काठमाण्डौ/ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर दाह संस्कार गरिएपछि जिल्लाका सिडियो र एसपीको जिम्मेवारी खोसिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ताहरू विरोधमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदिमा दाहसंस्कार गरेपछि गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारी खोसेको हो।
घटनामा सुरक्षा निकाय र चितवनको प्रशासनको कमजोरी देखिएको भन्दै सीडीओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको जिम्मेवारी खोसिएको हो ।
प्रहरी प्रधान कार्यालयले चितवनका एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्यूरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो ।
आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रिमालको कार्यक्षमतामाथि प्रश्न उठेपछि अवधि नपुग्दै सरुवा गरिएको हो ।
सामान्यतया इन्चार्ज पाएको मितिले एक वर्ष नपुग्दै सरुवा नगर्ने चलन छ । गत फागुनमा मात्रै एसपी रिमालले चितवनको कमाण्ड सम्हालेका थिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव गत जेठ २३ गतेदेखि चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएकोमा ४ महिना नपुग्दै उनी मन्त्रालय तानिएका हुन् ।
गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर यादवलाई मन्त्रालय तानेका हुन् ।

















