Wednesday, November 13, 2024
घरसमाचारकोरला नाकामा खुल्यो अध्यागमन कार्यालय (तस्वीरहरू )

कोरला नाकामा खुल्यो अध्यागमन कार्यालय (तस्वीरहरू )

१४ कात्तिक, पोखरा । चीनसँग जोडिएको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय खुलेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार बिहान नाकामा खुलेको कार्यालयको उद्घाटन गरेका छन् ।

लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाकामा बनाइएको एक तले अध्यागम कार्यालय र सशत्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको गृहमन्त्री लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव कोकर्णमणि दुवाडीसहित उद्घाटन गरे ।

अध्यागमन कार्यालय नाकामै सञ्चालनमा ल्याइएको छ भने लोमान्थाङ–१ छोसेर नेचुङमा २ तले ५५ कोठे भवन बनाइएको छ ।

नेचुङमै यसअघिदेखि नै भन्सार कार्यालय सञ्चालनमा छ । नगन्यमात्रामा स्थानीयमात्र किनमेलका लागि जाने भएकाले त्यहाँबाट सामान्य राजस्व उठ्ने गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायतको टोली पनि कोरला पुगेको छ ।

गृहमन्त्री लेखक र गण्डकीका मुख्यमन्त्री पाण्डे बिहान हेलिकप्टरमार्फत कोरला नाका पुगेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अहिले व्यापारका लागि स्थानीयमात्र चीनतर्फ जाने गरेका थिए ।

‘अध्यागमन कार्यालय खुलेको छ, अब अरु नागरिक पनि चीनतर्फत जानका लागि सहज हुने छ, त्यसको सुरुवात केही दिनमा हुने छ,’ सीडीओ भुसालले अनलाइनखबरसँग भने, ‘नेपाल सरकारबाट गत साल नाकामा १ हजार रोपनी जग्गा अध्यागमन कार्यालयका लागि आएको थियो ।’

गण्डकी प्रदेश सरकारको करिब ५० लाख लगानीमा एसवाई प्यानल प्रयोग गरेर अध्यागमन कार्यालय निर्माण भएको भुसालले जानकारी दिए ।

गत वर्ष कोरलानाकामा अस्थायी रुपमा इमिग्रेसन कार्यालय स्थापना गर्न गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरी ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो ।

२ वर्षअघि निर्माण सुरु भएर झण्डै साढे ६ करोड रुपैयाँको लागतमा नेचुङमा २ तलाको ५५ कोठे बीओपी भवन निर्माण भएको छ ।

अहिलेसम्म चीनले नै उपलब्ध गराएको कन्टेनरमा अध्यागमन लगायतका कार्यालयको काम हुँदै आएको थियो । चीनतर्फ तिब्बती क्षेत्र लिजीमा भने ठूला–ठूला संरचनासहितको भव्य सहर नै निर्माण भइसकेको छ ।

चीनमा किनमेलका लागि जान १२ सयभन्दा धेरै स्थानीयलाई पास उपलब्ध गराइएको र उनीहरु व्यापारका लागि आउ–जाउ गरिरहने जिल्ला प्रशासन कार्यालय मुस्ताङको भनाइ छ ।

चीनतर्फ भव्य सहर नै बनिसक्दा पनि नेपालतर्फ सुनसानजस्तै थियो । अध्यागमन कार्यालय निर्माण भए पनि अब क्यारेन्टाइन निर्माणको काम बाँकी नै रहेको भुसालले जानकारी दिए ।

व्यापारका लागि चीन तयार भइसकेको भए पनि नेपालतर्फ नाका केही टेन्ट टाँगेर खुद्रे पसल सञ्चालन हुँदै आइरहेको छ । नकामा संरचना निर्माणका लागि डिपिआरसमेत तयार भएको भुसालले जानकारी दिए ।

नाका उद्घाटन गर्न पुगेका गृहमन्त्री लेखकलाई मुस्ताङका ५ वटै स्थानीय तहले ज्ञापन पत्र बुझाएका छन् । सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेकाले यो व्यवस्था हटाउन उनीहरुले माग गरेका हुन् ।

निषेधित क्षेत्र प्रवेशमा विदेशी पर्यटकले ५ सय डलर तिर्नुपर्दा पर्यटन क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेको स्थानीयको भनाइ छ । बोर्डरका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको दरबन्दी रहेको सिडिओ भुसालले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -