२०८२ कार्तिक २१ गते, शुक्रबार ०८:३९

प्रतिफल देखिने गरी कार्यसम्पादन गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले विद्यामान समस्या समाधान गर्ने क्रममा प्रतिफल देखिने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको चालु आर्थिक वर्षको आयोजना कार्यान्वयनसम्बन्धी दुई दिने ‘खरिद क्लिनिक कार्यशाला गोष्ठी’ मा मन्त्री यादवले हरेक निकायले आफ्नो जिम्मेवारी नागरिकप्रति इमान्दार भएर निर्वाह गर्नुपर्ने बताउनुभयो । यसरी काम गर्दा प्रतिफल देखिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री यादवले केपी शर्मा ओलीले नेतृत्वको वर्तमान सरकार विद्यमान समस्या समाधान गर्ने लक्ष्यसाथ अगाडि बढिरहेको भन्दै सबै सरकोर भएका निकायले पनि नागरिकमैत्री सेवा प्रवाह मुख्य लक्ष्य बनाउनुपर्ने बताउनुभयो । मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको भन्दै यहाँबाट सिकेका उपलब्धि कार्यसम्पादनमा देखिने बताउनुभयो ।

मन्त्री यादवले विगतमा खुला दिसामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै सत प्रतिशत नपुगेकाले हामीले प्रतिफल देखिने गरी काम गर्न जरुरी रहेको धारणा राख्नुभयो । नागरिक तथा विकासका काममा कुनै पनि ढिलासुस्ती नगर्न आग्रह गर्दै उहाँले जनगुनासो समाधानतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा देशभरका २० वटा अस्थायी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेका कार्यलाई सम्पन्न गरिदिन माग गर्दै कर्मचारीद्वारा मन्त्री यादवलाई ज्ञापनपत्र पेस गरिएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले उक्त विषय सबैको समस्या भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले समस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्यले स्रोत सहमति, अस्थायी, बेरुजु सम्परीक्षण, प्रक्रिया पालना, सार्वजनिक शौचालय, तराई क्षेत्रमा बसोबास गर्ने चमार/मुसहर बस्तीमा खानेपानी लगायत थुप्रै समस्या रहेकाले ती समस्यालाई क्रमिक रूपमा सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख एवं महानिर्देशक रामकुमार श्रेष्ठले आर्थिक वर्षको सुरुमा आयोजना गरिएको दुई दिने यस कार्यशाला गोष्ठीबाट समस्यासहित समाधानका उपाय आउनुका साथै विज्ञको प्रस्तुतीकरणले थप मार्ग प्रशस्त गरेको बताउनुभयो ।

गोष्ठीमा सङ्घीय खानेपानी मन्त्रालय मातहतका देशभरिका कार्यालयका प्रमुखको सहभागिता थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM