काठमाडौँ । नेपालका बालसुुधार गृहहरूलाई सुधार गृहकै रुपमा विकास गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
प्रतिनिधि सभा कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा भएको नेपालका बालसुुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले बाल सुधार गृहहरूलाई ऐन अनुसार सुधार गृहका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको हो ।
बाल सुधार गृहलाई कैदी गृह बनाइएको भन्दै त्यसमा परिवर्तन गर्ने र खुला कारागारको अवधारणामा जान र सुधार केन्द्रका रुपमा विकास गर्न अब ढिलाइ गर्न नुहुनेमा सांसदहरुले जोड दिनुभयो ।
सांसदहरुले तत्कालीन रुपमा बाल सुधार गृह र कारागारहरूमा स्वास्थ्य उपचारको व्यवस्था, खानेपानी र सरसफाइको ध्यान दिनु आवश्यक रहेको भन्दै दीर्घकालीन रुपमा समस्या समाधानका लागि प्रभावकारी भौतिक संरचनाको निर्माण हुनु आवश्यक रहेको औँल्याउनुभयो ।
सांसदहरुले १८ वर्ष उमेर पुगी सकेका र सो भन्दा मुनिका बालबालिका एकै ठाउँमा राखिएको तथा हत्या, लागु औषध, जबरजस्ती करणी जस्ता फरक फरक विषयमा सुधारगृह पुगेका व्यक्ति एकै ठाउँमा राखिदा त्यसले थप समस्या सिर्जना गरेको भन्दै छुट्टा-छट्टै राख्ने व्यवस्था गर्नु पर्नेमा समेत जोड समेत दिनुभयो ।















