छ । यो मेसिन जडान गर्दा रगतमा भएका गल्तीलाई तुरुन्तै पहिचान गर्न सहयोग गर्नेछ ।

‘हाम्रो शरीरमा धेरै एन्टिबडी छन् । तर अहिले ती सबैको परीक्षण हुँदैन,’ दाहाल स्पष्ट पार्छन्, ‘रगतबाट सर्ने रोगलाई न्यूनीकरण गर्न यस्तो मेसिन प्रयोग गर्न सकिन्छ ।’

यस्तै अस्पतालबाट हेमोडायलाइसिस, क्यान्सर उपचार जस्ता दीर्घकालिन रोगका बिरामीलाई पनि अस्पतालबाट नियमित रक्तदान गर्न मिलाउनका उनी लागि परेका छन् । ‘दीर्घकालिन रोग भएका बिरामीका आफन्त सधैं सास्ती खेप्नुपर्छ, दिनरात भौतारिनुपर्छ,’ दाहाल भन्छन्, ‘यस्ता बिरामीलाई केही सोच्नुपर्छ भनेर लागिरहेको छु ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -