Photo Credit : प्रकाश डुम्रे
१५ असोज, काठमाडौं । १२ असोजमा स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिरहेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए ।
१३ भदौमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्दा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ ।
उनी सम्मान थापिरहेको त्यही दिन, जुन दिन देशका अधिकांश भाग भीषण वर्षाका कारण बाढी र पहिरोले संकटग्रस्त थिए । समन्वय अभावले घण्टौं उद्धार कुरिरहेकाहरुलाई खोलाले बगाइरहेको थियो ।
त्यही बेला मुख्यसचिव अर्याल भने गृह जिल्लामा विभिन्न पालिकाहरुमा पुग्दै सम्मान थापिरहेका थिए । ती कार्यक्रममा पुगेर उनले आफू सचिवका रुपमा सम्बन्धित गाउँपालिकाका लागि के-के गरियो भन्ने स्मरण गराइरहेका थिए ।
उनी त्यही दिन फेदीखोलापछि आँधीखोला गाउँपालिका पनि पुगेर सम्मान थापे । आँधीखोला गाउँपालिकाले त उनलाई पञ्चेबाजा बजाएर स्वागत गरेको थियो ।
उनी फूलमाला र खादा, दोसल्लासहित अबिर लगाएर पञ्चेबाजाको टोलीको अग्रभागमा रहेर गाउँपालिका प्रवेश गरेका थिए । उनी त्यहाँ राष्ट्रिय माध्यामिक विद्यालयको कार्यक्रममा पनि सहभागी भएका थिए । यो उनले पढेको विद्यालय पनि हो ।
सोही दिन अर्यालसँगै रहेका एक अधिकारीका अनुसार उनलाई तारन्तार काठमाडौंबाट फोनहरू आएका थिए । उनले केही फोनहरुको रेस्पोन्स त गरे, तर कार्यक्रममा व्यस्त भएकाले कतिपय फोन समेत उठाउन पाएनन् ।
उनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको मन्त्री र सचिवहरुको बैठकका लागि आफ्नो सचिवालयहरुमार्फत सचिवहरुलाई बैठकमा डाकेका थिए । तर, उनी आफैं भने स्याङ्जामै कार्यक्रममै व्यस्त रहे ।
१२ असोजमा विपद्ले देशभर क्षति पुर्याएपछि उनी तत्कालै काठमाडौं फर्किहाल्ने अपेक्षा थियो । तर, उनी १३ गते बिहान वालिङ नगरपालिकाले आयोजना गरेको सम्मान ग्रहण गर्ने कार्यक्रम थियो । उनी बिहान वालिङ नगरपालिकाबाट दोसल्लासहित सम्मानित भए । त्यसपछि उनले स्याङ्जाका उद्योगी, व्यवसायी, नेता तथा नागरिक समाजसँग जिल्लाको विकासबारे राउण्ड टेबल छलफलसमेत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका हिंडेपछि मुख्यसचिव अर्यालले १० असोजमै काठमाडौं छाडेका थिए । जबकि जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गरिसकेको थियो ।
नेपालभर यो मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याउँदै विभागले १०देखि १३ असोजसम्म ५६ जिल्लालाई रेड जोन अर्थात् अति उच्च जोखिम क्षेत्रमा राखेर उच्च सतर्कता अपनाउनुपर्ने बताएको थियो ।
यो सूचना तीन तहकै सरकार, सुरक्षा संयन्त्रदेखि विपद् व्यवस्थापन हेर्ने निकायलाई पुर्याएर समन्वयको काम गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका मुख्य सचिव नै प्रधानमन्त्री नभएको मौका छोपेर स्याङ्जामा पुगेका थिए ।
उनी ११ असोजमा गण्डकी प्रदेशले आयोजना गरेको पालिकास्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए । सोही दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर भीषण वर्षा हुने भन्दै रातमा राजमार्गमा बसहरु चलाउन रोक लगाउने निर्णय गरिसकेको थियो ।
भोलिपल्ट बिहान (१२ असोज) अर्याल पोखराबाट स्याङ्जा पुगेर सम्मान ग्रहण गर्न विभिन्न कार्यक्रममा सहभागी भएका थिए । जतिबेला मौसम पूर्वानुमान विभागले प्रक्षेपण गरेजस्तै विपद्ले महाविपत्तिको रुप लिइसकेको थियो । तर, अर्यालले कार्यक्रम स्थगित गरेनन् ।
एक अधिकारीका अनुसार करिब एक महिनाअघि नै मुख्यसचिव अर्याल इलाका प्रशासन कार्यालयको भवन उद्घाटनमा सहभागी हुने कार्यक्रम थियो । त्यतिबेला कारणबस जान नपाएका अर्यालले आफू छिट्टै जिल्ला आउने प्रतिबद्धता जनाएका थिए । त्यसै अनुसार उनी स्याङजा पुगेकाले फर्किहाल्ने अवस्थामा पनि थिएनन् । त्यसमाथि प्रतिकूल मौसमका कारण उनी स्याङ्जामै बस्नुपर्यो ।
तर, १३ असोजको बिहान पनि उनले काठमाडौं फर्किन हतार नगरेकाले भने उनीमाथि प्रश्न उठेका थिए । उनी स्याङ्जामा सम्मान कार्यक्रममा व्यस्त भएको भन्दै स्थानीयहरुले उनलाई समन्वयका लागि छिटो काममा फर्किन भन्दै सामाजिक सञ्जालबाटै आग्रह गरेका थिए । त्यसैले उनी बिहान वालिङका कार्यक्रमहरुमा भएर हेलिकप्टरमार्फत काठमाडौं आएका थिए ।
उनले सोमबार सचिव बैठक डाकेर विपद्सम्बद्ध विभिन्न निर्णयहरू गराएका छन् । तर, उनी समयमै समन्वयमा नजुटेको भन्दै सचिव तथा सहसचिवहरू नै उनीसँग अनसन्तुष्ट छन् । ‘विपद्सम्बद्ध विभिन्न बैठकले गरेका निर्णयहरु नै सचिव बैठकबाट भएको छ,’ एक सहसचिव भन्छन्,‘उहाँमा विपद्पछि कुनै अर्जेन्सी नै देखिएन ।’
मुख्यसचिव अर्यालको सचिवालयका अनुसार उनी पूर्वनिर्धारित कार्यक्रमका लागि त्यहाँ पुगेका हुन् । ‘आफू पढेको स्कुल र आफू जन्मे-हुर्केको गाउँपालिकामा भएको कार्यक्रममा सहभागी हुनको लागि उहाँ जानुभएको हो,’ अर्याल निकट स्रोतले भन्यो, ‘बाढीपहिरोले देशभर नै समस्या पारेपछि उहाँ तत्काल फर्किन खोज्नु भएको थियो तर मौसमले सम्भव भएन ।’