काठमाडौँ । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश आमने सामने हुँदै छन् ।
फाइनल खेल अघि मङ्गलवार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बङ्गलादेश विरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन् ।
सन् २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनि रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रुपमा व्याख्या गरिन् ।
नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ । २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रष्ट पारे । सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमीकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे ।
यसैगरी, बङ्गलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।