काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँ अन्तरगत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सहभागी हुनुभएको छ ।
समारोहमा प्रथम महिला सबिता पौडेल पनि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा नेपाली सेनाले विभिन्न सैनिक परेड प्रदर्शन गरेको थियो ।

सो अवसरमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । राष्ट्रिय गीत र विभिन्न धुन प्रस्तुत गरिएको थियो । साथै नेपाली सेनाले राइफलबाट लहरे, एकठठा र तोपबाट पनि आकर्षक बढाइँ प्रस्तुत गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।

















