काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कङ्ग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको ‘सिपिसीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कङ्ग्रेस : नेपालसँग विकास अवसरको साझेदारी’ कार्यक्रममा उहाँले सो प्रस्ताव चीनका लागि मात्र नभई मानव जातिका लागि साझा भविष्य निर्माणमा केन्द्रित भएको धारणा राख्नुभयो ।
उपाध्यक्ष घिमिरेले भन्नुभयो, “उच्च गुणस्तरको हरित विकास र साझा समृद्धिको लक्ष्यले नेपालजस्ता मित्र राष्ट्रसँगको सहयोगलाई थप उचाइमा पुर्याउने छ ।” उहाँले विश्वव्यापी चुनौतीका रुपमा देखापरेका जलवायु परिवर्तन तथा सुस्त आर्थिक वृद्धिलगायत समाधान गर्न विश्व समुदाय एकताबद्ध हुनुपर्ने सन्दर्भमा चिनियाँ राष्ट्रपतिद्वारा प्रस्तावित ‘मानव जातिका लागि साझा भविष्य निर्माण’ को अवधारणाले ठूलो अर्थ र महत्त्व राखेको बताउनुभयो ।
चीनको विकास प्रयास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले चिनियाँ अर्थतन्त्रको चमत्कारिक रूपान्तरण विकासशील राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँले नेपाल र चीनबीच पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, संस्कृति, हरित विकास, शिक्षा तथा क्षमता अभिवृद्धि, ग्रामीण विकास र सम्पर्क सञ्जाल विस्तारमा साझेदारीको प्रबल सम्भावना रहेको बताउनुभयो ।
नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक रुपमा प्रगाढ रहेको उल्लेख गर्दै उहाँले पछिल्ला समय दुई देशबीचको साझेदारी झन् बलियो बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको हरित क्रान्ति नीतिले जलवायु परिवर्तनको विश्वव्यापी चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट जलवायु परिवर्तनको चपेटामा परेका नेपालजस्ता मुलुकले लाभ लिनसक्ने बताउनुभयो ।
चीन नेपालको निकट मित्र मात्रै नभई विकास साझेदारका रुपमा पनि रहेको जनाउँदै पूर्व राजदूत श्रेष्ठले विकास प्रयासमा चीनको थप सहयोगको खाँचो औँल्याउनुभयो । नेपालले भारत र चीनसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।
नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सीले सिपिसीबाट पारित प्रस्तावले विशेष गरी नेपाल लगायत छिमेकी मुलुक र विश्व समुदायमा विकासका धेरै अवसर र लाभ सिर्जना गर्ने बताउनुभयो । चीनको रेनमिन विश्वविद्यालयका प्राध्यापक स्या लुले राष्ट्रिय कङ्ग्रेसबाट पारित विशेष प्रस्तावको विवेचना गर्दै यसले नयाँ युगको यात्रा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन व्यापक सुधारको बाटो पहिल्याएको बताउनुभयो ।
पत्रकार गोपाल खनालले चिनियाँ समृद्धिबाट नेपालले कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । आयोजक संस्थाका महासचिव डा कल्याणराज शर्माले विश्वको ठूलो अर्थतन्त्र चीनले थालेको व्यापक सुधारका पहलबाट नेपालको विकास प्रयासमा थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।