Saturday, December 7, 2024
घरसमाचारनेपाली क्रिकेटमा उत्साह भर्दै जोन्टी रोड्स

नेपाली क्रिकेटमा उत्साह भर्दै जोन्टी रोड्स

२४ कात्तिक, काठमाडौं । जोन्टी रोड्स विश्वक क्रिकेटमा उत्कृष्ट फिल्डिङका लागि चर्चित नाम हो । उनलाई फिल्डिङका ‘बादशाह’ नै भन्ने गरिन्छ ।

सन् ९० को दशक र २००० को दशकको सुरुआती समय दक्षिण अफ्रिकाका लागि खेलेका उनले फिल्डिङमा विश्वमै तहल्का मच्चाएका थिए । उनै ५५ वर्षीय जोन्टी रोड्स नेपाली क्रिकेटसँग नजिकिएका छन् ।

यसअघि दुईपटक नेपाल आइसकेका जोन्टी नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको मेन्टर बनेर फेरि नेपाल आए । पोखरा एभेन्जर्सको जर्सी रिभेल गर्न तीन दिनका लागि नेपाल आएका जोन्टी पूरा समय व्यस्त रहे ।

बुधबार काठमाडौं आइपुगेर उनी सिधै पोखरा लागे । पोखरामा बिहीबार आयोजित राइड विथ जोन्टी र्‍यालीमा सहभागी भएर फेरि काठमाडौं फर्किए । बिहीबार साँझ अफिसियल जर्सी रेभेल कार्यक्रममा उपस्थित भए । टिमसँग रहे ।

शुक्रबार बिहानै कीर्तिपुरस्थित टीयु मैदानमा पुगेर टिमका खेलाडीहरु क्रिकेटको कला सिकाउन भ्याए । त्यसपछि हतारमा सोल्टी होटेल पुगे । अनलाइनखबरको आग्रहमा अन्तर्वार्ता दिन तयार भएका जोन्टी नेपाल प्रिमियर लिग, पोखरा एभेन्जर्ससँगको अनुबन्ध र नेपाली क्रिकेट अनि यसको विकासको बारेमा खुलेर बोले । निकै व्यस्त समयका बावजुत बीच पनि उनले आफ्नो महत्वपूर्ण समय उपलब्ध गराउँदै नेपाली क्रिकेटको बारेमा बोले ।

उनले पोखराको क्रिकेट सुविधा राम्रो रहेको र विश्वकै राम्रो मैदान रहेकोले आफू यो टिमसँग जोडिएको बताए । ‘किन पोखरा ? पोखराको क्रिकेट फ्यासिलिटी राम्रो छ । विश्वमै राम्रो मैदान छ । मैले पहिले पनि पोखरा मैदान भ्रमण गरेको थिएँ । यसको ठूलो सम्भावना छ,’ उनले भने,’यो एनपीएलको ठूलो पार्ट हो । भारतमा फ्रेन्चाइजले गर्दा क्रिकेट फ्यासिलिटी धेरै विकास भएको छ । एनपीएलमा पनि भविष्यमा होम एण्ड अवेको रुपमा काम गर्दा पोखराको स्टेडियम राम्रो सुविधा बन्न हुन्छ ।’

पोखराको मेन्टरको रुपमा आफूले सिकेको र जानेको क्रिकेटको ज्ञान खेलाडीलाई बाँड्ने काम हुने उनले बताए । ‘पूर्व खेलाडी र फिल्डिङ कोचको रुपमा मेरो अनुभवहरु खेलाडीलाई बाँड्ने काम गर्नेछु,’ उनले भने, ‘खेलाडीको अप्रोच र माइन्डसेटलाई परिवर्तन गर्ने मेन्टरको भूमिका हुनेछ ।’

एनपीएलमा धेरै विदेशी खेलाडीहरु अनुबन्ध हुनु राम्रो रहेको र त्यसबाट नेपाली खेलाडीहरु धेरै सिक्ने वअसर पाउने जोन्टीले बताए । ‘एनपीएलमा धेरै विदेशी खेलाडी आउनु धेरै राम्रो हो । युवा खेलाडीले मात्र नभई सिनियर खेलाडीले समेत धेरै सिक्न सक्छन्,’ जोन्टी भन्छन्, ‘क्यारेबियन, आइल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्ड्सबाट समेत खेलाडीहरु आउँदैछन् र भविष्यको क्रिकेटका लागि यो राम्रो संकेत हो ।’

जोन्टीले ६ वर्षअघि आफू नेपाल आउँदा र अहिलेको समयमा नेपाली क्रिकेटमा धेरै परिवर्तन भएको समेत बताए ।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको राष्ट्रिय टिमले खेल्ने खेलको संख्या बढेको छ । अन्तर्राष्ट्रिय लेभलमा कन्सिसन्टेन्ट हुन धेरै खेल चाहिन्छ । अझ घरेलु मैदानमा धेरै खेल हुँदा राम्रो हुन्छ ।’ जोन्टीले भने, ‘टी-२० स्टेडियम अयमिजङ स्टेडियममध्ये एक हो । घरेलु दर्शक जहिल्यै १२औं खेलाडीको रुपमा रहन्छ नेपालले टीयू मैदानमा खेल्दा । धेरै अन्तर्राष्ट्रिय खेल नेपालमा देख्न चाहन्छौं र धेरै फ्यासिलटी पनि चाहिन्छ ।’

जोन्टीले एनपीएलमा पोखराको लक्ष्य निश्चित रुपमा ट्रफी जित्नु रहेको बताए । तर, उनले ट्रफी जित्नु भन्दा पनि युवा खेलाडीको प्रदर्शन र उनीहरुको प्रदर्शनमा आउने सुधार महत्वपूर्ण हुने बताए । ‘प्रतियोगिताको अन्त्यमा नेपाल क्रिकेट बेटर स्टेजमा पुर्‍याउन सके सबैले जित्नेछन् ,’ उनले भने ।

उनले एनपीएल युवा खेलाडीको लागि राम्रो फ्ल्याटफर्म भएको बताए । यस्तै उनले नेपाली क्रिकेटमा धेरै क्षमता रहेको र आफू जुन ठाउँमा रहेपनि क्रिकेट खेलको विकास भएको हेर्न चाहने बताए । उनले भने, ‘नेपाली क्रिकेटमा धेरै ट्यालेन्ट छ ।यस खेलको विकास भएको हेर्न चाहन्छु ।’

भविष्यमा लामो समयका लागि कुनै भूमिकामा नेपाली क्रिकेटमा जोडिने योजना छ ? भन्ने प्रश्नमा जोन्टीले क्यान सचिव पारस खड्कासँग आफ्नो नम्बर रहेको र आफू नेपालबाट नजिकै बस्ने भन्दै जुनसुकै बेला सघाउने तयार रहेको बताए । ‘म क्रिकेटको साथी हो । म जुन ठाउँमा काम गरेपनि क्रिकेटको विकासको लागि सहयोग गर्नेछु । आशा छ भवियमा फेरि नेपाल फर्केनछु,’ उनले भने ।

यस्तै जोन्टीले नेपाली करिकेट वस्तो अवस्थामा हुँदा पनि समर्थकले साथ र सहयोग गरेको भन्दै एनपीएलमा पनि सबै टिमलाई समर्थन गर्न आग्रह गरे । ‘दरश्कको साथ सधैं महत्वपूर्ण हुन्छ । नेसनल टिम जुन अवस्थामा रहेपनि सपोर्ट गरेको छ । दर्शकहरु नेपाली क्रिकेटको स्टेकहोल्डर पनि हो । उनीहरुको पनि भूमिका हुन्छ,’ उनले भने, ‘एनपीएलमा आफ्नो टिम मात्र नभएर क्रिकेट खेललाई समर्थन गर्नुस् ।’

नेपाल आउने ठूलो नाम जोन्टी

जोन्टी नेपाल आउँदा नेपाली क्रिकेटमा अर्कै किसिमको माहोल बन्ने गर्छ । विशेषगरी उनको उत्कृष्ट फिल्डिङ कलाले खेलाडी र समर्थकहरु पनि आकर्षित हुने गर्छन् ।

यसअघि उनी २०७५ सालमा दुई पटक नेपाल आएका थिए । नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा भएको १० दिनको हाइ परफरमेन्स क्याम्पमा जोन्टीले नेपाल यू-१९, यू-१६ र महिला टिमहरु प्रशिक्षण दिएका थिए ।

यस्तै २०७५ साल माघमै धनगढीमा भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएलमा उनी ब्राण्ड एम्सबाडर बनेका थिए । सिवाईसी अत्तरिका मेन्टर समेत थिए ।

नेपालमा अहिलेसम्म आएका प्रशिक्षकमा सबैभन्दा ठूलो नाममध्येमा पर्छन् जोन्टी रोड्स। यसअघि श्रीलंकालाई विश्वकप जिताएका अष्ट्रेलियन डेभ वाटमोर नेपालको प्रशिक्षक बनेर आएका थिए ।

वाटमोर राष्ट्रिय टिमको प्रशिक्षक बनेर आएपनि फ्रेन्चाइज क्रिकेट वा क्लब हेर्ने गरी आएका मध्ये जोन्टी सबैभन्दा ठूलो नाम हुन् । अझ उनी मेन्टरको भूमिकामा छन् ।

पोखराले मुख्य प्रशिक्षकमा इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपर किंग्सको फिल्डिङ र सहायक प्रशिक्षक रहेका राजिव कुमारलाई अनुबन्ध गरेको छ । पोखराको टिममा कुलश भुर्तेल मार्की खेलाडी छन् भने सहायक प्रशिक्षकमा घरेलु रिजन प्रजु छन् ।

जोन्टीले खेलाडी जीवनपछि विभिन्न टिममा प्रशिक्षकको भूमिका रहेर काम गरिसकेका छन् । उनको समयमा फ्रेन्चाइज क्रिकेट आइसकेको थिएन । तर, उनी पछिल्लो समय कोचिङ भूमिकामा फ्रेन्चाइज क्रिकेटमै सक्रिए छन् ।

पछिल्लो पटक उनी आईपीएलमा लखनउ सुपर जायन्ट्सको फिल्डिङ प्रशिक्षक थिए । त्यसअघि उनले आईपीएलमै प१जाव किंग्स र मुम्बई इन्डियन्सको पनि फिल्डिङ प्रशिक्षक भएर काम गरेका थिए । उनले दक्षिण अफ्रिकाको पनि फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे ।

सन् १९९८ मा दक्षिण अफ्रिकाले आईसीसी नकआउट ट्रफीको उपाधि जित्दा जोन्टी त्यस टिमको सदस्य थिए । सिनियर क्रिकेटमा अफ्रिकाले जितेको त्यो नै एक मात्र उपाधि हो ।

सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट खेलेका जोनाथन निल ‘जोन्टी’ रोड्सले ५२ टेष्ट र २४५ ओडीआई म्याच खेलेका छन् । सन् २००३ को विश्वकप दौरान घाइते भएपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

सन् १९९२ को वानडे विश्वकपको दौरान पाकिस्तानका इन्जमाम उल हकलाई जोन्टीले रनआउट गरेका थिए । त्यो निकै चर्चित बनेको थियो । त्यही रनआउटको कारण चर्चित बनेका रोड्सलाई त्यति बेला एउटा पत्रिकाले लेखेको थियो, ‘के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टी हो।’

उनले हावामा उड्दै गरेको उक्त रन आउट विश्व क्रिकेटमा उत्कृष्ट क्षणमा पर्छ । त्यसैले उनलाई विश्वकै नम्बर वान फिल्डर मानिन्छ ।

तस्बीर: आर्यन धिमाल

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -