काठमाडौं । प्रतिकुल मौसम र कठिन भूगोलका कारण शनिबारदेखि विपद्मा फसेका नागरिकहरूको उद्धारका लागि आइतबार बिहानैदेखि औषधी र स्वास्थ्यकर्मीसहित रेस्क्यु टिम परिचालन भएको छ ।
सरकारले उद्धार र राहतका लागि काठमाडौं बिमानस्थलमा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ । सरकारले विपद्मा परी घाइते भएकाहरूको उपचारका लागि सम्पूर्ण सरकारी अस्पातालहरुमा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्धसमेत गरेको जनाएको छ ।
आकस्मिक उद्धार गर्नुपर्ने स्थानहरूका बारेमा कुनै सूचना भएमा तत्काल सरकारले उपलब्ध गराएका हटलाइन नम्बरहरूमा वा प्रधानमन्त्रीको सचिवालयमा जानकारी गराउन प्रधानमन्त्रीका प्रमुख जनसम्पर्क सल्लाहकार किरण पौडेलले अनुरोध गर्नुभएको छ ।