२३ असोज, काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
‘प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । यसबारे विस्तृत बिस्तारै थाहा भइहाल्ने छ,’ मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘स्पष्टीकरण सोधेर घिसिङलाई मन्त्रालयमा हाजिर गराउने तयारी छ ।’
स्पष्टीकरण सोध्ने निर्णयपछि मन्त्री खड्काले मन्त्रालयका सहसविच शम्भू मरासिनीको संयोजकत्वमा विद्युत् प्राधिकरण सञ्चालक समिति बैठक आज बुधबार बिहान साढे ९ बजेका लागि डाकेका थिए ।
तर, अहाज विहान सबेरै प्राधिकरण सञ्चालक समितिको बैठक रद्द भएको जानकारी मन्त्रालयबाट आएको समितिका एक सदस्यले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समिति बैठक प्रत्येक साता बस्ने गरे पनि पछिल्लो दुई महिनादेखि एक पटक पनि बैठक बसेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्रालयबाट १५ बुँदे विवरण मागेर पत्र आएको बताए ।
‘ट्रान्सफर्मर खरिद लगायत विषयका विवरण मागिएको छ, त्यो स्पष्टीकरण हो जस्तो लाग्दैन,’ घिसिङले भने, ‘मन्त्रालयले मागेको विवरण चाँडै बुझाउँछु ।’
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता भुक्तानीबारे विद्युत् प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद जारी छ ।
घिसिङले उद्योगहरूले बक्यौता भुक्तानी गर्न बाँकी रहेको दाबी गरिरहेका छन् भने उद्योगीले बिजुली नै उपभोग नगरेको र गरेको भए प्रमाण पेस गर्नुपर्ने भन्दै बिजुली बक्यौता नतिर्ने अडान लिँदै आएका छन् ।

















