गोली लागेका शिक्षक प्रेमबहादुर बम्जन । उनी खतरामुक्त छन् ।
२५ कात्तिक, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शिक्षक प्रेमबहादुर बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् ।
पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर बसेको डाँका समूहले पैसा लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका हुन् ।
मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका बम्जनमाथि घर फर्कने क्रममा आइतबार दिउँसो ३–४ जनाको अज्ञात समूहले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा बम्जनमाथि गोली हानेको थियो ।
बम्जन बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।
‘म र भाइ दिदीको घरमा पूजामा गएर मोटरसाइकलमा घर फर्किँदै थियौं । बाटो छेउमा बसिरहेको ४–५ जनाको समूहले रोकेर सिधै पैसा मागे । मैले पैसा छैन भनेर बाइक रोकेर ओर्लिन खोज्दाखोज्दै गोली हानिहाले’, घाइते बम्जनलाई उदृत गर्दै बीरगञ्जस्थित अस्पतालमा सँगै रहेका उद्धव घिमिरेले भने । घिमिरे शिक्षक बम्जनले पढाउने विद्यालयका पूर्वविद्यार्थी हुन् ।
गोली प्रहार गर्ने बित्तिकै अरु गाडीहरु पनि आइपुगेपछि डाँका समूह भागेको घिमिरेले बताए ।
रौतहटमा दिदीको घरमा पूजा सकेर चपुर बजार हुँदै सर्लाहीसँग सीमा जोडिएको बागमती नदी किनार भएर शिक्षक बम्जन घर फर्किँदै थिए ।
सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काका अनुसार ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको अनलाइनखबरलाई बताए ।
घिमिरेका अनुसार उनलाई थप उपचारको लागि चितवनस्थित भरतपुर वा काठमाडौं लैजाने विषयमा छलफल भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्का अनुसार बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गालामा चोट लागेको छ । बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उनका भाइ दिलबहादुर बम्जन बसेका थिए । उनी सकुशल छन् ।
‘गोली दाँतमा अड्किएर सर जोगिनुभएको रहेछ । वयोधा अस्पतालका चिकित्सकले सर खतरामुक्त हुनुहुन्छ भन्नुभएको छ । तर पनि थप उपचारका लागि भरतपुर वा काठमाडौं लैजाने छलफल भइरहेको छ’, उनले भने ।