२०८२ माघ २९ गते, बिहीबार २२:२२

लुम्बिनीको पहाडमा सम्पत्ति बेवारिसे, रूपन्देहीमा मान्छेको थुप्रो

२३ असोज, बुटवल। अर्घाखाँची, छत्रदेव गाउँपालिकाको छत्रगन्जका वासुदेव पन्थीको परिवार गाउँमा हुनेखाने मध्येमा पथ्र्यो । तम्घास बजार नजिकै रहेको उनको गाउँमा प्रशस्त खेतबारी थियो । उनी सरकारी जागिरे थिए ।

परिवार चलाउन कुनै अभाव थिएन । तर उनको परिवार बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा मणिग्राम आयो । तराई झर्ने भएपछि उनको त्यहाँको घर–जग्गा बिक्री भएन । भाइलाई जिम्मा दिएर चित्त बुझाए ।

गुल्मी मुसिकोट नगरपालिका मजुवाका टीकाराम गौतम पनि गाउँमा राम्रै आर्थिक हैसियतका थिए । सामाजिक प्रतिष्ठा थियो । परिवारलाई वर्षभरि खान पुग्ने खेतबारी थियो । पशु–चौपाया थिए । घर पुग्न यातायातको समस्या पनि थिएन ।

अनि छोरा, बुहारी जापानमा रोजगारीमा थिए । उनलाई गाउँमै बस्दा पनि नपुग्ने केही थिएन । तर, उनी बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा झरे । गुल्मीको घर र खेतबारी सस्तैमा बिक्री गर्छु भन्दा पनि बिक्री भएन । अहिले त्यत्तिकै बेवारिसे छ ।

यी प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । अर्घाखाँची र गुल्मीका पन्थी जस्तै पाल्पा, प्युठान, रोल्पा, गण्डकीको बाग्लुङ र स्याङ्जालगायत जिल्लाबाट रूपन्देही बसाइँ सरेर आउनेको लहर नै छ । पहाडी जिल्लाबाट बसाइँसराइ गरेर आउने बढ्दो क्रमले रूपन्देहीको जनसंख्या अस्वाभाविक रूपले बढेको छ ।

पछिल्लो एक दशकमा रूपन्देहीको वार्षिक जनसंख्या वृद्धिदर २.३३ छ । लुम्बिनी प्रदेशमा ६ जिल्ला पहाड र ६ जिल्ला तराईमा पर्छन् । २०५८ सालको जनगणना अनुसार रूपन्देहीको जनसंख्या ७ लाख ८ हजार ४१९ रहेकोमा अहिले ४ लाखभन्दा बढी वृद्धि भएर ११ लाख २१ हजार ९५७ पुगेको छ ।

२० वर्षअघि १ लाख १७ हजार ८५६ परिवार संख्या रहेको रूपन्देहीमा २०७८ को जनगणना अनुसार परिवार संख्या दोब्बरले बढेर २ लाख ३८ हजार ३२० पुगेको छ । रूपन्देहीको जनघनत्व पनि प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा उच्च (८२५) रहेको छ ।

जनसंख्या धेरै भएका जिल्लाहरूमा रूपन्देही नेपालमै तेस्रो स्थानमा छ । नेपालको कुल जनसंख्याको ३.८५ प्रतिशत जनसंख्या रूपन्देही जिल्लामा मात्रै छ । नेपालमै उच्च वार्षिक जनसंख्या वृद्धिदर हुने जिल्लामा रूपन्देही दोस्रो स्थानमा छ । यहाँको वार्षिक जनसंख्या वृद्धिदर २.३३ प्रतिशत छ ।

पहाडी जिल्लाको जनसंख्या ऋणात्मक हुँदा लुम्बिनी प्रदेशको कुल जनसंख्याको २२ प्रतिशत हिस्सा रूपन्देहीमा मात्रै केन्द्रित छ । प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । जहाँको जनसंख्या वृद्धिदर क्रमशः –१.२३, –१.०५ र –०.६१ प्रतिशत छ ।

यी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको ठूलो हिस्सा रूपन्देहीमै रहेको जनसंख्या विषयका अध्यापक युवराज कँडेल बताउँछन् । अन्य पहाडी जिल्ला रोल्पा, रुकुमपूर्व, प्युठान लगायत जिल्लाको जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम छ ।

तराईका अन्य जिल्लाहरू बाँकेको १.९७, दाङ १.९२, कपिलवस्तु १.७०, पश्चिम नवलपरासी १.४७ र बर्दियाको वार्षिक जनसंख्या वृद्धिदर ०.७२ प्रतिशत छ । ५१ लाख २२ हजार ७८ जनसंख्या रहेको लुम्बिनी प्रदेशको औसत वार्षिक जनसंख्या वृद्धिदर १.२४ प्रतिशत छ । अघिल्लो दशकको तुलनामा पछिल्लो दशकमा सात प्रदेशमध्ये लुम्बिनी सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको प्रदेश बनेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पहाडी ६ जिल्लाले प्रदेशको कुल जनसंख्याको २३.५ प्रतिशत र तराईका ६ वटा जिल्लाले ७६.८ प्रतिशत जनसंख्या ओगटेको छ । लुम्बिनीका पहाडी क्षेत्रका सबै जिल्लाको जनसंख्या र रूपन्देही जिल्लाको जनसंख्या करिब बराबर छ ।

मलेरिया नियन्त्रण हुनु अघिसम्म रूपन्देहीको बुटवल प्रसिद्ध बजार भए पनि जिल्लालाई पहाडी जिल्लाका बासिन्दाले बसोबासको लागि उपयुक्त थलो ठानेका थिएनन् । २०३० को दशकसम्म पनि रूपन्देहीमा पहाडी समुदायका बस्तीहरू निकै कम थिए ।

तर, मलेरिया नियन्त्रण तथा सिद्धार्थ राजमार्ग बनेपछि उच्च शिक्षा आर्जन र रोजगारीका लागि स्याङ्जा, पाल्पा, गुल्मी, पर्वत, बाग्लुङबाट मानिसहरू रूपन्देही झर्न थाले । पछि महेन्द्र राजमार्ग बुटवलबाट कपिलवस्तुतर्फ विस्तार हुँदै जाँदा अर्घाखाँची, प्युठानका मानिसहरू पनि रूपन्देही झर्ने क्रम तीव्र भएको हो ।

रूपन्देही झरेका तथा भारतीय र ब्रिटिश सेनामा भएकाहरू रूपन्देहीका विभिन्न स्थानमा बस्न थालेपछि रूपन्देही जिल्लामा पहाडी समुदायका बस्तीहरू बढ्न थालेका जनसंख्याका जानकार कँडेलको विश्लेषण छ ।

‘पहाडी क्षेत्रमा माओवादी संघर्ष चर्किंदै गएपछि रूपन्देहीमा पहाडी जिल्लाहरूबाट थेग्नै नसक्ने संख्यामा मानिसहरू आउन थालेका थिए । ती मानिसहरू रूपन्देहीमा नै स्थायी रूपमा बसिरहेका छन्’ कँडेल भन्छन्, ‘मधेश आन्दोलनले तराईका अन्य भागमा असुरक्षित महसुस गरेका मधेशी समुदायले समेत रूपन्देहीलाई सुरक्षित ठानेकोले पनि रूपन्देहीमा जताततैबाट मानिसहहरू बसाइँ सर्दै आइरहेका छन् ।’

शिक्षा, स्वास्थ्य, रोजगारी र ‘कनेक्टिभिटी’ ले यो जिल्लालाई रोजाइको जिल्ला बनाएको कँडेलको ठम्याइ छ । भारतका ठूला शहरसम्मको सहज पहुँच, नेपालका सबै स्थानमा सहज पहुँच, सबै विषयहरूमा विश्वविद्यालय तहको शिक्षा, अस्पतालको सुविधा र पर्यटन उद्योगको विकासले पनि रूपन्देहीमा मानिसहरू आकर्षित भइरहेका छन् ।

प्रशस्त उद्योग, व्यवसाय भएकाले रोजगारी पाइने, प्राकृतिक विपद्को कम जोखिम र शान्तिसुरक्षा पनि रूपन्देहीमा जनसंख्या बढ्नुको आकर्षणका पक्ष हुन् । विगतमा भौतिक सुविधाको कमि र माओवादी द्वन्द्वले गर्दा बसाइँ सरेर तराई आउने गरिएकोमा अहिले पहाडी क्षेत्रमा अधिकांश भौतिक सुविधाहरू पुगेका छन्, तर पनि मानिसहरू पहाडमा नअडिएको कँडेलको बुझाइ छ ।

गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका कुल परिवारमध्ये ६१ प्रतिशत भन्दा बढी परिवारका कम्तीमा एक जना सदस्य देश बाहिर छन् । कँडेलले भने, ‘परिवारमा रेमिट्यान्स आउन थालेपछि बाँकी सदस्यहरू पनि विभिन्न बहानामा पहाड छोडेर तराई आउन थालेका छन्, अचेल परिवारका सदस्यले कमाएको रकम पहाडमा जान छोडेको छ, तराईमा सानोतिनो घडेरी किनेर घर बनाएर बस्ने सपना पहाडमा बस्ने धेरैले पालेका छन् ।’

कँडेल भन्छन्, ‘पहाडमा माओवादी द्वन्द्वको असर अझै पनि कहीं न कहीं छ । यसले गर्दा द्वन्द्वको कारण तराई झरेकाहरू फर्केर पहाड जान चाहँदैनन्, पहाडी क्षेत्रमा बारम्बार दोहोरिने भूक्षय, बाढी, डढेलो तथा आगलागी र खानेपानी समस्याले पनि मानिसलाई तराईतर्फ धकेलिरहेको छ ।’

विस्तारै धेरै परिवार बसाइँ सरेपछि गाउँमा मर्दापर्दा काम लाग्ने मान्छे नरहेकोले बाँकी परिवार पनि बाध्यताले थातथलो छोडिरहेको उनको बुझाइ छ । पछिल्लो समयमा पहाडी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व बढिरहेको छ । यसले पनि गाउँ छाड्न प्रेरित गरिरहेको कँडेलको बुझाइ छ ।

बसाइँसराइले प्रदेशको जनसांख्यिक संरचनामा अस्वाभाविक परिवर्तन मात्रै ल्याएको छैन; थुप्रै आर्थिक, सामाजिक, राजनैतिक र पर्यावरणीय समस्या समेत बढाइरहेको कँडेलले औंल्याए ।

‘जनसंख्या वितरणको यो असन्तुलनलाई व्यवस्थित गर्ने गरी नीति, कार्यक्रम र योजना सञ्चालन नगर्ने हो भने भविष्यमा यसले निम्त्याउने समस्या विकराल हुनसक्छ’ कँडेलले भने, ‘सडक, विद्युत् र बजार सुविधा भएका पालिकाहरूमा नै जनसंख्या घट्नु पहाडी जिल्लाको लागि मात्र नभएर प्रदेशकै सन्तुलनका लागि अनिष्टकारी संकेत हो ।’

सरकारले बढ्दो बसाइँसराइ रोकेर जनसांख्यिक सन्तुलन मिलाउने गरी स्पष्ट नीति, योजना र कार्यक्रम बनाउन चुक्दा पहाडी जिल्लाका उर्बर भूमि रित्तिने र तराई र शहरी क्षेत्रमा जनसंख्या अस्वाभाविक वृद्धि हुने जनसंख्या विज्ञ प्राध्यापक दुर्गा भुसालले बताए ।

‘पहाडी जिल्लाहरूबाट बढ्दो बसाइँसराइले त्यहाँका खेतीयोग्य जमिन बाँझो रहँदा, पशुपालन घट्दा खाद्यान्न, तरकारी, फलफूलको आयात र व्यापार घाटा बढेको छ’ भुसालले भने, ‘पहाडी जिल्लामा बसाइँसराइ छिटै नियन्त्रण नगर्ने हो भने समग्र देशको आर्थिक विकास असन्तुलित हुने मात्र होइन, पहाडमा राज्यको ध्यान नजाँदा भविष्यमा ठूला प्राकृतिक विपत्तिहरू निम्तिने जोखिम हुन्छ ।’

न्यून लैंगिक अनुपात

प्रदेशमा महिलाको जनसंख्या पुरुषको भन्दा धेरै भएको छ । प्रदेशको जनसंख्याको लैंगिक अनुपात ९२.०१ रहेको छ, जुन नेपालका अन्य प्रदेशको तुलनामा पाँचौं स्थान हो । तराईका जिल्लाहरूमा लैंगिक अनुपात राष्ट्रिय औसतकै हाराहारीमै भए पनि पहाडी जिल्लाहरूमा महिलाको अनुपातमा पुरुषको जनसंख्या कम छ ।

प्युठान जिल्लाको लैंगिक अनुपात प्रदेशमै सबैभन्दा कम (८१) रहेको छ । लैंगिक अनुपात ८५ भन्दा कम हुने जिल्लाहरूमा गुल्मी र अर्घाखाँची रहेका छन् भने दाङ बाहेक अन्य तराईका जिल्लाहरूको लैंगिक अनुपात ९५ भन्दा माथि रहेको छ । प्रदेशका पहाडी जिल्लाका पालिकाहरूमा अधिकांश पालिकाहरूको लैंगिक अनुपात ८५ भन्दा कम रहेको देखिन्छ ।

प्रदेशमै सबैभन्दा कम लैंगिक अनुपात हुने पालिकाहरूमा प्युठानको स्वर्गद्वारी नगरपालिका छ, यहाँ प्रति सय महिलामा पुरुषको अनुपात ७३ मात्रै छ । जनगणनाले पहाडी बस्तीहरूमा पुरुषको संख्या निरन्तर घट्दै गएको प्रस्ट देखाएको छ । यसले भविष्यमा पहाडमा आर्थिक, सामाजिक समस्या गम्भीर बन्ने संकेत गरेको छ ।

ठूलो संख्या विदेशमा, प्रजनन् दर पनि उच्च

प्रदेशका ४ लाख २० हजार ९०६ परिवारबाट कम्तीमा एक जना विदेश गएका छन् । यहाँका ३ लाख ६७ हजार ६७० पुरुष र ५३ हजार २३६ महिला विदेशमा छन् । यो संख्या विदेश गएका नेपालीको जनसंख्याको १९.२१ प्रतिशत हो । विदेशमा कम्तीमा एक सदस्यहरू रहेका परिवार भएका जिल्लाहरूमध्ये रूपन्देही पाँचौं स्थानमा छ ।

लुम्बिनी प्रदेशको ५५.२ प्रतिशत जनसंख्या नगरपालिका र ४८.८ प्रतिशत जनसंख्या गाउँपालिकामा रहेको छ । नेपालमै धेरै जनसंख्या गाउँपालिकामा बसोबास गर्ने प्रदेशमा लुम्बिनी पहिलो स्थानमा रहेको छ ।

पछिल्लो दशकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १.२४ प्रतिशत रहेको छ । पछिल्लो दशकमा मात्रै लुम्बिनी प्रदेशमा ६ लाख २२ हजार ८०६ मानिस थपिएका छन् ।

जनसंख्या वृद्धिदर उच्च हुने जिल्लाहरूमध्ये रूपन्देही, बाँके, दाङ र कपिलवस्तु क्रमशः दोस्रो, चौथो, छैटौं र दशौं स्थानमा छन् । पालिकाहरू मध्ये जनसंख्या वृद्धिदर सबैभन्दा उच्च भएका नेपालका तीन गाउँपालिकाहरूमा रूपन्देहीको कन्चन, दाङको राप्ती र बाँकेको बैजनाथ गाउँपालिका रहेका छन् । यी पालिकाहरूको जनसंख्या वृद्धिदर क्रमशः २.४१, २.३६ र २.३४ प्रतिशत छ ।

पहाडमा घट्दो जनसंख्या, तराईमा उच्च घनत्व

विगतमा गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या वृद्धिदर सुस्त भए पनि अहिले आइपुग्दा जनसंख्या वृद्धिदर ऋणात्मक नै भएको छ । जनसंख्या ऋणात्मक हुने नेपालका ३४ जिल्लाहरूमध्ये गुल्मी सातौं, अर्घाखाँची दशौं र पाल्पा अठारौं जिल्ला बनेका छन् ।

लुम्बिनी प्रदेशका ३० वटा पालिकाहरूको जनसंख्या अघिल्लो जनगणनामा भन्दा घटेको छ । जनसंख्या ऋणात्मक हुने पालिकाहरू रोल्पाको एक, प्युठानका ३, अघाखाँचीका ५, पाल्पाका ९ र गुल्मीका १२ रहेका छन् ।

पछिल्लो दशकमा सबैभन्दा धेरै जनसंख्या गुमाउनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रबाट निरन्तर तराईतर्फ भइरहेको बसाइँसराइले गर्दा पहाडी क्षेत्रको जनसंख्या निरन्तर ओरालो लागिरहेको छ ।

नेपालको कुल जनघनत्व प्रति वर्ग किमी १९८ रहेकोमा लुम्बिनी प्रदेशको जनघनत्व २३० रहेको छ । उच्च जनघनत्व भएका मध्ये यो प्रदेश तेस्रो स्थानमा छ । उच्च जनघनत्व भएका जिल्लाहरूमा रूपन्देही (८२५ जना) नेपालमै तेस्रो स्थानमा रहेको छ । लुम्बिनीका जिल्लाहरूमध्ये रुकुमपूर्वको जनघनत्व ३४ जना मात्र रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार छ । लुम्बिनी नेपालमा तेस्रो धेरै जनसंख्या हुने प्रदेश हो । जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसंख्या छ ।

लुम्बिनी प्रदेशमा एक दशकमा ६ लाख २२ हजार ८०६ जनसंख्या थपिएको छ । २०६८ सालमा प्रदेशमा बसोबास गर्ने परिवार संख्या ८ लाख ८५ हजार ५०२ रहेकोमा २०७८ मा ११ लाख ४१ हजार ९०२ पुगेको छ । जुन नेपालको परिवार संख्याको १७.१ प्रतिशत हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM