विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचना बलियो बनाउन राष्ट्रसेवक कर्मचारीले जनताको घरदैलोमा पुग्ने गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशद्वारा विराटनगरमा आज आयोजित आर्थिक बर्ष २०८०/८१ को दुई दिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले यो मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले प्रदेश संरचना आवश्यक भएको अनुभूति हुने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
प्रदेश संरचना चाहिँदैन भन्ने विषयमा भ्रम फैलाउन खोजिँदै छ भन्नुहुँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि पनि प्रदेश चाहिन्छ भन्ने अनुभूति गराउन जनताको मन जित्ने गरि काम गर्नुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले रिक्त रहेको ७० प्रतिशत दरबन्दीमा आवश्यक प्रक्रिया अनुसार कर्मचारी नियुक्त गर्न लागेको उहाँले बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा फेरिएको समीकरणले मुलुकमा राजनीति स्थायित्व कायम हुने र विकास निर्माण कार्यले गति लिने भन्नुहुँदै मुख्यमन्त्री कार्कीले कुनै प्रभाव र दबाबमा नपरी उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
विगतमा कोशी प्रदेश सरकारको फेरबदलका कारण सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्नुहुँदै उहाँले नयाँ समीकरणमा बन्न लागेको सरकार दिगो र स्थायित्व हुने भएकाले अबको लक्ष्य आर्थिक समृद्धि र विकास भएको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न कृषकलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी रुपमा सेवा प्रवाह गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव डा.लेखराज दाहालले सहकारीको माध्यमबाट कृषिमा आधारित उद्योग स्थापना गरी जनताको जीवनस्तर उकास्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, कृषि निर्देशनालय कोशी प्रदेश विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले गत आर्थिक वर्षको मन्त्रालयले गरेको कामको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा सो मन्त्रालय अन्तर्गतका १४ जिल्लाका ४८ वटा कार्यालयले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव डा लेखराज दाहालले बताउनुभयो ।