Wednesday, November 13, 2024
घरसमाचारसरकारलाई सुप्रिमका बचतकर्ताको प्रश्न : ८६ करोड बचत फिर्ता कहिले पाउँछौं  ?

सरकारलाई सुप्रिमका बचतकर्ताको प्रश्न : ८६ करोड बचत फिर्ता कहिले पाउँछौं  ?

१३ कात्तिक,बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनबारे  अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरूको ८६ करोड बढी बचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन  भएपछि अनुसन्धान  प्रक्रिया अघि बढेको हो ।

प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको छ तर सहकारी पीडितहरूको मुख्य सरोकार आफ्नो बचत कहिले फिर्ता हुन्छ भन्नेमा छ । सरकारले अनुसन्धान गर्नु सकारात्मक पाटो भएपनि आफूहरूको बचत छिटो फिर्ता हुनुपर्ने माग उनीहरूको छ ।

गत ३ वैशाखमा प्रहरीले सहकारीको रकम ठगी गर्ने  २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । दुई हप्ताअघि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी सहित १२  जनालाई जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पुर्जी जारी हुनेको संख्या ४० पुगेको छ ।

जोशीलाई पोखराबाट रुपन्देही ल्याएर १३ घण्टाको बयानपछि पुनः पोखरा नै फर्काइएको छ ।

२८ जना मध्ये  ८ जना पक्राउ परेका छन् । जसमा  २ जना कास्की र एक जना रुपन्देही कारागारमा छन् भने ५ जना धरौटीमा रिहा भएका छन् ।

जीबी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार छन् । सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसी सहित १९ जना फरार छन् ।

लामिछाने र जोशीसहित पछिल्लोपटक पक्राउ पुर्जी जारी हुनेमा रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जीबी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बमजन, विज्ञान राई र सुरक्षा अधिकारी छन् ।

प्रहरीले ती सबैलाई अनुसन्धानको लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी  विजय  पण्डित बताउँछन् ।

सुप्रिम सहकारीमा बचत रकम डुब्नेहरूमा सार्वजनिक शौचालय सफा गर्ने, हातमा फलफूल लिएर बसमा चढेर बेच्ने, ठेलामा व्यवसाय गर्ने, साना तथा मझौला व्यवसाय गर्नेहरू छन् ।

‘सरकारले अनुसन्धान गरेको छ, केही मान्छे पक्राउ गरेको छ,यो राम्रो हो । तर, हामीलाई मान्छे पक्राउ पर्नु र नपर्नुमा त्यति सारो चासो छैन, हाम्रो चिन्ता डुबेको बचत कहिले हात पर्छ भन्नेमा छ?’ बुटवलका देवीलाल भट्टराईले भने, ‘छोरा-छोरीको पढाइ, बिहेबारी, दुःख बिमारमा काम लाग्ला भनेर खाइनखाइ जम्मा गरेको ६५ लाख रुपैयाँ रकम डुबेको तीन वर्ष भयो, सरकारले कहिले फिर्ता गर्ने हो ? हामीलाई त्यो जवाफ चाहिएको छ ।’

अर्की पीडित चिना थापाले छोरालाई विदेश पठाउने उद्देश्यले व्यवसाय धितो राखेर लिएको ऋण र बैंकमा भएको रकम निकालेर ४५ लाख जम्मा गरेको रकम डुब्दा छोराको भविष्य अन्योलमा परेको र आफू डिप्रेसनको शिकार भएको गुनासो गरिन् ।

‘ऋण धन गरेर जम्मा गरेको रकम डुब्दा रातमा निद्रा छैन, दिनमा भोक छैन, पैसा डुबेपछि  घरबार बिग्रने अवस्था छ, कतिपय डिप्रेसनको शिकार बनेका छन्,’ थापाले प्रश्न गर्दै भनिन्, ‘सरकारले बाढी पहिरो, भूकम्प जस्ता विपत्तिमा राहत रकम दिने, घर बनाइदिने जस्तै सहकारी पीडित यति ठूलो समस्यामा पर्दा पनि किन बोल्दैन ?

दलका नेताहरूले एउटै व्यक्तिलाई सरकारमा नहुँदा निर्दोष छ भन्ने, सरकारमा हुँदा कारबाही गर्ने गरेको देखिँदा सरकार पीडितको बचत फिर्ता गर्नेमा भन्दा आफ्नो स्वार्थ अनुसार राजनीतिको रोटी सेक्न लागेको हो कि भन्ने शंकाले बचत फिर्ता पाइँदैन कि भन्ने चिन्ता लागेको थापाले तर्क गरिन् ।

‘आन्दोलन गरेर, मिडियामा बोलेर पनि बचत फिर्ता पाइन्छ भन्ने विश्वास लाग्न छाड्यो, म आफैं डिप्रेसनमा गइसकें,’ थापाले भनिन्, ‘सरकारले जो-जो माथि अनुसन्धान गर्ने हो गरोस्, तर हाम्रो बचत जसरी पनि फिर्ता गर्छौं भनेर सरकारले कहिले भन्ने हो ?’

‘वैशाखदेखि हामी आन्दोलनमै छौंं, हाम्रो बचत फिर्ताका लागि राजनीतिक दल, सांसद र मन्त्रीहरूलाई पनि जानकारी गरायौं, तर कुनै सुनुवाइ भएको छैन,’ सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले भने, ‘हाम्रो मुख्य सरोकार सरकारबाट बचत फिर्ताको सुनिश्चितता हुनुपर्छ भन्ने हो, नभएसम्म चरणबद्ध आन्दोलन गर्छौं ।’

मुख्य राजनीतिक दल र तिनका नेताहरु प्रतिपक्षमा हुँदा सहकारी पीडितका पक्षमा चर्का कुरा गर्ने तर सरकारमा गएपछि चुप लाग्ने परिपाटीले आफूहरू डुबेको रकम फिर्ता हुनेमा ढुक्क हुन नसकेको नेपालले आशंका गरे ।

सहकारीका संस्थापक राई फरार छन् भने अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् ।  पूर्वसचिव दीपेशकुमार पुन सहित ६ जना धरौटीमा रिहा भएका छन् ।

बुटवलको सुप्रिम सहकारीबाट छविलाल जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट  १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा गएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा इलाका प्रहरी कार्यालय, बुटवलले २ वैशाख २०८१ मै अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवदेन बुझाएको थियो । प्रतिवेदनका आधारमा जिल्ला अदालत, रुपन्देहीमा २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

१ हजार ८३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ अनियमितता भएको प्रकरणको मुद्दा अदालत लैजाँदा तत्कालीन गृहमन्त्री लामिछानेलाई भने जोगाइएको थियो ।

अदालतसम्म पुगेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको भनिएको छ । यद्यपि, अनुसन्धान अधिकृतहरुले ती रवि लामिछाने को हुन् भन्ने नखुलेकाले प्रतिवादी नबनाइएको जिकिर गरेका थिए ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी रहेको र नयाँ जानकारी केही नभएको बताए ।

‘फरार रहेकाहरुको खोजी जारी छ, पक्राउ पुर्जी जारी भएकाहरूको बयान लिइन्छ,’ राठौरले भने, ‘पूर्वगृहमन्त्री लामिछानेको हकमा कास्कीमा अनुसन्धान जारी रहेकाले त्यहाँको सकिएपछि के गर्ने भन्ने थाहा हुन्छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -