२०८२ कार्तिक २१ गते, शुक्रबार ०८:२१

मेलम्ची खानेपानी तथा बाढीपीडित सङ्घर्ष समितिद्वारा आन्दोलन सुरु




सिन्धुपाल्चोक । मेलम्ची खानेपानी बाडीपीडित सङ्घर्ष समितिले आजबाट हेलम्बुमा आन्दोलन थालेको छ । हेलम्बु गाउँपालिका वडा नं २ किउलबाट करिब १३ किलोमिटर हिँडेर विभिन्न नारा सहितको प्ले कार्ड बोकेर र्‍यालीसहित उनीहरूले आन्दोलनको सुरुवात गरेका हुन् ।

आन्दोलनमा नेकपा एमाले बाहेक हेलम्बु गाउँपालिकामा सक्रिय राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ऐक्यबद्धता जनाएका छन् ।

विगतमा भएको १७ बुँदे मागको सम्बोधन गर्न दबाब दिइएको समितिले जनाएको हो । बाढी गएको ३ वर्ष बितिसक्दा पनि सरकारले बाढी पीडितको माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै बाध्य भएर सडकमा उत्रिनुपरेको सङ्घर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँले बताउनुभयो । आजबाट खानेपानी आयोजना सँगसम्बन्धी सवारी साधन प्रवेशमा निषेध गरिएको उपाध्यक्ष गुरागाईँले बताउनुभयो ।

समितिले भोलि आगामी आन्दोलनको कार्यक्रमको घोषणा गर्ने जनाएको छ । आफ्ना माग पुरा नहुन्जेल चरणबद्ध आन्दोलन गर्ने समितिले जनाएको छ ।

मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर–व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको ‘लेबी’ उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्ने लगायतका आफ्ना माग सम्बोधन नभएपछि सडकमा आएर बस्न बाध्य भएको समितिका सचिव छिरिङ ग्याल्बोले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM